काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई पार्टीले कारबाही गरेको छ ।
पार्टी हित विपरीत गतिविधि गरेको भन्दै एमालेले दुवैलाई आज ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो । उनीहरुलाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । कारबाहीबारे जानकारी पाएपछि नेता नेपाल र रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।
सर्वोच्च अदलतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पार्टी भित्रै ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने भन्दै प्रचण्डसँग भेट गरेर नेता नेपाल, रावललगायत एमालेमा फर्किएका थिए । तर, एमालेमा फर्किएपछि पार्टीको नाममा गुटको भेला, बैठक राख्नुका साथै समानान्तर कमिटीहरु बनाउन थालेपछि पार्टी फुटाउन खोजेको आरोप लगेको थियो भने नेपाल, रावलसहित ४ जनालाई स्पष्टीकरण पनि सोधिएको थियो । स्पष्टीकरणको जवाफमा नेता नेपाल र रावलले उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथि विभिन्न आरोपहरु लगाउदै प्रतिस्पष्टीकरण मागेपछि दुवैलाई कारबाही हुने अनुमान गरिदै आएको थियो ।