विराटनगर: गएको मंसिर तेस्रो साता मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई अपहरण गरि अपहरण पछि हत्या गरिएको घटनामा प्रहरीले विप्लव समुहका महासचिव नेत्रबिक्रम चन्द विप्लवसहित ४२ जना नेता, कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको छ ।
प्रहरीले विप्लव समुहका शिर्ष नेताहरुसहित ४२ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा कार्यालयले जिल्ला अदालत मोरङमा सोमबार अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता गरेको हो । विप्लवसँगै दोस्रो शीर्ष नेता एवं प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डलाई पनि मुद्दा दर्ता गरिएको छ ।
विप्लव समुहले गत मंसिर २३ गते बिहानै घरबाट सरस्वती आधारभुत विद्यालयका प्रअसमेत रहेका श्रेष्ठलाई अपहरण गरि लिएर गएका थिए । उनीहरुले जंगलमा लगेर श्रेष्ठलाई घाँटी रेटेर विभत्स हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनलाई विप्लव समुहले सुराकी गरेको आरोपमा हत्या गरेको स्वीकार गरेको थियो । विप्लवसहित ४२ जनामाथि दर्ता भएको मुद्दाको मंगलबारदेखि थुनछेक बहस हुने भएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका मोरङ इन्चार्ज डिवि सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरिसकेको छ ।