धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित सांसद जयकुमार राईले नयाँ सरकार गठनको लागि विपक्षी गठबन्धनको पक्षमा आफुले हस्ताक्षर नगरेको प्रष्ट पारेका छन् ।
एमाले नेता माधवकुमार नेपाल पक्षका सांसद राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु पार्टी विभाजनको पक्षमा नभएकोले नयाँ सरकार गठनको लागि भइरहेको हस्ताक्षर संकलनमा आफुले नगरेको पनि प्रष्ट पारेका छन् । यसअघि पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा माधव नेपाल पक्षीय सांसदहरुले राजीनामा दिने कुरा हुँदा उनले सहमति जनाएका थिएनन् ।
सांसद राईले आज फेसबुकमा पोष्ट गर्दै भनेका छन्, 'सुनसरी क्षेत्र नं १ बाट सुर्य चिन्ह लिएर निर्बाचित सांसद म जय कुमार राई नेकपा एमाले बिभाजनको पक्षमा छैन भन्ने कुरा धेरै अगाडि देखि मेरो धारणा सार्बजानिक गर्दै आएको छुँ । आज फेरि नयाँ सरकार गठन गर्न भनी हस्तक्षर संकलन भैरहेको जानकारीमा आएको हुँदा म फेरि पनि पार्टी बिभाजनको पक्षमा म छैन र काहीँ कतै यो प्रोजनको लागि हस्ताक्षर नगरेको कुरा सबै पार्टी नेता तथा कार्यकर्ताहरुलाई जानकारी गराउन चाहान्छु ।'
क्लिकधरानसँग संक्षिप्त कुरा गर्दै सांसद राईले कोभिडको बेला जनता बचाउन सरकार र पार्टी लाग्नुपर्नेमा आफ्नै पार्टीको सरकार ढाल्न र पार्टी विभाजन गर्ने गतिविधिमा आफु नलाग्ने प्रष्ट पारे । 'यो बेला भनेको पार्टी एक ढिक्का भएर कोभिडविरुद्ध लाग्ने बेला हो,' उनले भने, 'अध्यक्षको कमीकमजोरी होला, तर हामीले पार्टीभित्र नै आवाज उठाउनुपर्छ भन्ने पक्षमा छुँ, विभाजनको पक्षमा होइन ।'
सांसद राईले विगतमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि आफुले संसद पुर्नस्थापना र पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भन्ने आवाज उठाए पनि पार्टी विभाजनको पक्षमा आफु कहिल्ये पनि रहेको प्रष्ट पारे । उनले भने, 'विभाजन भनेको राम्रो होइन । देश जनता, कार्यकर्ता र नेताहरुको पनि हितमा छैन । त्यसो भएको हुनाले आफ्नो पार्टीको अध्यक्षलाई हटाएर अर्को पार्टीलाई प्रधानमन्त्री बनाउने पक्षमा कसरी हुनसक्छु ?,'उनले भने,'आजको बुझाएको हस्ताक्षर पहिहला नै संसद अधिवेशन बोलाउनको लागि हहस्ताक्षर गरेककाो थिए, त्यही दुरुपयोग गरिएको हो । तर, मैले नेताहरुलाई भनिसकेको थिएँ, पार्टी विभाजनको पक्षमा म छैन ।'
वर्तमान सरकारको विकल्पमा विपक्षी गठबन्धनले एमालेकै माधव नेपाल पक्षका २७ जना सांसदसहित १४९ सांसदहरुको हस्ताक्षर बुझाएको सार्वजनिक गरिएको थियो । विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिश गरेको छ । हिजो सरकारको सिफारिश वमोजिम संविधानको धारा ७६(५) वमोजिम राष्ट्रपतिले आजसम्म सरकार गठनको लागि आह्वान गरेपछि दलहरुबीच रस्साकस्सी चलिरहेको छ ।