फूलको मानब सभ्यता सँग ठुलो नाता छ । अर्को शब्दमा भन्दा फूलको मानव जीवन संग प्रत्यक्ष सम्बन्ध छ । हरेक जसो दर्शन चाहे पुर्वीय होस वा पश्चिमेली दर्शन, फूलको उपस्थिति विना जीवन अपुरो नै मानिन्छ । हजारौ फूललाई हजारौ भावनाहरुको प्रतिकका रुपमा लिइन्छ । मानब समुदायले सदियौ देखि फूललाई आफ्नो भावना र संस्कृति दर्शाउन प्रयोग गरेको भेटिन्छ । आजको संसारमा सबै फूलहरु मध्ये रातो गुलाफ संसारमै लोकप्रिय छ । रातो गुलाब आर्कषणको प्रतीकको रुपमा लिइने भएकाले युवा युवतीमा प्रेम दर्शाउन रातो गुलाब लिने दिने प्रचलन लगभग संसार मै प्रचलित र सर्वमान्य भएको छ ।
फूललाई सामान्य जीवनमा मात्र होइन यसलाई प्राकृतिक चिकित्सा शास्त्रमा समेत प्रयोग गरिन्छ । फूलको रंग र वास्नालाई विभिन्न खालका रोगहरुको निदान तथा उपचारका लागि समेत प्रयोग गरिन्छ । आधुनिक युगमा फूलको रङ र वास्नालाई सौन्दर्य प्रसाधनहरुमा समेत प्रयाप्त प्रयोग गरिएको भेटिन्छ । अहिलेको दुनियामा मानिसको दिनचर्या एक हिसाबले फूल बाटै शुरु हुने र फूलबाटै अन्त हुने स्थिति भएको छ । फूलको चर्चा प्राय सबै मानब सभ्यता संग जोडिन्छ । सायद आजका सबै बैज्ञानिक आविष्कारहरु नभए पनि मानब सभ्यता अगाडि बढ्न सक्थ्यो होला । तर, प्रकृतिमा फूल नभएको भए मानब समुदाय यहाम्म आईपुग्दैनथ्यो होला । तसर्थ फूलले मानिसलाई आशावादी बनाइरहेको छ । फूलले नै मानिसलाई अगाडि बढ्न प्रेरित गरिरहेको छ । अझ यसो भन्दा पनि हुन्छ, फूलले मानब सभ्यतालाई अगाडि बढ्न उत्प्रेरित गरिरहेको छ । फूल विनाको संसारको परिकल्पना हुन गाह्रो छ ।
आ-आफ्नो मान्यता र सभ्यताको मान्यता अनुसार विभिन्न फूललाई विभिन्न कुराको प्रतीक मानिन्छ । याक्थुङ लिम्बु समाजमा पनि फूललाई हेर्ने आफ्नो फरक दृष्टिकोण छ । यो समुदायमा फूललाई हेर्ने दृष्किोण कस्तो छ ? अथवा फूललाई कसरी लिइन्छ ? यस बारे जानकारी लिन उत्सुकता पैदा हुनु स्वभाविकै हो । याक्थुङ लिम्बु समुदायमा फूललाई अत्यन्तै महत्वका साथ लिइएको देखिन्छ । यसको आदिम मान्यता बुझ्न प्रायः मुन्धुम र यसले निर्देशित गरेको सामुदायिक–सामाजिक जीवन दर्शनहरुलाई बुझ्न जरुरी छ । याक्थुङ लिम्बु समुदायमा फूललाई फरक स्थान दिईएको छ । यसलाई जीवनको रङ संग तुलना गरिएको भेटिन्छ । प्राकृतिक रुपमा रहेको फूल जस्तै मानिसको जीवन पनि सुन्दर हुनुपर्छ भन्ने मान्यता रहेको छ ।
