काठमाण्डौं: प्रतिनिधिसभाबाट विश्वासको मत पाउन प्रधानमन्त्री केपी शर्मा ओली असफल भएका छन् ।

आज सोमबार प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि उनको नेतृत्वको सरकार ढलेको छ भने मुलुक नयाँ सरकार निर्माणको बाटोमा अघि बढेको छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनको लागि प्रस्ताव राखेका थिए । उनको प्रस्तावको पक्षमा ९३ जना सांसदले मात्र मतदान गरेका थिए भने विपक्षमा १२४ सांसदहरुले मतदान गरेका थिए । 

संसद बैठकमा २ सय ३२ जना उपस्थित मध्ये १५ जना तटस्थ बसेका थिए। प्रधानमन्त्री ओलीको विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मत दिएका थिए। प्रधानमन्त्री ओलीलाई भने उनकै पार्टी एमालेको ओली पक्षीय सांसदहरुले मात्रै मत दिएका थिए। एमाले विश्वासको पक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि माधव नेपाल पक्षीय २८ सांसद अनुपस्थित थिए।