नेपाल सरकारले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको आज १५ वर्ष पुगेको छ । सरकारले २०६३ जेष्ठ २१ गते नेपाललाई छुवाछूत मूक्त राष्ट्र घोषणा गरेको थियो । १५ वर्ष भित्र विभिन्न सरकार बने तर छुवाछुुतका घटनाहरु घटेनन् । कानुन नबनेको भने होइन, कार्यान्वयन गर्न नचाहेर हो । सिंगो दलित समुदाय यो शताब्दीमा मान्छे सरह जीवनयापन गर्न पाएका छैनन् । 

जातिय भेदभाव तथा छुवाछुतकै कारण बर्षेनी सयौं दलित समुदायले ज्यान गुमाउनु परेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य उपलब्धी समावेशी, समानुपातिक मुल्यमान्यतालाई संविधान अनुसार वर्तमान सरकारले कार्यान्वयन गर्न समेत चाहान्दैन। छुवाछुत मुक्त राष्ट्र घोषण भएको आज १५ वर्ष पुगेता पनि उक्त घोषणा घोषणामै सिमित भएको छ । 

म यहाँ १५ वर्षकै दलित समुदाय माथि भएका अन्याय र अत्याचारको औल्याउन चाहान्न । विगत २ वर्षमा दलित समुदाय माथि भएका भेदभाव तथा छुवाछुतका घटना हजारौं घटेका छन्, यहाँ तपाईहरु सामु प्रस्तुत गर्दा निकै लामो हुन्छ, त्यसैले  संक्षिप्तमा यहाँ प्रस्तुत गरेको छु ।

घटना नं. १: रुकुुमपश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती निवासी सुष्मा मल्ल र जाजरकोट भेरी नगरपालिका ४, रानागाउँका नवराज विश्वकर्मा बीचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सन्दर्भमा २०७७ जेष्ठ १० गते शनिवारको दिनमा स्थानीय गाँउलेहरूको योजनाबद्ध सामुहिक आक्रमणबाट निज नवराज विक, टिकाराम विक, लोकन्द्र सुनार, गणेश बुढामगर, सन्जु विक र गोविन्द शाहीको सामुहिक हत्या भएको थियो । 

उक्त हत्याकाण्डको न्यायिक छानविनका लागि देशव्यापी आन्दोलन पश्चात सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानवीन समिति र प्रतिनीध सभामा संसदीय छानवीन समिति गठन भई प्रतिवेदन बुझाएको थियो । जिल्ला अदालत रुकुम पश्चिमले हाल २८ जना थुनुवामा, २ जना बाल सुधार गृहमा र २ जना धरौटीमा छुटेका छन् । तर दलित आन्दोलन निरन्तर अघि बढेको देखिन्छ । (स्रोत:विभिन्न पत्रपत्रिका, संसदिय समिति प्रतिवेदन )

घटना नं. २ : रुपन्देहीको  देवदह नगरपालिका वडा नं. ११ गुम्बीकी अंगिरा पासीको स्थानीय रोहिणी खोलाको किनारको रुखमा मिति २०७७ जेष्ठ ११ गते झुण्डिएको अवस्थामा लाश फेला परेको थियो । उनको स्थानीय यूवा बीरेन्द्र भरसंग प्रेम सम्बन्ध रहेको थियो  । निज अंगिरा र बीरेन्द्रलाई स्थानीय वडा अध्यक्ष लगायतको उपस्थितिमा परिवारको सहमतिमा केटीलाई केटाको जिम्मा लगाइएको थियो  । 

अंगिराका बुवा बाबुराम पासीले आफ्नी छोरीको हत्या गरेको आरोप लगाएका छन् । स्थानीय दलित आन्दोलनको दबावका कारण मुद्दा दर्ता गरिएको थियो । हाल बलात्कारी सहित ३ जना जेलमा छन भने वडा अध्यक्षमाथि भने कुने मुद्दा पनि चलाइएन । स्रोत ः दलित गैरसरकारी संस्था महासंघ, RND नेपाल, दलित सेवा संघ, दलित महिला संघ )