जीवन फूल जस्तै झक्मकाउदो र आकर्षक हुनु पर्दछ । फूलले जीवनलाई सुन्दर तथा स्वास्थ्य बनाउने र आकर्षण पैदा गर्ने मान्यता मुन्धुममा छ । जीवनलाई कहिले ओइलनु दिनु हुन्न र सधै जीवनमा फूलको जस्तो आकर्षण पैदा गरिहन सक्नु पर्दछ भन्ने मान्यता छ । यसले याक्थुङ लिम्बु समुदायको सामाजिक जीवनमा फूलको गुण ग्रहण गर्ने (फुङवा चाङवा) संस्कारनै गर्नु पर्ने परम्परा रहेको छ । मुन्धुम अनुसार धेरै समय पहिले जब मानव बस्ती अत्यन्त कम थियो । दूई जना चेली माईतीले ‘तागेरा निवाफुमाले सल्लाह दिएपछि मुरिङला मैदानमा फूल रोप्ने ठाउ बाडफाड गरी फूलको बीउ छरे । बेंसी तिर चेलीले बीऊ छरिन भने लेकतिर माइतीले विऊ छरे । बेंसीतिर छरेको फूलको बिजन चाडै फूल्यो र भमरा, अरिङ्गाल, मौरी र पुतली ( लाप्चेरेप चेर्फेम्बा ) जस्ता किटपतङहरु र फूलको रस चुस्ने बल्छे चरो ( फुङ्वापित साम्फितलिङ् )हरु फूलको रसमा झुमिन लागे ।
यी सारा चराचुरुङी र किटपतङ्हरु बहिनीकै फूलबारीमा मात्र रमेर अल्मलिएको देखि फुङ्जिरि फुङलाङबाले ईष्र्या गर्दै रिसाएर बहिनी संग आ–आफ्ना फूलका बास्नाहरु जुधाउने प्रस्ताव राखे । माइती र चेलीका फूलबारीका वास्ना एक आपसमा जुध्दा बिषको गन्ध निस्कियो । विषको गन्धले माइती र चेली हप्तौसम्म बेहोस भए । उनीहरुको बेहोसीमा उनीहरुको फूलबारीहरु जंगलका जनावारहरुले सबै नष्ट गरिदिए । फूलबारी नष्ट भएपछि फूलको विषक्त गन्ध पनि हरायो । त्यसपछि मात्र उनीहरु बिउझिए । बिउझिएर हेर्दा आफ्नो फूलबारीको कुरुपता देखी सोधीखोजीको लागि तागेरा निङ्वाफुमाकोमा गए । तागेरा निङ्वाफुमामाङले तिमीहरुको फूलबारी कुरुपता संगसंगै तिमीहरुको जीवन फूल ( नेत्ती फुङ ) पनि ढलेकाले यी फूलहरु जगाउन सल्लाह दिए ।’ ( अर्जुनबाब माबोहाङ । लक्ष्मण मेन्याङबो लिम्बुवान )
यहीबाट फूङ्वा चाङ्वा ( फूलको गुण ग्रहण गर्ने ) संस्कारको मुन्धुम उठाउनु पर्ने मान्यता छ । यो मानब समुदायमा अत्यन्तै फरक खालको संस्कार हो । यसो गरेमा मानिसको आत्मास्वभीमान उठ्ने मान्यता याक्थुङ लिम्बु समुदायमा रहेको छ । यस्तै अर्को मुन्धुमलाई सन्दर्भ चर्चाको रुपमा प्रस्तुत गर्न सकिन्छ । अथवा फूलसंग सम्बन्धित आदि मुन्धुमी मिथकलाई लिन सकिन्छ । फुङ्बाक्को फुङ्लाङ्बा र साम्बाक्को साङ्लाङ्गाबाले विभिन्न गाउँ ठाउँमा फूल उमार्ने प्रयास गरे । विभिन्न चिसानयुक्त नदीका किनारहरुमा फूल उर्माने प्रयत्न गरे । तर भने जस्तो कही सफल भएनन । अन्तमा आएर अरुण र बरुण नदीको चिसानयुक्त किनारमा फूल उमार्न सफल भए । उक्त फूल यति सप्रियो कि यसले जमिनको चारैदिशा ढाक्यो ।
