तेह्रथुम: नेकपा प्रचण्ड-माधव समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली वैगुनी मान्छे भएको बताएका छन् ।
तेह्रथुमको म्याङलुङमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले प्रचण्डलाई भर्याङ बनाएर प्रधानमन्त्री भएपछि अहिले ओलीले साथ छोडिदिएको बताए । ‘हिजो प्रचण्ड काम लाग्ने, आज काम नलाग्ने । किन त्यस्तो भयो भने हिजो भर्यांङकोरुपमा प्रयोग गरे प्रचण्डलाई,’नेपालले भने,‘पिठ्युमा चढेर टाउकोमा टेकेर प्रधानमन्त्री भइसकेपछि अर्का अध्यक्षलाई लात्तिले हानेर जतासुकै जा भनेर भन्दिए । उनी वैगुनी मान्छे रहेछन् ।’
पुर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले ओली जस्ता वैगुनी मान्छे तेह्रथुम जिल्लामै जन्मिएको पनि बताए । ‘कस्तो दुर्भाग्य भने यो जिल्लामा वैगुनी मान्छे पनि जन्मिए । राम्रा नराम्रा दुइटै मान्छे हुँदो रहेछ,’उनले भने,‘गुणी, वैगुणी दुइटै हुदो रहेछन् । मिठो बोल्ने र घोचेको घोचेकै गर्ने पनि हुदो रहेछ । तितोपिरो बनाउने ओली रहेछन्, मिठो बोल्ने हामी रहेछौं ।’
कम्युनिष्ट आन्दोलनको उर्बर भुमि तेह्रथुममा राम्रा नेताहरु जन्मिए पनि अहिले देशमा भाडभैलो मच्चाउने नेता पनि जन्मिएको बताए । ‘यो जिल्ला कम्युनिष्ट आन्दोलनको उर्बर भूमि भएको जिल्ला हो । यो भुमिमा राम्रा नेताहरु पनि जन्मिएका छन् । दुःखका साथ भन्नुपर्छ नराम्रा नेताहरु पनि जन्मिएका छन् । अहिले देशमा भाडभैलो मच्चाउने नेता जन्माउने ठाउँ फेरि तेह्रथुम जिल्ला नै रहेछ,’उनले भने,‘सारा देश आन्दोलित छ, सबै पार्टी विरोधमा उत्रिएका छन्, पार्टी मात्र होइन नागरिक समाज, बुद्धिजिविकहरु सबै क्षेत्र सरकारका विरुद्धमा संघर्षको मैदानमा छन्,’उनले भने ।
प्रधानमन्त्री ओलीले पार्टीलाई चोट्याउने काम गरेको नेपालले दाबी गरे । पार्टीको आदेश नमान्ने, निर्देशन स्वीकार नगर्ने र अध्यक्ष भएर पनि बैठक नै नबोलाउने गरेको नेता नेपालले बताए । ‘जनताको समस्या छलफलै गर्न चाहदैनन्, केपी ओलीलाई चिन्ता छैन, चासो छैन, उनलाई एउटै कुराको चासो छ, प्रधानमन्त्रीमा कसरी टिकौं,’नेपालले भने ।
नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले म एमाले भन्दै हिडेर भ्रम छरेको पनि आरोप लगाए । उनले एमाले एमाले मिल्ने भए माधव नेपालसँग आउन पनि आग्रह गरे । ‘अहिले केपी ओलीले नारा के लगाएका छन् भने म एमाले भन्दैछन् । उनले बिर्सन थालेछन्, यो एमाले बनाउने को हो, सोध्नुस् त । माले बनाउने को हो ? कोअर्डिनेसन केन्द्र बनाउने को हो भनेर सोध्नुस् त,’नेपालले भने,‘एमाले एमाले मिल्ने हो भने केपी ओलीसँग होइन, ओली विमाले मात्र हुन्, एमाले छ भने जहाँ माधव नेपाल उभिएको छ, त्यहाँ हो एमाले । एमाले आउने हो भने माधव नेपालसँगै आउनुपर्यो ।’