घटना नं. ३ : अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा नं. ९ काले काँडा भानाकोटकी १८ बर्षिय उर्मिला टमट्टालाई सोही गाउँका तिलक बटालाले विवाह गर्ने प्रलोभन दिएर २ बर्षसम्म यौन शोषणपश्चात हत्या गरेका थिए । सो घट्नामा कुनै कार्वाही गरिएको छैन् । स्रोत: दलित गैरसरकारी संस्था महासंघ, RND नेपाल, दलित सेवा संघ, दलित महिला संघ )

घटना नं. ४ः मिति २०७७ जेष्ठ २६ गते राति रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहियास्थित गंगादेवी पशुफर्ममा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पाषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीको त्रासदीर्पू एवम् विभत्स हत्या भएको थियोे  । तर यस मुद्दालाई सामान्य मुद्दाका रुपमा लिइयो । दलित आन्दोलनले सवाल बनाउन आवश्यक ठानेन । स्रोत: दलित गैरसरकारी संस्था महासंघ, RND, नेपाल, दलित सेवा संघ, दलित महिला संघ )

घटना नं. ५: मोही जग्गा जोत्दा सप्तरीको शभ्भुनाथ नपा वडा नं ३ मा आफुले मोही स्वरूप पाएको जमिन जोत्दा ४२ बर्षीय दलित युवा त्रिभुवन रामको २०७७ असाढ ३१ गते राति हत्या गरेर लास फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । पुख्यौदेखि आफ्ना बाजे, बाबुले जोतेको जमिनको मोहीमा पाएको जमिन जोत्दा निज यूवाको हत्या गरिएको  थियो । (स्रोत: दलित गैरसरकारी संस्था महासंघ, RND, नेपाल, दलित सेवा संघ, दलित महिला संघ )

घटना नं.६: मोरङ, बुढीगंगा गाउँपालिका–२ को मुसहरी टोलमा ६० घर मुसहरका छन् । भूमिहीन उनीहरू सबै ज्याला मजदुरी गरेर जीवन धान्छन् । त्यही गाउँमा बैजनाथ यादवको परिवार पनि बस्छन् । बैजनाथको परिवारले आफ्नो धाराको पानी निकास गर्न घर अगाडिको सडकमा खाल्डो खनेको छ । राति आउ जाउ गर्नेहरू लड्ने तथा साइकल/मोटर साइकल दुर्घटना हुने भन्दै स्थानीयले यादव परिवारलाई खाल्डो पुर्न, कि पाइप लगाउन आग्रह गर्दै आएका थिए । तर, गाउँलेको आग्रह बैजनाथ परिवारले बेवास्ता गदै आएको थियो । 

यही विषयमा सरस्वती ऋषिदेवको केही समयअगाडि यादव परिवारसँग सामान्य विवाद भएको थियो । १९ साउनको बिहान एक मुसहर महिला दुलारी ऋषिदेव खाल्डोमा लडेर सामान्य घाइते भइन् । त्यही विषयमा विवाद हुँदा बैजनाथकी बुहारी पवन यादवसहितले दुलारीलाई धानबारीमा लछार पछार गरेर कुटपिट गरे । झगडा मिलाउन त्यही दिन दिउँसो समाज बस्यो । समाजको बैठकमा सरस्वती, श्यामलगायतले कुटपिटको विरो ध गर्दै खाल्डा पुर्न माग गरेका थिए । त्यसपछि बैजनाथ परिवारले सडकमा खनेको खाल्डो पुर्ने र आइन्दा विवाद नगर्ने समाजको फैसला अनुसार सहमति भयो । 

तर, दलित मुसहरहरूले आफूलाई हेपेको भन्दै बैजनाथ परिवारले ‘इगो ’ लियो । प्रहरीले राति सञ्जय यादव, ब्रह्मदेव यादव, दीपक साह, उत्तिमलाल यादव र विष्णु यादवलाई पक्राउ गरेर लगेको थियो । २० साउनमा आक्रमणकारीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय निमुवामा पीडितहरूले निवेदन दिएका छन । तर , प्रहरीले मिलापत्र गरेर दोषीलाई जोगाउने षड्यन्त्र ग¥यो । स्थानीयले त्यसको विरोध गरेपछि इप्रकाले आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालय पठायो ।