यो फुल्दा यसको वास्ना टाढा टाढा सम्म फैलियो । अन्ततः त्यहा फूलको रुखको टुप्पामा अत्यन्तै सुन्दर तरुनी देखा पर्न थालिन । उनी फूलहरु आफ्ना केशमा शिउरीएर गीत गाउथिन । फूलसंग लट्पटिएर खेल्निे गर्थिन । उनको सौन्दर्यताको सुवासका कारण दक्षिण दिशाबाट अत्यन्तै सुन्दर एक तरुण त्यहा पुगे । उनीहरु वीच एक आपसमा आर्कषण पैदा भयो । उनीहरुले बिहेबारी गरे । उनीहरुबाट अत्यन्तै सुन्दर फुङ्बाक्को फुङ्फाइप्मा, फुङ्बाक्को फुङ्यारिमा, फुङ्बाक्को फुङ्सिक्मा र फुङबाक्को फुङ्दिनामा नाम गरेका चार जना परीहरुको जन्म भयो । उनीहरुलाई बिहे गर्न चीन तिब्बत ( सिनयुक मुदेनका ) का मुदेनहाङले धेरै पटक प्रयास गरे । तर, उनीहरु फूल भित्र लुक्ने भएकाले उनले कहिल्यै भेट्न सकेनन । उनी परीहरुलाई जसरी पनि खोज्ने र जसका लागि आकाश जमीन एक बनाउने , चट्याङ पारी उनीहरुलाई फूलको रुख बाहिर निकाल्ने सम्मको आफ्नो घमण्ड राख्थे । तर यो उनको सपना मात्र साबित भयो । मुदेनहाङले उनीहरुलाई बिहे गर्न त टाढैको कुरा भेट्न सम्म सकेनन् । त्यसरी नै लाइक खम्बुहाङले तिनीहरुलाई बिहे गर्ने अनगिन्ती निरर्थक प्रयास गरे । अन्तत: उनको केही सिप नलागे पछि फुङबाक्को फुङ्लाङ्बालाई बञ्चरोले रुख ढाल्न लगाए ।
फूलको विशाल रुख ढल्दै गर्दा जहाबाट न्याउली चरी ( सेल्लोक्वा ) विरह पोख्दै बाहिर निस्किइन । रुखका भाचिएका हागाहरुबाट ढुकुर ( सुपेत्रुक ) हरु बाहिर निश्किए, थुप्रै झ्याउकिरी?(माङनेने ) किराहरु निस्किए । यस्तो भएपछि त्यहा धेरै चराहरु, पुतलीहरु आए । उनीहरु बाक्लो उपस्थितिका कारण चारैतिर अँध्यारो , दःख र उदासिनता फैलियो । यस्तो परिस्थितिबाट मुक्ति पाउन त्यहा माङजीरी माङज्याङबा र माङजीरी माङज्याङमा नाम गरेका अत्यन्तै स्वरधन भएका महिला र पुरुष गायक गायिका निस्किए । तर उनीहरु अरुको आँखी डाँही (नाहेन)का कारण धेरै समय बाँचेनन । अन्तमा चिल्लीमा पेसुम्मा याको आग्रह अनुग्रह र विन्ती पछि फूलको रुखको काटिएको टुक्राबाट केवा फुङबा माङदेनहाङबा निस्किए । उनीहरु युवा युवतीहरुको जीननको फूल गाउने साधक भए । रुखको एउटा हागा पानीमा झर्यो । यसलाई माझि ( याङजीजंगा )ले निकाल्यो । यसका हागाबाट अनगिन्ती संगीत बाध बादनहरु बनाइए । रुखका हागाहरु झर्ने क्रम संगै त्यहा येप्लिङ केम्बा र तोरिङ केम्बा जस्ता फुलका मालीहरु निस्किए । उनीहरु राम्रा गायक पनि थिए । रुखका हागाहरु झर्ने क्रम रोकिएन । रुखका हागाहरुले प्रथम युगल जोडीहरु फुङबाक्कोमा फुङखेम्याङमा र आबासो पातलहाङबा र फुङबाक्को फुङलाबा र साम्बाक्को साङलाङगाबा का बालबालिकाहरुलाई लाग्यो । उनीहरु दिनहु कमजोर हुदै विमार पर्न थाले । केवाफुबा, येप्लि केम्बा र तोरि केम्बाहरुले फूलका गीतहरु गाए । उनीहरु फेरी निको भए । यसरी विरामीलाई फूलको मुन्धुम गाएर निको पार्नु सकिन्छ भन्ने आदि विश्वास रहेको छ ।
मुन्धुममा फूलको चर्चा जताततै देखिन्छ । फरक फरक सन्दर्भमा फूललाई प्रयोग गरेको भेटिन्छ । यस्तै केसामी नाम्सामी मुन्धुमलाई लिन सकिन्छ । आदि समयमा ईप्नासो सरङ्थाङ्मा रफाक्सारा तिगेन्जोङ्बा चेली माइती बस्दथे । फाक्सारा लिजेन्जोङ्बाको काम जीवीकापार्जनका लागि तरुल, भ्याकुर खाज्ने र शिकार मारेर ल्याउने थियो । फाक्सारा जिगेन्जोङ्बाले अनेक प्रतिकुलता सहेर संकलन गरेका खाध्यान्न प्रति चेलीले कहिल्यै सन्तुष्टि जनाउदिन थिइन । कहिले कही सित्तैमा गाउमा बाड्दथिन । यसपछि माइतीले चेली (ईप्नासो सरङ्थाङ्मा ) लाई आफै खोजेर ल्याउन भनेका कारण उनी जंगल गइन । उनले अनेक प्रयास गर्दा पनि केही भेट्न सकिनन । मध्य दिनको घामले तीर्खाएर एउटा ढुंगाकोे खोपिल्टाको पानी पिइन । त्यसले तिर्खा नमेटिए पछि उनले दोस्रो खापिल्टाको पानी खाइन । उनले पानी भनी पिएको तरल पदार्थ पानी नभएर पहिलो खोपिल्टाको पानी जंगलको बाघको पिसाब र दास्रो खोपिल्टाको पानी आफ्नो माइतीले फेरेको पिसाब भएकाले उनको गर्भ बस्यो । उनले एउटा बाघ रुपी बच्चा र अर्को मानबरुपी बच्चा जन्माइन ।
उनले उनीहरुको नाम केसामी ( बाघको आत्मा भएको ) र मानबरुपी बच्चाको नाम घाम जस्तै तेजिलो अनुहार भएकाले नामसामी ( घामको जस्तो आत्मा भएको ) राखिन । यिनीहरु ठुलो हुदै गए । उनीहरु जहा खेल्दै हुर्किए त्यस ठाउलाई आज केसा:लुङ नाम्सा:लुङ नामले चिनिन्छ । जब यिनीहरु ठुला हुदै गए । उनीहरुमा पुर्ण रुपमा विपरीत गुणको विकास भयो । केसामीले नाम्सामी प्रति खराब दृष्टिकोणले हेर्न थाल्यो । यिनीहरुले शिकार मारेर ल्याएको सबै शिकार केसामीले एक्लै खान खोज्थ्यो । अझ भाईलाई समेत मार्न खोज्दथ्यो । दाजुको यस्तो सोच देखेर भाई भागी लुकी हिड्न पर्दथ्यो । नाम्सामीको धैर्यता तोडिएपछि उनीहरुको द्धन्द्ध निर्णायक मोड पुग्यो । नाम्सामीले आफ्नो प्रतिकात्मक रुप सेक्मुरी फूङ ( सिल्लरी फूल ) र केसामीको लागि प्रतिकात्मक रुपमा बाबरी फूल ( अन्दङ फुङ ) राखी आमालाई सेक्मुरी फूल ओइलाए आफु मरेको सम्झन र अन्दङ फूल ओइलाए केसामी मरेको मान्न भन्दै आफु युद्ध गर्न दक्षिणतिरको सिमलको रुखमा पर्खिरहेको भन्न आग्रह गर्दै उनी सिमलको रुखतिर लागे । केसामी आए पछि सधै उल्टो बताउने आमाले सिधा बताइन । केसामी पनि भाईलाई मार्न तम्सिए ।
