धरान: प्रदेश १ सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ ।

प्रदेश १ म २०७४ फागुन ३ गतेदेखि मुख्यमन्त्रीकोरुपमा शेरधन राईले नेकपाको बहुमतको प्रदेश सरकारको कार्यप्रारम्भ गरेका थिए । प्रदेश सरकारले तीन बर्ष पुरा गर्दैगर्दा पछिल्लो राजनीतिक उतारचढावले प्रदेश १ सरकार पनि संकटमा परेको छ । प्रतिनिधिसभा विघटन गरेर प्रधनमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशकोलागि चुनावको घोषणा गरिसकेका छन् भने प्रमुख प्रतिपक्षीलगायत अन्य दलहरु आन्दोलनमा छन् । यता प्रदेश १ मा पनि मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समुहले अविश्वासको प्रस्ताव पेश गरेका छन् ।

यिनै राजनीतिक अस्थिरताबीचमा आज प्रदेश सरकारले तीन बर्षमा गरेका कामहरुको उपलब्धी सार्वजनिक गरेको छ । प्रदेश सरकार स्थापनाको तेस्रो बर्षको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा २३२ बुँदे उपलब्धीहरु समेटिएको गोजी पुस्तिका आज बिहान सार्वजनिक गरिएको थियो । उक्त पुस्तिका मुख्यमन्त्री शेरधन राईसँगै प्रमुख अतिथि प्रदेश १ प्रमुख सोमनाथ प्यासी, प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले संयुक्तरुपमा विमोचन गरेका थिए ।

pradesh1

प्रदेश सरकार गठन भएपश्चात ७ मन्त्रालयहरुको पछिल्लो तीन बर्षको समष्टिगत बार्षिक प्रगति क्रमशः ६३.९६ प्रतिशत, ५९ प्रतिशत र ७०.८३ प्रतिशत रहेको छ भने यसअवधिको समष्टिगत औसत उपलब्धी ६५.३७ प्रतिशत रहेको प्रदेश सरकारको भनाई छ । कोभिड १९ को महामारीले लकडउन जस्तो बिषम परिस्थितिमा पनि गत तीन आर्थिक बर्षमध्ये २०७६/०७७ को उपलब्ध सबैभन्दा उच्च रहेको सरकारले जनाएको छ ।

यसैगरि, आर्थिक बर्ष २०७५/७६ मा राष्ट्रिय आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहदा प्रदेश नं १ को वृद्धिदर भने ७.४ प्रतिशत रहेको थियो । तर, कोभिडले गर्दा राष्ट्रिय आर्थिक वृद्धिदरमा ह्रास आएर २०७७/७७ मा २.२७ प्रतिशत मात्र सिमित हुँदा प्रदेश १ मा पनि ह्रास भएर ३.४१ प्रतिशत छ ।