धरान: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झगडा मिलाउन नसक्दा प्रधनमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर देश र जनतालाई धोका दिएको बताएका छन् ।
धरान उपमहानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीको विवाद मिलाउन नसक्ने अध्यक्षले राजिनामा दिनुपर्ने पनि बताए । तर, प्रधानमन्त्री ओलीमा आफु नभए कुर्सी फाल्ने, जलाई दिने खालको असहिष्णु प्रवृत्ति हावी भएको आरोप पनि लगाए । ‘झण्डै दुई तिहाई नजिक बहुमत पाएको नेकपालाई ५ बर्ष सरकार चलाउने म्याण्डेड थियो । प्रतिपक्षले पनि कुनै वाधा अड्चन गरेको थिएन । तर, संविधनलाई, जनताको अपेक्षालाई, जनादेशलाई सडकमा फालेर धोका भएको छ, राष्ट्रमाथि, मतमाथि धोका भएको छ,’उनले भने,‘पार्टी मिलाएर लैजान सक्नुपर्छ । मिलाउन नसक्ने पार्टी अध्यक्षले राजिनामा दिनुपर्छ, मैले सकिन भनेर बाटो खोलिदिनुपर्छ । तर ओलीले आफु नभएसपछि कुर्सी नै फालिदिने, जलाइदिने गरे । यो अत्यन्त ठुलो ऐतिहासिक भुल, ऐतिहासिक अपराध भएको छ ।’
नेता पौडेलले संविधानले देखाएको बाटोमा प्रधानमन्त्री र राष्ट्रपति हिड्न नचाहदा देश र संविधान धरापमा परेको बताए । सर्वोच्च अदालतले संविधान नजोगाए देश थप बिग्रहमा फस्ने पौडेलको भनाई थियो । सामान्य अवस्थामा चुनाव भएर नयाँ प्रतिनिधि चुनिएर सरकार बन्छ भनेजस्तो सहज परिस्थिति नहुने उनले दाबी गरे । ‘अहिले त केही भएको छैन, सर्वोच्च अदालतले जोगाएन भने देशलाई बिग्रहमा फसाउछ,’उनले भने ।