धरान: प्रदेश नं १ को आठौं तथा बजेट अधिवेशन यही जेठ २४ गतेलाई आह्वान गरिएको छ ।
मन्त्रीपरिषदको बैठकले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिश गरेअनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयले एक सुचना जारी गर्दै संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेश प्रमुखबाट जेठ २४ गते सोमबार दिनको २ बजे प्रदेशसभा बैठक आह्वान भएको जनाएको छ ।
तोकिएको समयमा बजेट अधिवेशन आह्वान नगरेको र अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै विपक्षी दलहरुले आलोचना गरेपछि मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै संसदबाट नै बजेट ल्याउने बताएका थिए ।
आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्दै छलफलको समय घटाउने गरि अध्यादेशसमेत जारी भइसकेको छ । हिजो दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बजेटमाथिको पूर्वछलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, २०७४ संशोधन गर्ने निर्णय गरेको छ । १५ दिन अघि नै पूर्वबजेट छलफल गराउनुपर्नेमा अब अध्यादेशमार्फत अवधि घटाएर पाँच दिन सिमित गरिएको बताइएको छ ।