धरान: नेपालकै पहिलो महिला उपसभामुख एवं नेकपा एमाले नेतृ स्वर्गीय लिला श्रेष्ठ सुब्बाको ११ औं स्मृति दिवस शनिबार धरानमा मनाइएको छ ।
धरान ७ स्थित लिला श्रेष्ठ सुब्बा स्मृति प्रतिष्ठानको निर्माणाधिन भवन परिसरमा आयोजित कार्यक्रममा एमाले नेताहरुले स्वर्गीय श्रेष्ठलाई इमान्दार नेतृकोरुपमा स्मरण गरे । कार्यक्रमकी प्रमुख अतिथि रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदीले महिलाहरुलाई राजनीतिमा आउन प्रेरणा दिइरहने नेतृकोरुपमा स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहदा हाल पार्टीको अवस्थाले सबैलाई चिन्तित बनाएको बताइन् ।
उनले स्वर्गीय नेतृलाई चिरस्मरणीय बनाइराख्न उपमहानगरपालिकाले र वडा कार्यालयले पनि विभिन्न कार्यक्रमहरु राखेको बताइन् । ‘लिला श्रेष्ठ सुब्बा को हुनुहुन्थ्यो भनेर चिनाउन, र राष्ट्रिय राजनीतिमा पनि स्मरणीय बनाइराख्न नगरले विभिन्न कार्यक्रमहरु राखेको छ,’उनले भनिन्,‘मोफसलका नेता कहिल्यै राष्ट्रिय नेता नहुने रहेछ, त्यसैले उहाँलाई राष्ट्रिय नेताको पहिचान बनाउन पनि विविध कार्यक्रमहरु गरिरहनुपर्छ । लिला दिदीलाई चिन्नु भनेको पार्टीलाई नै चिन्नु हो ।’
पुर्वमेयर एवं एमाले नेता मनोजकुमार मेन्याङ्बोले स्वर्गीय नेतृ श्रेष्ठ पार्टीको इमान्दार कार्यकर्ता भएको बताइन् । नेताले दिएको निर्देशनलाई क्रस नगर्ने, अनुशासित नेतृकोरुपमा आफुले चिनेको उनले बताए । ‘उहाँ मिष्ठभाषी हुनुहुन्थ्यो । डटेर विरोध वा प्रतिरोध गर्नुहुन्नथ्यो,सहनसिल स्वभाव थियो, र सबैको प्रिय हुनुहुन्थ्यो,’पुर्वमेयर मेन्याङ्बोले भने ।
परिवारले दिएको जग्गामा बन्दैछ स्मृति प्रतिष्ठान
२००५ सालमा ताप्लेजुङमा जन्मिएकी लिला सुब्बा श्रेष्ठ पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेकी थिइन् । उनको विवाह धरान ७ का ध्रुवलाल श्रेष्ठसँग विवाह भएको थियो । २०४८ सालको आमनिर्वाचनमा सुनसरी क्षेत्र नं २ बाट चुनाव लडेकी उनी विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । २०५१ सालको मध्यावधी निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट सांसदमा चुनिएकी नेतृ श्रेष्ठ उपसभामुख भइन् । उनी नेपालकै पहिलो महिला उपसभामुख हुन् । नेतृ श्रेष्ठको २०६७ असार २७ गते निधन भएको थियो ।
उनको निधन पछि तत्कालिन एमाले अध्यक्ष तारा सुब्बाको अध्यक्षतामा २०७० सालमा लिला श्रेष्ठ स्मृति प्रतिष्ठान स्थापना भएको थियो । मेयरमा निवार्चित सुब्बाको पनि निधन भइसकेको छ । अहिले प्रतिष्ठानको अध्यक्षमा एमाले नेतृ वेणु काफ्ले छिन् । उनकै कार्यकालमा अहिले धरान ७ मा लिला श्रेष्ठ सुब्बा स्मृति प्रतिष्ठानको भवन निर्माण भइरहेको छ ।
यो भवन निर्माणको लागि स्वर्गीय श्रेष्ठको श्रीमान् तथा परिवारले करिब ७ धुर जमिन उपलब्ध गराएका छन् । सोही जमिनमा २ तले पक्की भवन निर्माणको अन्तिम चरणमा छ । तेस्रो तलमा ट्रष्ट निर्माण गर्ने र शौचालयलाई अझै व्यवस्थित बनाउने प्रतिष्ठानकी अध्यक्ष काफ्लेले बताइन् । उनका अनुसार गत आर्थिक बर्ष र यो बर्ष गरेर कुल ३० लाख ८० हजार ४ सय ९२ रुपैया भवनमा खर्च भएको छ । गत बर्ष प्रदेश सांसद सावित्री श्रेष्ठको बोषबाट ५ लाख, वडा नं ७ बाट ३ लाख, वडा नं ८ बाट १ लाख र नगरपालिकाबाट ५ लाख बजेट विनियोजन भएको थियो ।
यस्तै, यो बर्ष नगरपालिकाबाट ५ लाख, वडा नं ७ बाट २ लाख, वडा १५ बाट १ लाख र वडा नं ८ बाट ५० हजार बजेट विनियोजन भएको थियो । भवन बनाउन उपभोक्ताबाट ६ लाख ३८ हजार ५ सय सहभागी गराउनुपर्नेमा रकम उठाउन सकस भइरहेको अध्यक्ष काफ्लेले जानकारी दिइन् । उनका अनुसार अझै साढे ५ लाख भन्दा बढी निर्माण समितिलाई ऋण नै रहेको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष काजी गिरीले विभिन्न निकायबाट प्राप्त भएको बजेटलाई भवन निर्माणमा सदुपयोग गरेको बताए । ‘भवन अझै पुर्णरुपमा निर्माण सम्पन्न भइसकेको छैन, आउदो बर्ष पाउने बजेटबाट थप निर्माण गछौं,’उनले भने,‘जे जेति बजेट पाएका छौं, त्यसलाई सहीरुपमा निर्माण कार्यमा लगाएका छौं, कसैलाई शंका भए विल भौचर नगरपालिकामा गएर हेर्न सक्नुहुन्छ ।’ सोही कार्यक्रममा एक व्यक्तिलाई आर्थिक सहयोग पनि गरिएको थियो ।