धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गरिरहेका विपक्षी दलहरु मिलेर वैकल्पिक सरकार बनाउन आफुले मार्ग प्रशस्त गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरु मिलेर वैकल्पिक सरकार बनाए आफुले स्वागत गर्ने र आफ्नो पार्टीले सबै मुद्दामा रचनात्मक सहयोग गर्ने पनि बताए । ‘वैकल्पिक सरकारको बाटो थुनेको हो र, छेकेको छ र । बाटो खोलिदिएको छ । अहिलेको सरकारको विरोधीहरुलाई एकजुट भएर वैकल्पिक सरकार बनाउने बाटो खोलिदिएको छ,’प्रधानमन्त्री ओलीले भने,‘वैकल्पिक सरकार बनाउनुस्, मेरो रचनात्मक सहयोग हुनेछ । मलाई जस्तो सधैको किचकिच होइन, सहयोगी भावनाको साथ अहिलेको कोभिडकोविरुद्ध मात्र होइन, अरु इस्युमा पनि मेरो दल प्रस्तुत हुन्छ । सक्नुहुन्न भने मलाई समर्थन गर्नुस् ।’
आफुले संविधान वमोजिम नै धारा ७६ (४) अनुसार विश्वासको मत प्राप्त गर्ने परिस्थिति नभएकोले उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनको मार्ग प्रशस्त गरेको ओलीको जिकिर थियो । उपधारा ४ वमोजिम विश्वासको मत लिने प्रक्रियामा जादा संविधानले दिएको समयसिमा जेठ १५ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने, त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले प्रभावित हुने भन्दै उपधारा ५ वमोजिम मार्ग प्रशस्त गरेर वैकल्पिक सरकार गठनको बाटो खोलिदिनु अपरिहार्य भएको उनको जिकिर थियो ।
‘संविधानको धारा ७६ (५) वमोजिम नयाँ सरकार गठनको लागि सिफारिश गरिएको हो । यदि यो नगरिएर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त नहुने स्पष्ट छ । फेरि जाने त त्यही धारामा हो,’प्रधानमन्त्री ओलीले भने,‘जेठ १५ गते संविधानले नै तोकेको छ, बजेट प्रस्तुत गर्नुपर्छ । त्योभन्दा अघि नीति कार्यक्रम प्रस्तुत गर्नुपर्छ । नयाँ सरकार १३, १४ गते बन्यो भने बजेट कसरी प्रस्तुत गर्ला ?’
प्रधानमन्त्री ओलीले समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पुरा गरेर, पराजित भएर उपधारा ५ मा गइरहने समयको सुविधा कसैसँग पनि नरहेको जिकिर गरे । ‘५ मै जानुपर्ने भइसके पछि प्रधानमन्त्रीले मार्ग प्रशस्त्र गरिदिनु र सरकारको गठनको बाटो खोलिदिनु समयको चाप र परिस्थितिको हिसाबले उचित मात्र होइन, अपरिहार्य भइसक्यो,’उनले भने,‘तसर्थ कुनै छलेर, सरकार जोगाउन गरिएको होइन । अर्को वैकल्पिक सरकार निर्माणको लागि हो ।’
विगत एक बर्षदेखि नै सरकार परिर्वतनको खेल चलिरहेको भन्दै ओलीले विपक्षीहरुको एक मात्र उद्देश्य आफुलाई प्रधानमन्त्री पदबाट हटाउनु मात्र रहेको पनि बताए । ‘यो सिलसिला एक बर्ष बढी समयदेखि चलेको छ, सरकार परिर्वर्तन र प्रधानमन्त्रीलाई पदबाट हटाउनु मात्र उद्देश्य छ,’उनले भने,‘कुनै विकास निर्माणको काम नभएर होइन, अरु कुनै उपयुक्त कारणको साथ होइन । आग्रह वश र आफु सरकारमा पुग्ने इच्छा वा अस्थायी ढंगले चलिरहेको छ जस्तो बनाउने चाहना गत बर्षदेखि नै छ ।’
भिडियो :