जिप्रकाले मुद्दा दर्ता नै नगरी सबै आक्रमणकारीलाई २० साउनमै विराटनगर –१४ का निमित्त वडाध्यक्ष महिचन यादवको रोहबरमा छाडिदियो । स्थानीय बासिन्दाका अनुसार बैजनाथले ज्वाइँ चलमली यादव र सिन्धु यादवको सहयोगमा जतुवाबाट गुन्डा झिकाएका थिए । मुसहर बस्तीमा कुटपिट गर्न जाँदा चलमली र सिन्धु पनि थिए । तर , प्रहरीले मुख्य योजनाकार बैजनाथ, चलमली र सिन्धुलाई पक्राउ नै गरेन । अहिले बैजनाथको पूरै परिवार फरार छ । सामान्य विवादमा सरस्वती ऋषिदेवको परिवारसँग बदला लिन स्थानीय बैजनाथ यादवले विराटनगर –१४ जतुवाबाट २० जना गुन्डा बोलाएर आक्रमण गराएको प्रत्यक्षदर्शीको भनाइ छ । 

१९ साउनको राति मोटर साइकल र इलेक्ट्रिक रिक्सामा आएका उनीहरूले तरबार, भाला र रडले आक्रमण गरेको पीडितहरूले बताए । आक्रमणबाट ५० वर्षीया सरस्वती, उनका भाइहरू ४० वर्षीय पन्नालाल, ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम गम्भीर घाइते भएका छन । तरबारले सरस्वतीको छातीको देब्रेभाग नै ताछिएको छ । अन्य को टाउको , गर्धन र शरीर भरि ठुल्ठूला घाउ बनेका छन् । (स्रोत: नयाँ पत्रिका २०७७ श्रावण २३ गते)

घटना नं.७ : कालीकोट सान्नी त्रिवेणी गाउँपालिका वडा नंं. ६ का वडा अध्यक्ष रंगराज सार्कीलाई सोही वडाका वडा सचिवबाट डुम भन्दै जातीय विभेद गरिएको थियो  । (स्रोत: दलित अनलाइनबाट (२०७७ जेष्ठ १ गते)

घटना नं.८: दलितसँग विवाह गरेकै कारण पाल्पाको बगनासकाली–१, चिर्तुङधाराका पूर्णमान श्रेष्ठले शुक्रबार निधन भएकी आफ्नी आमालाई दाग बत्ती समेत दिन पाएनन् । आमाको पार्थिव शरीरलाई घरबाट कालीगण्डकीको राम्दीघाट र्पुयाउँदासम्म उनलाई छुन दिइएन । एकाघर भित्रैले आफ्नै आमाको अन्तिम संस्कारमा समेत छुन दिइएन । यस घट्नामा हालसम्म कुनै कार्वाही भएको छैन । (स्रोत: कान्तिपुर दैनिकबाट (२०७७ असाढ २३ गते)

घटना नं ९: इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकलाई उनको बुबाको अन्तिम संस्कार परिवार सँगै गर्न दिइएन । मिति २०७७ श्रावण सोमबार राति निधन भएका बुबा चन्द्रप्रसादको किरिया परिवार सँगै बस्न माइती पक्षले नदिएपछि उनी छुट्टै क्रिया बसेकी थिइन । 

यामकलाले १२ वर्षअघि दलित समुदायका रत्नबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेकी थिइन् । उनलाई अहिले सम्म माइती पक्षले स्वीकार गरेको थिएन । त्यसै कारणले बुबाको दाहासंस्कारका लागि जाँदा पनि उनले अपमानित हुनु परेको थियो  । निधन भएका बुवाको अनुहार हेर्न पनि दिइएन । यामकलाको घरबाट माइतीघर करिब तीन सय मिटर दूरीमा छ । बुबाको निधन भएको थाहा पाउने बित्तिकै उनी रुँदै माइती पुगिन । १२ वर्षपछि माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झम्टिए ।

‘म पुग्ने बित्तिकै गाउँकी लक्ष्मी दंगालले तँलाई बाँचुन्जेल चाहिएन, अहिले के हेर्न आइस ? अरू वेला त दलितसँग गएको भनेर बाटो हिँड्दा थुक्थे पनि ।’ घाटमा पनि उनलाई लासको नजिक आउन दिइएन । मृत्युको अन्तिम संस्कारका वेला श्रद्धाञ्जलि सभा गरिएको थियो । त्यसक्रममा परिवारका सबै सदस्यको नाम लिइए पनि छोरी र ज्वाइँको नाम लिइएन । 

