धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का धरान उपमहानगर कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख तारा लामगादे जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन् ।
आज धरानमा जसपाद्धारा आयोजित अन्तक्रिया कार्यक्रममा लामगादेले नेकपा परित्याग गरी जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता डा.बाबुराम भट्टराईलगायत शीर्ष नेताहरुले पार्टीमा स्वागत गरेका थिए । लामगादे धरानमा कार्यरत पत्रकार पनि हुन् । उनी महाप्रतिवाद सप्ताहिकको प्रधान सम्पादक हुन् भने क्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष पनि हुन् । यस्तै, दलित पत्रकार संघका केन्द्रीय सदस्य पनि हुन् । उनी धरान उपमहानगरको दलित विकास समितिका सदस्य सचिव पनि हुन् ।
लामगादेले जनमोर्चाबाट राजनीतिक शुरुवात गरेका थिए । उनी २०५८ सालदेखि तत्कालिन माओवादीमा पुर्णकालिन भएका थिए । लामगादेले क्लिकधरानसँग प्रतिक्रिया दिदै नेकपाभित्र जनयुद्धदेखि उठाउदै आएको मुद्दाहरु हराउदै गएकोले अधिकार प्राप्तीको आन्दोलन उठाउने पार्टीमा प्रवेश गरेको बताए । नेकपामा अधिकार प्राप्तीको आन्दोलन भन्दा पनि पदीय भागभण्डा र आन्तरिक किचलोमा फसेको उनको टिप्पणी थियो । ‘अल्पसंख्यक, उत्पीडितहरुको मुद्दा ओझेल पर्ने भयो,’लामगादेले भने,‘जसपाले हिमाल, पहाड, मधेशलाई जोड्दै अघि बढेको छ, हाम्रो मुद्दा सशक्तरुपमा लैजान सकिन्छ ।’
उनले केही दिनअघि मात्र को हुन् दलित ? भन्ने पुस्तक प्रकाशन गरेका थिए । उक्त पुस्तकको निष्कर्ष पहिचानवादी पक्षहरुसँग भएमात्र आफ्नो मुद्दा सम्बोधन हुनसक्छ भन्ने रहेको पनि लामगादेले सुनाए । उनले पार्टीमा के पद पाउने भन्ने तय भइनसकेको पनि बताए । तर, डा.बाबुराम भट्टराईसँग पहिला पनि सँगै रहेर काम गरिसकेकोले गाह्रो नहुने पनि बताए ।