काठमाण्डौं: प्रहरीले नेकपाको प्रचण्ड-माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ पुर्जी दिएको छ ।
राष्ट्रपति विरुद्ध दिएको अभिव्यक्तिको कारण विवादमा आएकी नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको थियो । पक्राउ पुर्जी चाहिन्छ भन्दै झाँक्रीले प्रहरीसँग नजाने अडान लिएपछि भर्खर प्रहरीले पक्राउ पुर्जी लिएर उनको निवास पुगेको छ । प्रहरीले झाँक्रीलाई राज्य विरुद्धको कसुर अन्तर्गत दफा ५८ को कसुरमा पक्राउ गर्न लागेको जनाएको छ । महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई बुझाएको पुर्जीमा उक्त कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेको उल्लेख छ ।
झाँक्रीले भर्खर उनको निवासबाट संक्षिप्त सम्बोधन गर्दै कानुनको पालना गरेर गिरफ्तारी दिने घोषणा गरिन् । साथै उनले प्रतिगमनविरुद्ध बोल्दा केपी ओली सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेर पक्राउ पुर्जी दिएको पनि बताइन् । झाँक्रीलाई पक्राउ गर्न प्रहरी पक्राउ गर्न शंखमुलस्थित निवास पुगेपछि नेकपा प्रचण्ड माधव समुहका नेता, कार्यकर्ताहरुले नाराबाजी गरिरहेको छ ।