यामकला माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्यकी भतिजी हुन् । ‘काकी त कम्युनिस्ट पार्टीको नेता हुन् । माई नगरपालिकाकी उपप्रमुख विष्णुमायाले आफ्नो परिवार वर्षौँ अघि छुट्टिएको ‘मलाई उपप्रमुख होइन, बुहारीको नजरमा पनि हेरि दिनू । कहिले काहीँ आफ्नो घर कोत जिम्मा लिन सकिँदैन, जेठाजुको घरको कसरी लिनु ? उनले आफू जहिले पनि जातीय  विभेदको विरुद्धमा भएको बताइन । (स्रोत: नयाँ पत्रिका २०७७ श्रावण २२ गते

घटना नं. १०: अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ४ स्थित समाजकल्याण प्राविमा निर्माण गरिएको क्वारेण्टाइनका लागि वडा कार्यालयबाट खटाइएका स्वयंसेवक दलित यूवा कृष्णबहादुर वि.क.ले पकाएको खाना नखाने, मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु भने पछि घिमिरे लगायतलाई अर्को क्वारेन्टिनमा सारि एको थियो । 

दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टिनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताएका थिए । उनी माथि कुनै कार्वाही भएको छैन । (स्रोत: कान्तिपुर दैनिकबाट ( २०७७ श्रावण ८ गते)

घटना नं.११:  कालिकोट, हरिनाथ गाउँपालिका ७ का वडाअध्यक्ष दलबहादुर विश्वकर्मांलाई डुमको मरा भन्दै सोही वडाका प्राविधिक कर्मचारी दलवहादुर बुढाले हातपात तथा गाली गलौज र अन्य जातीय विभेद हुने खालका शब्द प्रयोग गरी दुर्यव्यवहार गरेको तथा वडाध्यक्षको कार्यकक्षमा कुटपीट समेत गरेका थिए । पीडित वडाअध्यक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए । (स्रोतः ०६चैत्र २०७६, अन्नपूर्णपोष्ट ।)

घटना नं.१२ः कपिलवस्तुको शिवराज नगरपालिका ५ को चन्द्रौटा बजारका स्थानीय मीलन विश्वकर्माले नयाँ घरमा हिन्दू संस्कार अनुसार पुजा गर्न पण्डित बोलाएका थिए तर घर मालिक दलित भन्ने थाहा पाएपछि पुजा गर्न तयार भएका पुजारी पुजा मण्डम नै छोडेर भागेका थिए । (स्रोतः ३० कार्तिक २०७६, नागरिक ।)

माथि उल्लेखति घटनाहरु प्रतिनीधि घटनाहरु हुन् । दलित समुदाय माथि निर्मम अन्याय र अत्याचार हुनुका पछाडि सरकार नै दोषी छ । दलित समुदाय माथि हुने सामाजिक सांस्कृतिक बहिष्करण, अपमान, दुव्र्यवहार, तिरस्कारका घटना घट्न नदिनका लागि जातीय भेदभाव तथा छुवाछूत विरूद्ध बनेका कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । 

जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि जातीय भेदभाव तथा छुवाछूत विरूद्धको ऐनको पूर्ण तथा प्रभावकारी कार्यान्वयनका गर्नका लागि तीनै तहका सरकारमा ठोस रणनीति बनाई प्रभावकारी संयन्त्र निर्माणका लागि आवश्यक उपाय अबलम्वन गर्नुपर्ने देखिन्छ । जातीय भेदभाव तथा छुवाछूत विरूद्धको राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गर्न आवश्यक देखिन्छ । आधारभूत तह देखि नै सचेतना वृद्धि गर्नका लागि विद्यालयका पाठ्क्रममा पुनरावोलोकन गर्न आवश्यक देखिन्छ । 

तीनै तहका सरकारले सामाजिक सांस्कृतिक जागरण र अन्तरघुलनका कार्यक्रम तथा सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने देखिन्छ । राजनीति नेतृत्व, सरकार महत्वपूर्वण जिम्मेवार र दायित्व वहन गर्ने  व्यक्तित्व, सामाजिक अभियन्ता, मानवअधिकारकर्मी, नागरिक समाज, धार्मिक गुरुहरूको दृढ सोच र प्रतिवद्धताका साथ जातीय भेदभाव तथा छुवाछूत विरूद्धको अभियान संचालन गर्न आवश्यक छ । 

इमेलः khemrevu048@gmail.com