धरान: राष्ट्रिय प्रजातन्त्र दिवस धरानमा पनि ३ दिनसम्म मनाइने भएको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर देशभर विविध कार्यक्रम आयोजना गरि मनाउने गृहमन्त्रालयको निर्णय अनुसार फागुन ६, ७ र ८ गते धरानमा पनि मनाइन लागिएको हो । यसको लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई पत्राचार गरिसकेको छ । उपमहानगरपालिकाका अनुसार सबै सरकारी कार्यालय, सार्वजनिक एवं सामुदायिक संघ संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरुमा ३ दिनसम्म राष्ट्रिय झण्डा फहराइनेछ । यस्तै, सार्वजनिक निकाय तथा स्थलहरुको सरसफाई पनि गरिनेछ ।

सबै सरकारी कार्यालय,संघ संस्था, शैक्षिक संस्था तथा प्रतिष्ठान र घर घरमा फागुन ६, ७ र ८ गते साँझ दिपावली गर्ने पनि उपमहानगरपालिकाले जनाएको छ । यसैगरि, प्रजातन्त्र दिवस केन्द्रीत विभिन्न साँस्कृतिक, साहित्यिक, सृर्जनात्मक तथा प्रतियोगितात्मक कार्यक्रमहरुको पनि आयोजना गरिने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । खतिवडाले एक सुचना जारी गर्दै विभिन्न खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिने जानकारी दिएका छन् ।

नेपालमा १०४ बर्षे निरंकुश जहाँनिया राणा शासनको अन्त्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्रको उदय भएको थियो । त्यसैले फागुन ७ गतेलाई राष्ट्रिय प्रजातन्त्र दिवसकोरुपमा मनाइदै आएको छ । २००७ सालपछि नेपालमा थुप्रै राजनीतिक उतारचढावहरु भएर व्यवस्था नै परिवर्तन भइसकेको छ । नेपालमा राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भइसकेको छ भने संविधनसभामार्फत नेपालको नयाँ संविधान २०७२ जारी भइसकेको छ । नेपालमा व्यवस्था परिवर्तन भएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि प्रजातन्त्र उदय भएको दिन फागुन ७ गते महत्वपुर्ण छ ।democracy1