धरान: प्राचिन हरिद्धार मानिएको सुनसरीको चतरामा आश्रम बनाएर बसिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै महिला अनुयायीको बलात्कार गरेको अभियोग लागेको थियो । सोही घटनामा जिल्ला अदालते धरौटीमा रिहा गर्ने आदेश दिएपनि उच्च अदालतले आदेश उल्टाउदै पुर्पुक्षमा थुनामा पठाउने आदेश दिएको थियो ।
उच्च अदालतकै आदेशलाई सर्वोच्चले पनि सदर गरेको थियो । तर, सर्वोच्चको यो निर्णय आएको केही दिनपछि नै जिल्ला अदालतले गत मंसिर २२ मा गिरीलाई सफाई दिने फैसला गरेको थियो । सरकारी वकिल वसहमा नगएको र पेशी सार्न दिएको निवेदनलाई पनि अस्वीकार गरेर एकतर्फी बहस सुनेर न्यायाधिश कोइरालाले फैसला दिएपछि विवादित बनेको थियो । न्यायाधिश अर्जुनप्रसाद कोइरालाको इजलाशको उक्त फैसलाको पुर्णपाठ तयार भएको छ । फैसलामा सिद्धबाबा भनिने गिरी र अनुयायी महिलाबीच सहमतिमा नै यौनसम्बन्ध भएकोले बलात्कार हुन नसक्ने उल्लेख छ ।
७६ पृष्ठ लामो आदेशको पूर्णपाठमा सिद्धबाबासँग मोहित भएर महिलाले नै पटक पटक यौनसम्बन्धका लागि आव्हान गरेको उल्लेख छ । जाहेरवाली महिलाले नै सिद्धबाबासँग मोहित भएर आफ्नो शरीर समर्पण गरेको उल्लेख छ । बिहीबार तयार भएको पूर्णपाठमा सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी भन्न नमिल्ने उल्लेख छ । ‘तसर्थ माथि विवेचना गरिएका आधार एवं कारणहरूबाट जाहेरवालीको शारीरिक परीक्षणबाट निजउपर जबर्जस्ती करणी भएको नदेखिएको, जाहेरवाली शारीरिक र मानसिक रूपमा स्वस्थ भई आफूले गरेको कार्यको असर र परिणाम बुझ्न सक्ने हैसियतमा छिन् भन्ने कुरा प्रतिवादीलाई पठाइएका म्यासेजबाट देखिएको तथा माथि विवेचना गरिएअनुसार निज स्वयंले नै आफूले प्रयोग गरेको मोबाइलबाट लामो समयदेखि विभिन्न समयमा विद्युतीय माध्यमको प्रयोग गरी प्रतिवादीलाई आशक्तिपूर्ण र अनुनयजन्य सन्देशहरू प्रवाह गरी भेटघाटको मौका उपलब्ध गराउन गरेको अनुनयअनुरूप जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणीलाई जबर्जस्ती करणी भन्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोगदाबी स्थापित हुन आएन,’फैसलामा भनिएको छ ।
सिद्धबाबाले पठाएको म्यासेज श्रीमान्ले थाह पाएपछि विवाद भएको र त्यसपछि मात्र उजुरी परेकोले महिला र सिद्धबाबाबीच सहमतिमा सम्बन्ध भएको न्यायाधीश कोइरालाले ठहर गरेका छन् । सिद्धबाबाले पठाएका म्यासेजबाट भने यौन सम्बन्ध राखेको पुष्टि हुने फैसलामा उल्लेख छ ।