धरान: नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रतिवद्ध रहने प्रस्ताव पारित गर्दै नेपाल पत्रकार महासंघ सुनसरीको १२ औं साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार इटहरीको तालतलैयामा आयोजित साधारणसभाले ३ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । साधारणसभाको बन्द सत्रमा सचिव हिमाल दाहालले प्रस्तुत गरेको संगठनात्मक र कोषाध्यक्ष गोविन्द बस्नेतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । यस्तै, प्रस्ताव नं ३ मा समसामयिक बिषयमा उठेको प्रस्तावबारे भने बन्दसत्रमा व्यापक बहस भएको थियो ।

बन्दसत्रमा टिपोट समितिमा बहुमत रहेको प्रचण्ड-माधव पक्षका पत्रकारहरुले पुष ५ गतेको संसद विघटनको घटनाबारे सार्वजनिक महत्वको प्रस्ताव पारित गराउन खोजे पनि हलले भने अदालतमा विचाराधिन बिषय भएको साथै राजनीतिक मुद्दासमेत भएकोले महासंघले त्यसबिषयमा प्रस्ताव पारित नगर्ने भन्दै अस्वीकृत गरेको थियो । बन्दसत्रले समसायिक बिषयमा मुलुकको संविधान, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रतिवद्ध रहने उल्लेख गरेको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको पक्षमा महासंघ ढृदतापुर्वक उभिने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

साधारणसभा पछि भने प्रचण्ड-माधव पक्षका पत्रकारहरुले अस्वीकृत भएको प्रस्ताव पारित भएको भन्दै प्रचार गरेको थियो । तर, महासंघका उपाध्यक्ष सन्तोष काफ्लेले भने साधारणसभाको बन्दसत्रको माइन्युटमा उल्लेख भएको निर्णय र पारित प्रस्तावबाहेक अन्य केही निर्णय वा प्रस्ताव पारित नभएको बताए । उनले भने,'टिपोट समितिबाट आएको प्रस्ताव हलबाट अस्वीकृत भयो, र माइन्युटमा जे निर्णय, प्रस्ताव पािरत भएको उल्लेख छ, त्यसबाहेक थप केही भएको छैन ।'

७ जना पत्रकारहरु पुरस्कृत

patrakar3

पत्रकार महासंघ सुनसरीको १२ औं साधारणसभामा ७ जना पत्रकारहरु पुरस्कृत भएका छन् । धरान उपमहानगरपालिकाको सहयोगमा जनही २० हजार राशीको पुरस्कार पत्रकार रणध्वज लोहार र रोहित राई पुरस्कृत भएका छन् । यस्तै, अग्रज पत्रकार डम्बरबहादुर कार्कीको स्मृतिमा महासंघले स्थापना गरेको १५ हजार राशीको डम्बर बहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार धरानका पत्रकार रत्नप्रसाद आचार्यले पाएका छन् ।

यसैगरि, महासंघकी उपाध्यक्ष सुभद्रा प्याकुरेलले छोराको स्मृतिमा स्थापना गरेको १० हजार राशीको रेमन्त स्मृति पुरस्कारबाट पत्रकार मिलन विछोड, महासंघ सुनसरीका पुर्वअध्यक्ष तथा स्वतन्त्रता सेनानी याम प्रधानको स्मृतिमा महासंघले स्थापना गरेको नगद १५ हजार राशीको याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट रञ्जना पौडेल पुरस्कृत भए । यस्तै, इनरुवा नगरपालिकाको सहयोगमा जनही २१ हजार राशीको पत्रकारिता पुरस्कारबाट लक्ष्मी दंगाल र धीरेन्द्र चौधरी पुरस्कृत भएका छन् । उनीहरुलाई महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, प्रमुख अतिथि एवं महासंघको केन्द्रीय महासचिव रमेश बिष्टलगायत अतिथिहरुले पुरस्कृत गरेका थिए ।

patrakar2