धरान: सर्वोच्च अदालतको संवैधानिक इजलाशले दोस्रो पटक संसद विघटनको निर्णय वदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि सत्तारुढ दल एमालेको जनवर्गीय संगठनहरुले देशव्यापीरुपमा विरोध प्रर्दशन गरेको छ ।

नेकपा एमालेसम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले धरानमा पनि सर्वोच्चको उक्त फैसलाको विरोधमा सोमबार साँझ प्रर्दशन गरेको हो । छाताचोकबाट शुरु भएको र्याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य अर्जुन लिम्बुले सर्वोच्चको आदेश नमान्ने घोषणा गरे । 

borodh5

नेता लिम्बुले अदालतलाई गल्ती सच्याउन आग्रह गर्दै आफुहरु जनादेश मान्न तयार रहेको तर परमादेश नमान्ने बताए । ‘हामी अदालतको कदमविरुद्ध आन्दोलनमा उत्रिएको हो । जनादेश मान्न तयार छौं, तर परमादेश मान्दैनौं,’उनले भने,‘हामी न्यायलयको पक्षमा छौं, तर न्यायलयले सेटिंग गरेर बहुदलीय देशलाई निर्दलिय बनाउन खोज्छ भने न्यायलयलाई पनि ढुंगा हान्छौं ।’ उनले आदिकवि भानुभक्तले घाँसीको कुरा सुनेर कुवा खनेको उदाहरण दिदै जनताको कुरा सुन्नुपर्ने पनि बताए । 

birod1

क्युपेक नेपालका केन्द्रीय सचिव मुक्तिनाथ गिरीले पनि अदालतले नै सबै निर्णय गर्ने हो भने जनमत किन चाहियो भन्दै प्रश्न गरे । उनले अदालतको आदेशले जनतालाई घात भएको बताए । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अफाक अहमदले अदालतको आदेशले बहुदलिय प्रतिस्पर्धात्मक व्यवस्थालाई नै कमजोर बनाएको टिप्पणी गरे । उनले विदेशी चलखेल भएको भन्दै त्यसविरुद्ध युवाहरु देशव्यापीरुपमा आन्दोलनमा उत्रिएको बताए ।

birodh4