धरान: प्रतिनिधिसभा विघटन विरूद्धमा नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन र सभा गर्दैछ ।
सुनसरीको धरानमा पनि कांग्रेसले विरोध प्रदर्शनसहित सभा गर्ने भएको छ । उक्त सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला धरान आउने भएका छन् । केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि विरोधसभालाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद विघटन गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय समितिले आन्दोलन घोषणा गरेको हो ।
आज (सोमबार) बिहान साढे ११ बजे छाताचौकमा भेला भएर धरान नगरपरिक्रमासहित विरोधसभा हुने कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिएका छन् । विरोधसभामा नेता डा. कोईरालासहित एक दर्जन भन्दा बढी नेताहरुले सम्बोधन गर्ने बताइएको छ । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले गर्दा प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै नेकपाकै एक समुहसहित अन्य दलहरु पनि सडक अन्दोलनमा छ ।