धरान: प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको विरोधमा राष्ट्रिय युवा संघले धरानमा राँके जुलुस गरेको छ भने प्रधानन्यायाधिशको पुत्ला दहन गरेको छ ।
संघको धरान उपमहानगर कमिटीले बुधबार साँझ धरानमा राँके जुलुस गरेको हो । जुलुसलाई प्रहरीले हस्तक्षेप गरेपनि ३ तिरबाट जुलुस निस्किएको कारण भानुचोकसम्म युवा संघका कार्यकर्ताहरु पुग्न सफल भएका थिए । छाताचोकस्थित एमाले पार्टी कार्यालयबाट एक समुहले जुलुस निकालेका थिए भने एउटा समुह सब्जीमण्डी र अर्को समुह घण्टाघर पछाडिबाट निस्केको थियो ।
युवाहरुले परमादेश र प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराविरुद्ध नाराबाजीसमेत गरे । भानुचोकमा राँके जुलुसमाथि प्रहरी हस्तक्षेप भएको थियो । तिन तिरबाट निस्केको जुलुसले प्रधानन्यायाधिश जबराको ३ वटा पुत्ला बोके पनि एउटा मात्र जलाउन सफल भएको संघका धरान अध्यक्ष भवानी दाहालले बताए । ‘जनमत विपरीत परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्ने जनघाती आदेश दिइएकोले विरोधमा राँके जुलुस र पुत्ला जलाइएको हो,’उनले भने ।