सिमलको रुखमा दाजु भाईको घमसान युद्ध भयो । सिमलको रुखबाट नाम्सामीले केसामीलाई धर्नुबाणले निसाना लगाउदै हाने । तर केसामीले नाम्सामीले हानेका सातवटा तीरहरुले केही क्षति भएन । केसामी भाई नाम्सामीको नजिक पुगे । यता आमाले रुगेका पूुलहरुमा बाबरी फूल जग्मगाएर आयो भने सिल्लीरी फुल ओइलाउदै गयो । नाम्सामी संग अन्तिम बिषयुक्त एक बाण मात्र रहदा उसले जुक्ति लायो । केसामीलाई उनले भने म हारें । मलाई अब खानुहोस । मुख आ गरी खोल्नुहोस । म मुखमा उफ्रेर पस्छु । भाईको कुरा सुन्दै केसामीले आफ्नो मुख खोले । यति बेला आफुसंग रहेको अन्तिम बिषयुक्त बाणले केसामीको मुखमा हानि सिमलको रुखबाट भुइमा झारे । केसामीको मृत्यु भयो । यता सेक्मुरी फुङ जग्मगाएर आयो । अन्दङ फुङ ओेइलाएर गयो । यो मुन्धुम अनुसार पनि फूललाई जीवन संग तुलना गरेको भेटिन्छ । फूल जीवन जस्तै हुन्छ । जीवन फूल जस्तै हुनु पर्छ भन्ने मान्यता र दृष्टिकोण यस मुन्धुममा पाइन्छ । अर्थात आफ्नो प्रतिकात्मक फूलको अवस्था खराब भएमा जीवन पनि खराव अवस्थामा हुने। आफ्नो प्रतिकात्मक फूल सही अवस्थामा रहेमा जीवन पनि त्यही अवस्थामा हुने देखाइएको छ ।
अन्तमा सेक्मुरी फुङ बाचेकाले सेक्मुरी फुङलाई याक्थुङ लिम्बु समुदायले जीवनको प्रतिकका रुपमा मान्दछन । बाबरी फूललाई बाघको फूलको रुपमा मानिन्छ । फूललाई जीवनको प्रतिकका रुपमा याक्थुङ लिम्बु समुदायले माने पनि चेली माइती बीच भने फूल साटासाट गर्न नहुने मान्यता छ । यसले अशुभ हुने मुन्धुमहरु धेरै रहेका छन । जसमध्ये पाजाईबा तेन्धुम्याङ्बा र इरेरे इधुकनामा (इबोक्को इदिहाङ्मा ) माइती र चेली बीचको फूलको कारण उत्पन्न दुःखद परिणामको बारेको मुन्धुम सन्दर्भ प्रस्तुत गर्न सकिन्छ ।
आदि समयमा पाजाईबा तेन्धुम्याङ्बा र इरेरे इधुकनामा (इबोक्को इदिहाङ्मा ) नाम गरेका माइती र चेली संगै बस्दथे । इरेरे इधुकनामा (इबोक्को इदिहाङ्मा ) को बिहे थिङ्गेङ्सो चा:इतहाङ संग भयो । पाजाइवा तेन्धुम्याङ्बाको वरुप्ली वदङ्नामा ( लुप्लिसो वदङ्नामा) संग बिहे भयो । पाजाइवा तेन्धुम्याङ्बा र वरुप्ली वदङ्नामा बाट एउटा इ?