धरान: जनता समाजबादी पार्टी नेपालका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर मुलुकलाई अधिनायकवादतर्फ अघि बढाएको आरोप लगाएका छन् ।
जनता समाजवादी पार्टीले आइतबार धरानमा आयोजना गरेको संसद विघटनबारे अन्तरक्रियामा बोल्दै नेता भटराईले यस्तो आरोप लगाएका हुन् । नेता भटराईले प्रधानमन्त्री ओलीले सबैधानिक अंगहरु, सुरक्षा निकाय र राष्ट्रपतिलाई समेत आफ्नो नियन्त्रणमा राखेर अधिनायकवाद तर्फ लागेको गम्भिर आरोप लगाए । उनले भने, ‘अर्थतन्त्र पकेटमा राखेर बसेका छन्, राष्ट्रपति उनको आफ्नो छ, सबै संस्थानहरुलाई पुरै नियन्त्रणमा राखेका छन्, भने यो तानाशाही नभए, अधिनायकवाद नभए के हो त ? देश त्यसतर्फ गयो ।’
हार गुहार, पुठापाठ गर्दैमा र वर्त बस्दैमा जनताको अधिकार खोस्ने तानाशाहहरुले सहजै नछोड्ने भट्टराईले बताए । उनले पुष ५ को कदम गम्भिर भएको भन्दै संसद पुर्नस्थापना भएमात्र अघि जाने बाटो बन्ने जिकिर गरे । संविधान जारी गर्दा कालो संविधान भनेर जलाए पनि अहिले इतिहासले जोगाउने जिम्मा आफुहरुलाई दिएको पनि नेता भट्टराईले बताए । हिजो संविधानको स्वागत गर्नेहरु भने अहिले निहुरमुन्टी लगाएर बसेको उनले बताए ।
‘हामीले हिजो संविधान जलाए पनि, आधा गिलास भनेपनि, कालो संविधान भनेपनि इतिहासले जोगाउने जिम्मा हामीलाई दिएको छ । जसले स्वागत गरेका थिए, तिनले ति त निगुरमुन्टी लगाएर बसिरहेका छन्,’भट्टराईले भने,‘केपी ओलीले खप्परमा बजारे पछि दिपावली गर्नेहरु जति मुर्छित भएर बसेका छन् । तर, तपाई हामी विरोध गर्नेजति आधा गिलास भएपनि बचाउ, र थप आन्दोलन गरेर थप उपलब्धी लिउ, र संविधानलाई संशोधन गरेर पुर्णता दिउ भन्ने ठाउँमा छौं ।’
भिडियो: