धनकुटाः विश्वभर महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोरोना भाईरस कोभिड–१९ को संक्रमरण बढेसंगै धनकुटामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी प्रदेश सांसदहरुले जिल्लाका स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
जिल्लाबाट १ नं. प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा क्षेत्र नं. (क) का निरन राई र प्रदेशसभा क्षेत्र नं. (ख) का इन्द्रमणी पराजुलीको विशेष पहलमा सामाजिक विकास मन्त्रालयवाट स्वास्थ्य सामाग्रीहरु ल्याएर जिल्ला स्वास्थ्य कार्यालय मार्फत सबै स्थानीय तहलाई वितरण गरेका हुन् । कोभिड–१९ कोरोनाको महामारीको बेला धनकुटाका नागरिकहरुलाई अक्सिजनको अभाव हुन नदिन स्थानीय तहहरुलाई अक्सिजन कन्सन्ट्रेटर २ थान, सिलिन्डर ३ थना, पिपिई सेट ५० थान, पिपिई गाउन १ सय २० थान, केएन ९५ माक्स १०० पिस, सर्जिकल माक्स ५००, फेसशिल्ड ५० पिस ह्याण्ड स्यानिटाइजर ५ लिटर र मेडिकल ग्लोब्स १००० पिस प्रदान गरिएको प्रदेशसभा सदस्य निरन राईले बताए ।
प्रदेशसभा सदस्यहरुबाट प्राप्त अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्री गाउँपालिका भरिका सबै स्वास्थ्य संस्थामा पु¥याइ सकेको साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याखाले बताए । साँगुरीगढी गाउँपालिकामा आहाले कोभिड हस्पिटल, डाँडाबजार प्राथमिक स्वास्थ्य केन्द्र गरि ४ वटा स्वास्थ्य चौकी छन् । सहिदभूमि गाउँपालिकाले पनि अक्सिजन सिलिण्डर आँखिसल्ला स्वास्थ्य चौकीमा तयारी अवस्थामा राखिएको उपाध्यक्ष रत्नश्वरी राईले बताइन् ।
त्यस्तै चौविसे गाउँपालिकालाई प्राप्त अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्रीहरु गाउँपालिकाका सबै स्वास्थ्य चौकीहरुमा पु¥याइसकेको अध्यक्ष खजिन्द्र राईले बताए । उनका अनुसार गाउँपालिका आफैले पनि अक्सिजन खरिद गरेको छ । कोभिड संक्रमित विरामीलाई अक्सिजनको आवश्यकता गरे घरमै लगेर प्रयोग गर्ने व्यवस्थापन गरिएको गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन् ।