धरान:  नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोली मंगलबार धरान आउने भएका छन् ।

५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा धरान आयोजित अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्न देउवा धरान आउन लागेका हुन् । नेपाल दलित संघ, केन्द्रीय कार्यसमितिले समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था बिषयक प्रदेश १ स्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ । धरान १५ स्थित चुम्लुङ हिमको हलमा हुने कार्यक्रमको प्रमुख अतिथिकोरुपमा सभापति देउवा धरान आउन लागेको कार्यक्रमका संयोजक एवं संघका केन्द्रीय सदस्य गोविन्द विश्वकर्माले जानकारी दिए ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयोजक बिश्वकर्माले प्रदेश नं १ का १४ जिल्लाबाट संघका अगुवा कार्यकर्ताहरु सहभागी हुने बताए । उनका अनुसार प्रत्येक जिल्लाबाट अनिवार्य महिलासहित ५ जना सहभागी हुनेछन् । पहिलो दिन उद्घाटन सत्र हुने र दोस्रो दिन कार्यपत्र प्रस्तुती, छलफल टिप्पणी र प्रशिक्षण कार्यक्रम हुने पनि उनले बताए ।

कार्यक्रममा चन्द्रेश्वर खत्वले दलितको अवस्था, पहाडी दलित र मधेशी दलितको अवस्था, महिला दलितको अवस्था के छ भनेर कार्यपत्र प्रस्तुत गर्नेछन् ।यसैगरि, कांग्रेस नेता मिन विश्वकर्मा र विरेन्द्र साउदले प्रशिक्षण दिनेछन् । कांग्रेस धरानका पुर्वसभापति किसोर राईले सबै प्रोटोकल पुरा गरेर कार्यक्रम आयोजना गरिने बताए । हलमा एक हजार वटा मास्क र सेनिटाइजर तयार गरिएको उनले बताए ।