विराटनगर: सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गरेकी छिन् ।

प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगेर मन्त्री राईले पदभार ग्रहण गरेकी हुन् । उनले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताइन् । उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने उनले बताइन् । मन्त्री राईले भनिन्,‘उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन ।’ जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने मन्त्री राईले बताइन् ।

ushakala-rai

पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा उनले फरक तरिकाले काम गर्ने सोच भएको बताइन् । कोरोना संक्रमण पुनः बढ्न शुरु भएकोले यसको नियन्त्रणका लागि जुट्न मन्त्री राईले आग्रह पनि गरिन् । उनले अस्पतालहरुमा धेरै फोहोर हुने गरेको सुन्नमा आएकाले सरसफाईमा ध्यान केन्द्रीत गर्न आग्रह गरिन् । धेरै कार्यक्षेत्र रहेको सामाजिक विकास मन्त्रालयलाई प्रदेश १ कै उत्कृष्ट मन्त्रालयका रुपमा अघि बढाउनु पर्नेमा मन्त्री राईले जोडदिइन् । परिचयात्मक कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयको कार्यक्षेत्र, सम्पादन गरिरहेको काम, जनशक्ति लगायतका बारेमा जानकारी गराएका थिए ।