धरान: नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनले विजय हासिल गरेको छ ।
प्रदेश १ का १४ वटै जिल्लाहरुको मतगणना अनुसार प्रेस युनियनको गठबन्धनबाट अध्यक्षका उम्मेदवार लिला बल्लभ घिमिरेको प्यानल नै विजयी भएको छ । यो गठबन्धनलाई एमालेको माधव नेपाल समुहको प्रेस चौतारीको समुहले पनि सघाएको थियो । प्रदेश १ को १४ जिल्लाकै मतगणना सम्पन्न भइसके पनि औपचारिक घोषणा हुन बाँकी छ ।
अध्यक्षमा विजयी घिमिरेले ७ सय ९३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी प्रेस चौतारी, प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेदवार मोहन काजीले ५ सय ९७ मत पाएका छन् । प्रेस युनियनका बागी उम्मेदवार सोमनाथ सुसेलीले ४१ मत पाएका छन् ।
यस्तै, घिमिरेको प्यानलबाट उपाध्यक्षमा लवदेव ढुंगाना, महिला उपाध्यक्षमा हेमा चेम्जोङ, महासचिवमा विवेक गौतम, सचिवमा देवेन्द्र कार्की, समावेशी सचिवमा सन्तोष यादव र कोषाध्यक्षमा विमल लामिछाने बद्री विजयी भएका छन् । यस्तै, खुल्ला सदस्यहरुमा पनि युनियनकै प्यानलका गोपाल पोख्रेल, तोयानाथ भटट्राई, ध्रुव भट्टराई, लिलाराज झापाली र सुरेन्द्र भण्डारी विजयी भएका छन् भने महिला सदस्यहरुमा विनु तिम्सिना, माला पालुंवा र शुशिला पाठक विजयी भएका छन् ।
दलित सदस्यमा पिवी दिलायी विजयी हुँदा जनजाति सदस्यतर्फ विष्णु सुब्बा र यमनकुमार दनुवार निवार्चित भएका छन् । मधेशी सदस्यतर्फ प्रमोद कुमार यादव र ब्रह्मदेव यादव विजयी भएका छन् भने अल्पसंख्यक सदस्यतर्फ लिलाबहादुर सुनुवार विजयी भएका छन् । प्रदेश १ का १४ जिल्लामा महासंघका १ हजार ६ सय १५ मतदाता सदस्यहरु छन् । बुधबार सम्पन्न भएको मतदानमा १ हजार ४ सय ८७ मत खसेको थियो ।