धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको जिल्ला कमिटी विस्तार गरेर सपथ ग्रहण गरेको छ ।

नेकपा ओली समुहले रेवतीरमण भण्डारीको अध्यक्षतामा साविकको जिल्ला कमिटीलाई विस्तार गरि ४ सय ६७ सदस्यीय बनाएको हो । नेकपामा साविक १६७ सदस्यीय जिल्ला कमिटी थियो । सोही कमिटीलाई विस्तार गरिएको ओली समुहले जनाएको छ । कमिटीको उपाध्यक्षमा निलम खनाल, सचिवमा पर्शुराम यादव र सह-सचिवमा लिलम बस्नेत छन् । यस्तै, संगठन विभाग प्रमुखमा योग्यराज खड्का र कार्यालय सचिवमा राम कोइराला छन् । कमिटीको आज शनिबार इनरुवामा सपथ ग्रहणसमेत भएको छ ।

यसैगरि, पदाधिकारीसहित ११ जनाको कार्यालय गठन गरिएको छ । पदाधिकारीहरुबाहेक कार्यालय टिममा मञ्जु भण्डारी, याम सुब्बा, चन्द्र न्यौपाने, नवराज राई, दिवस राय र इनरुवाबाट एक जना छन् । अध्यक्ष भण्डारीले सचिवालय भने पछि गठन हुने उनले बताए । ‘पुरानो १६७ कमिटीलाई विस्तार गरेर नै ४६७ सदस्यीय कमिटी बनाइएको हो,’अध्यक्ष भण्डारीले भने,‘कार्यालय गठन भएको छ । सचिवालय पछि नै बनाउछौं ।’

चारै निर्वाचन क्षेत्र जित्ने घोषणा

oli-nekapa

सपथ ग्रहण गरेलगत्तै बसेको जिल्ला कमिटीको दोस्रो बैठकले प्रधानमन्त्री केपी ओली शर्माले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । साथै, आागमी बैशाखमा हुने निर्वाचनमा सुनसरीको ४ वटै निर्वाचन क्षेत्र जित्ने घोषणा पनि बैठकबाट गरिएको अध्यक्ष भण्डारीले बताए । उनले भने,‘प्रधानमन्त्रीले ताजा जनादेशमा जाने गरेको निर्णयलाई समर्थन गर्ने र आगामी मध्यावधी निर्वाचनमा सुनसरीको चार वटै निर्वाचन क्षेत्र जित्ने घोषणा गरेका छौं ।’

यस्तै, यही फागुन ८ गते विराटनगरमा हुने जनसभामा सुनसरी जिल्लाबाट ३० हजार जनाको सहभागिता गराउने पनि बैठकले निर्णय गरेको छ । साथै, विस्तार भएको जिल्ला कमिटीलाई जिल्ला अधिवेशन आयोजक कमिटीकोरुपमा घोषणा गरिएको पनि अध्यक्ष भण्डारीले जानकारी दिए ।