धरान: हिजो (आइतबार) सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई वदर गर्दै साविक एमाले र माओवादी केन्द्र कायम रहने फैसला गर्यो । यो फैसलासँगै नेकपा ऋर्षि कट्टेलको पार्टी भएको छ भने अब केपी शर्मा ओली र पुष्पकमल दाहालको पार्टी साविककै एमाले र माओवादी भएको छ ।

सर्वोच्चको यो फैसलालाई साविक माओवादी केन्द्रले सहजरुपमा स्वीकार गरेको देखिदैन । प्रचण्डले आज बिहान ८ मार्चको शुभकामना सन्देश दिनलाई सर्वोच्चले वदर गरिसकेको नेपाल कम्युनिष्ट पार्टीकै लेटरप्याड प्रयोग गरेका छन् । जबकी यो पार्टी अब कानुनीरुपमा कट्टेलको भइसकेको छ । साविक माओवादी केन्द्रलाई सर्वोच्च अदालतको फैसला स्वीकार गर्न सकस परिरहेको बेला साविक एमाले पंक्तिमा भने खुशी छाएको देखिन्छ । एमाले पंक्तिमा पनि ओली पक्षधरहरुले विभिन्न ठाउँमा दिपावली नै गरेर अदालतको फैसलाको स्वागत गरेका छन् ।

हिजो साँझ नै धरानमा पनि ओली समुहका विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पसमा दिपावली गरे । अनेरास्ववियुले धरानको महेन्द्र बहुमुखी क्याम्पस, पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस र पिण्डेश्वर क्याम्पसमा दिपावली गरेर खुशी मनाए । एउटै पार्टीमा मिलेर बस्न नसक्ने तर पार्टी विभाजन पनि गर्न पनि थुप्रै जटिलताहरु भइरहेको स्थितिमा सर्वोच्चको फैसलाले सहज बनाइदिएको ओली पक्षको भनाई छ । सर्वोच्चको यो फैसलासँगै प्रचण्डसँग गएका साविक एमालेका नेता, कार्यकर्ताहरु पनि आफ्नै पार्टीमा फर्कने ओली पक्षीय नेताहरुको आशा छ । तर, माधवकुमार नेपालसहित प्रचण्ड पक्षमा लागेका शीर्ष नेताहरुले तत्काल कुन कदम चाल्ने हुन् भन्ने प्रष्ट भइसकेको छैन ।