इटहरीः नेकपा एमाले नेता महेश बस्नेतले प्रचण्ड एमाले सिध्याउने खेलमा लागेको बताएका छन् ।
नेता बस्नेतले प्रचण्डको योजना अनुसार एमालेमा माधव नेपाल र झलनाथ खनालहरु पार्टी फुटाउन षड्यन्त्र गरिरहेको पनि आरोप लगाए । अदातलको पछिल्लो आदेशले पार्टी एक जुट हुँदै आ आफ्नो जिम्मेवारीका साथ नयाँ नेतृत्व चयन गरेर जाने अध्यक्ष केपी ओलीको तयारी भएपनि प्रचण्ड अझै आफ्ना नेताहरु माधव नेपाल र झलनाथ खनालसहितलाई माओवादीमा स्वागत गर्न आतूर रहेको भन्ने अभिव्यक्तिले एमाले सक्ने खेलमा लागेको प्रष्ट भएको तर्क गरे ।
युवा संघले इटहरीमा गरेको कार्यक्रममा प्रमुख वक्ताको रुपमा निम्त्याइएका पार्टी युवा इन्चार्जसमेत रहेका बस्नेतले एमाले एक ढिक्का हुने भन्दै परिवर्तनको आन्दोलनमा निस्किएका केही ‘वाइप्रडक्ट’ किनारा लाग्ने भन्दै नेपाल–खनाललाई समेत कटाक्ष गरे । ‘बुटवलबाट एमाले सिद्धाउने अभिव्यक्ति दिएका प्रचण्डको विरुद्ध वहाँहरुले खण्डन गर्नुहुन्छ भन्ने लागेको थियो । तर गर्नुभएन,’बस्नेतले भने,‘उल्टै हतार हतार बैठक बसेर एमालेमा माथिदेखि तलसम्म समानान्तर कमिटि बनाउने निर्णय गर्नुभयो । यसले प्रचण्डले भनेको पुष्टि हुन्छ । वहाँहरु सके पार्टी बिद्रोह गर्ने, नसके पार्टी फुटाउने प्रचण्डको योजनाका साथ लाग्नुभएको छ ।’
उनले जनताले अनुमोदन गरेर मुलुकको नेतृत्व गरिरहेका नेता केपी ओलीकै कारण एमाले एक ढिक्का हुने र जनहितमा काम गर्दै प्रगतीको बाटोमा मुलुकलाइृ हिँडाउने सपना रहेको हुँदा परिवर्तनको आन्दोलनको अलमलिनेहरु बीचबाटोमै छाडिने जिकिर गरे । पहिलो पनि माधव नेपाल र प्रचण्डको समानान्तर कमिटि हेरिसकिएको हुँदा पुनः सोहि गल्ति दोहोर्याउनु कुबुद्धिको बाटोमा हिँड्ने रहेको टिप्पणी गर्दै बस्नेतले भने ‘फेरिपनि बल ओलीकै कोटमा छ । ओलीले लिएको बाटो मात्र सहि र स्पष्ट छ ।’
उनले प्रचण्ड हिजो जस्तोको जस्तो नेता नभएके भन्दै अहिले सामान्य समूहको नाइकेमात्र भएको टिप्पणी गरे । ‘प्रचण्डका दाह्रा नंग्रा फुस्किएर थोते भइसके ।’ उनले भने ‘उनी सानो भूरा टाकुरे समूहका नेतामा परिणत भइसके ।’ युवा संघ नेपालका अध्यक्ष बचन सिँहले भने सरकार र पार्टीले गरेका राम्रा कामको प्रचार नभइरहेको बेला प्रविधिमा अव्यस्त युवाको टीमले गलत र भ्रामक कुराको पर्दाफास गर्न साइवर सेना बनाइएको बताए । उनले नेपाल र खनाल समूहले आफ्नै दलको नेतृत्व रहेको सरकारका विरुद्ध झुटा प्रचार मात्र गरिरहेको भन्दै सरकारका राम्रा कुरालाई जनतामाझ पुर्याउनु यसको उदेश्य रहेको जानकारी दिँदै सबै युवासँघका कार्यकर्ता साइवर सेनाका सदस्य बनेको जानकारी दिए ।