धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ बर्ष २०७८ सालको शुभकामना व्यक्त गरेका छन् ।

नयाँ बर्षको पहिलो दिन आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राईले देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । उनले नयाँ वर्ष सुखद र उपलब्धीमुलक बन्न सकोस् भन्ने कामना पनि व्यक्त गरेका छन् । साथै, मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्य सहित अगाडि बढिरहेको पनि उनले बताएका छन् ।

संविधान जारी भएसँगै राजनीतिक संक्रमण समाप्त भएको ठानिए पनि अस्थिरतामा आफ्नो भविष्य देख्ने, सधैको किचलो र खिचातानीमा रमाउनेहरुले देशलाई पुरानै बाटोमा फर्काउन खोजेको पनि मुख्यमन्त्री राईले सन्देशमा उल्लेख गरेका छन् । ‘यद्यपी लामो राजनीतिक परिवर्तन मार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक—सामाजिक रुपान्तरण सहित समृद्धि तर्फको यात्रालाई तिब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हाम्रो साझा जिम्मेवारी र दायित्वबाट हामी किंचित पछि हटेका छैनौं र हट्ने पनि छैनौं,’उनले भनेका छन् ।

वितेका एक वर्ष कोरोना भाईरस (कोभिड १९) विरुद्धको लडाईको वर्ष रहेको र आधा समय त लकडाउनमा नै विताउनु परेको भन्दै मुख्यमन्त्री राईले अझै पनि कोरोना विरुद्धको लडाईमा नै रहेको र थप स्वास्थ्य सावधानी र सजगता अपनाउनु पर्ने पनि उल्लेख गरेका छन् । 

थुप्रै प्रतिकुलताका बीच वर्ष २०७७ प्रदेश सरकारका लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको दाबी गर्दै मुख्यमन्त्री राईले ३ वर्ष अघि पहिलो पटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरणसहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धिको यात्रामा दृढ संकल्पित रहेको पनि बताएका छन् । 

‘हाम्रो प्रदेशमा भएका स्रोत, साधन र प्रचूर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एवम् समुन्नत वनाउने दायित्व हाम्रो काँधमा छ । नयाँ वर्ष २०७८ विकास निर्माणको महत्वपूर्ण उपलब्धी र परिणामका लागि स्मरणीय वर्षका रुपमा रहने मैले विश्वास लिएको छु,’मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ,‘यसका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षाका साथै विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन म हार्दिक अपील गर्दछु ।’