विराटनगरः प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश एक संसदमा अनिश्चितताको सुरुवात भएको दाबी गरेको छ ।
आज बस्ने सभा बैठकलाई हिजै सुचना टाँस गरि स्थगित गरेको प्रति तीब्र आक्रोस पोख्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले सभामुख प्रदीप कुमार भण्डारीलाई सरकारको इशारामा चलेको आरोप लगाए । ‘१२ दिनसम्म कागजको पानाबाट सदन स्थगित गरेको देख्दा हामी आश्चर्यचकित भएका छौँ,’उनले भने ‘सरकारको लाचारीपन देखाएर सभामुखले अनिश्चितताको श्रृंखलाको सुरुवात गरे ।’
कार्कीले यसको अघि गत फागुन ९ गते बसेको संसद बैठकमा मुख्यमन्त्री विरुद्ध टेवल भएको अविस्वासको प्रश्तावमा छलफल हुने विश्वास लिइएपनि सभामुखले बैठक सारेको भन्दै आपत्ति प्रकट गरेका हुन् । उनको दल नेपाली काँगेसले पटक पटक सभामुखसँगको छलफलमा सरकारलाई बैठकबाट भाग्न छुट नभएको राय दिइरहँदा पुनः १२ दिन समय दिएर बैठक सारिनु गलत भएको र आफ्नो दलको सहमती नभएको स्पष्ट पारे ।
उनले मुख्यमन्त्री शेरधन राईले सदनमा फेस गर्न नसकेर सत्तामात्र लम्ब्याइरहेको आरोप लगाए । ‘हिम्मत भए सदन फेस गर्नुपर्यो । कित राजीनामा दिनुपर्यो,’उनले भने,‘हिजोसम्म अविश्वासको प्रस्ताव आरामले सामना गर्छुभन्ने मुख्यमन्त्री कसरी गल्नुभयो ? किन सदनबाट भाग्न खोज्नुभएको हो हामीलाई सदनमै जवाफ चाहियो ।’
उनले सरकारले भ्रष्टाचार गर्ने सहज बाटो बनाइरहेको भन्दै प्रदेश एक सरकार नियम, कानून बनाएर भन्दा पनि छोटो बाटो अपनाएर दैनीक काम अघि बढाइरहेको भन्दै सदनलाई चिन्न छाडेको जिकिर गरेका छन् । ‘सरकार नै सदनप्रति अनविज्ञ हुने बहिष्कार गर्नेसम्मको घिनौना खेल गर्यो,’यसअघिको बैठकमा सत्तापक्षकै सांसदले अवरोध गरेको प्रसंग निकाल्दै कार्कीले भने ‘प्रदेशका जनता आश्चर्यचकित भएका छौँ । जसले सदन बोलायो, उसैले सदन बहिष्कार गर्छ भन्ने हामीले सोचेकै थिएनौँ ।’
व्यवस्थापिकाको अस्तित्वका लागि पनि अघिल्लो बैठकमा अविस्वासको प्रस्ताव टेवल गर्नुपर्ने बाध्यता रहेको स्मरण गराउँदै उनले भने ‘सभामुखको त्यो हिम्मत कहाँ हरायो ? किन कक्र्याक कुक्क्रुक्क हुनुभयो ?’ काँग्रेसले सभामुखको गतिविधिलाई नजिकबाट नियालिरहेको बताएको छ । उसले सभामुखले समेत सदनलाई सरकारको सहायक भुमिका खेलेमा काँग्रेसले घोर भत्सना गर्ने स्पष्ट पारेको छ ।