काठमाण्डौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण गरिएको छ ।

संवैधानिक परिषदले सिफारिश गरिएका पदाधिकारीहरुले संसदीय सुनुवाई विना नै आज सपथ ग्रहण गरेका हुन् । आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जबराले आयोगका अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन् । संसद विघटन भएको हुनाले सिफारिश भएका पदाधिकारीहरुको संसदीय सुनुवाई भएको थिएन । सिफारिश भएको ४५ दिनसम्म सुनुवाई समितिले निर्णय दिन नसके स्वतः नियुक्ति मानिने व्यवस्था संघीय सांसदको कार्य सञ्चालन नियमावलीमा छ। सोही व्यवस्था अनुसार पदाधिकारीहरुको सपथ ग्रहण गरिएको हो ।

सपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए। सभामुख अग्नी सापकोटा र उपराष्ट्रपति नन्दकिसोर पुन भने अनुपस्थित रहे । उनीहरु दुवै प्रचण्ड पक्षीय पुर्वमाओवादी नेता हुन् । सभामुख सापकोटा संसद विघटनमा असन्तुष्ट छन् भने उनले केही दिनअघि प्रतिनिधि सभा विघटन भएकाले सिफारिस सुनुवाइ गर्न नसक्ने भन्दै संवैधानिक परिषदले गरेको सिफारिश फिर्ता पठाइदिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएका छन् भने आयुक्तहरुमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल नियुक्त भएका छन् । यस्तै, निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा.जानकी तुलाधर छन् । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर, सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर नियुक्त भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र नियुक्त भएका छन् भने राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली, सदस्यहरूमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा सिफारिस भएका छन् ।

राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विक, सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की नियुक्त भएका छन् । राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरूमा रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवान छन् । आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई छन् । यस्तै, मधेसी आयोगको सदस्यमा जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता, थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी छन् भने मुस्लिम आयोगमा महमुद्दीम अलि र मिर्जाअर्सद बेग छन् ।