धरान: प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक पनि आज शुरु भएको केहीबेरमा नै स्थगित भएको छ ।
माघ ७ गते शुरु भएलगत्तै स्थगित भएको अधिवेशनको दोस्रो बैठक आज दिउँसो २ बजेको लागि तोकिएको थियो । तर, सत्तारुढ दल नेकपाकै किचलोको कारण २ घण्टा ढिलो गरि शुरु भएको थियो । बैठक शुरु भएपछि सत्तापक्षका सांसद एवं नेकपाका प्रमुख सचेतक बुद्धिराज भण्डारीले संसदीय दलले १६ जना सांसदलाई निलम्बन गरेकोले फुकुवा नहुञ्जेल बैठकमा उपस्थित हुन नसक्ने कुरा राखेका थिए ।
उनले सभामुख प्रदिप भण्डारीले सभा संचालनको जनाउ दिएलगत्तै कुर्सीबाट उठेर आपत्ति जनाएका थिए । त्यसपछि उनको समर्थन जनाउँदै अन्य सांसदले पनि आफुबसेको ठाउँबाट उठेपछि सभामुखले संसद बैठक स्थगित भएको जानकारी गराएका थिए । बैठक शुरु भएको ४ मिनेटभित्रै स्थगित भएको थियो । उनले बैठक आगामी फागुन ९ गते दिउँसो २ बजेसम्मको लागि स्थगित भएको बताए । बैठक स्थगित भएपछि कार्यसुची भित्र समावेश गरिएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव टेवल नै हुन पाएन ।
अविश्वासको प्रस्ताव पेश गर्ने प्रश्तावक समेत रहेका इन्द्र आङ्बोले आजको निर्णय दुर्भाग्यपुर्ण रहेको टिप्पणी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिमा एउटा सहमती भएर कार्यसुचिमा रहेको अविश्वासको प्रश्ताव सभामुखले टेवल नगरेको भन्दै प्रचण्ड, माधव पक्षले आपत्ति प्रकट गरेको हो ।
प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेता राजिव कोइरालाले भने नेकपा दुबै खेमाको चेपुवामा संसदलाई पार्न नहुने भन्दै सभामुखले सरकारसँग सेटिङ गरि संसद अवरुद्ध गरेको टिप्पणी गरे । विश्वको संसदीय मर्यादा विपरीत भएको भन्दै यो लोकतन्त्रका लागि दुःखद कुरा रहेको कोइरालाको तर्क थियो ।