इटहरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क परामर्श दिने भएको हो । दोस्रो चरणको भेरियन्ट आइकन जिलामा झण्डै एक दर्जन सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । केही संक्रमितहरु अस्पतालमा उपचाररत छन् भने केही संक्रमितहरु घरमै आइसोलेट भएर बसेका छन् । अधिकारीले भने,'यसकारण हामीले घरमै आइसोलेट भएर बसेका संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टरद्धारा सेवा प्रवाह गर्न लागेका हौँ ।'

उनका अनुसार डा. अमितकुमार खतिवडा (मेडिकल  अधिकृत) र स्टाफ नर्स किरण चौधरीले संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधोपचार गर्ने गरी युनियनले तयारी गरेको छ । घरमै गएर 'मोबाइल डाक्टर' सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुने भएकाले कोरोनामुक्त हुन सहज हुने अधिकारीको भनाइ छ। डा. खतिवडासँग युनियनले आइतबार सम्झौता समेत गरेको छ ।

युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीहरुको निःशुल्क कोरोना बीमा गरेको थियो । ती मध्ये ३० जनालाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको अधिकारीले बताए । यस्तै, इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले नेतृत्व गरेर निर्माण गरेको आइसोलेसनमा प्रेस युनियनसहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीहरुलाई अक्सिजनसहितको निःशुल्क सेवा दिने तयारी गरिएको छ ।