केराङ ताकेराङ नाम गरेका छोराको जन्म भयो । उनीहरु बच्चा फुपुलाई हेर्न लगाएर मेला पात गर्न जान्थे । एक दिन मेला पातको बीचमा बच्चालाई दुध खुवाउन वरुप्ली वदङ्नामा घरमा आइन । उनी घरमा आउदा उनले इरेरे इधुकनामाले नानीलाई पाजाईबा तेन्धुम्याङ्बा संग विहे हुन नसकेका तरुनीहरुले इश्र्या गरी सिकाएका गलत बचनहरु ‘बाबु आमा थाह नभएको बच्चा, खम्बामा मासु काट्ने मान्छेको बच्चा, बाघले खान नसकेको बच्चा, भालुले खान नसकेको बच्चा ’ भन्दै खुट्टाले कोक्रो हल्लाई रहेको देखिन । यो कुरा वरुप्ली वदङ्नामाले उनका श्रीमानलाई सबै कुरा सुनाइन ।
एक दिन मेलाबाट घर आउदा पाजाईवा तेन्धुम्याङ्बाले साँचिकै इरेरे इधुक्नामा (इबोक्को इदिहाङ्मा )ले नानीलाई खुट्टाले हल्लाइरहेको देखे । उनले रिसको झोकमा चेलीलाई काट्न तम्सिए । तर वरुप्ली वदङ्नामाले यसो गर्न नहुने बरु मन्त्र गरी फूलले हान्न सल्लाह दिइन । एक दिन वरुप्ली वदङ्नामाको सल्लाह अनुसार पाजाईवा तेन्धुम्याङ्बाले बिभिन्न ठाउँबाट फूल लिएर आउदै थिए । दाजुको हातमा सुन्दर फूलहरु देखेर इरेरे इधुकनामा (इबोक्को इदिहाङ्मा ) ले मागिन । पाजाईवा तेन्धुम्याङ्बाले रिसको झोकमा इरेरे इधुकनामाको छातीमा लाग्ने गरी फूलको गुच्छा हुत्याए । फूलमा भएको काँडाले इरेरे इधुकनामा (इबोक्को इदिहाङ्मा )को स्तनमा खिल्यो । उनी दिन दिनै सारो माथि सारो बिरामी हुदै गईन । उनले अनेक जोखना हेराइन । त्यो समयमा मानिसहरु पशुपंक्षी, जीवजन्तुसंग कुरा गर्दथे । लाटोकोसेरोलाई जोखना हेराउदा उनले तिम्रो नेत्ती फुङ ढलेकाले त्यसलाई जगाउनु पर्ने सल्लाह दिदै गर्दा पाईजाबा तेन्धुम्याङ्बाले आफ्नो षडयन्त्र खोलिने डरले उनको खुकुरीले टाउको काटिदिए । तन्त्रमन्त्र जगाएर उनी आफ्नो टाउको गाँसेर भागे । इरेरे इधुकनामा (इबोक्को इदिहाङ्मा ) निरन्तर सिकिस्त बिमार हुदै गईन । उनले आफु निको हुन अरुलाई पनि जोखना हेर्न लगाए । तर पाजाईबा तेन्धुम्याङ्बाले उनको पुर्ण उपचार हुन दिएनन । अन्तमा उनको नवौ दिनमा मृत्यु भयो ।
यस कारण याक्थुङ लिम्बु समुदायमा चेली माइती बीच फूल साटासाट गर्न नहुने मान्यता विकास भएको मुन्धुम रहेको छ । त्यस्तै अर्को वागोङमा मुन्धुमको प्रसंग ल्याउन सान्दर्भीक रहेको छ । ‘आदि कालमा दाजु बहिनी थिए: चेली माइती । चेलीलाई फूल मन पर्यो । दाजुलाई बिन्ति गरेर फूल टिपी मागी ≤ सेम्फुङ, पाङ्फोक फुङ खोज्दै उत्तर हिमाल भेकका लेक लेक माइती गयो । लेकको अप्ठेरो भीरमा चढेर फूल खोज्दा लडेर तम्मर नदीको बेगवान धारमा परेर बग्यो । माइतीको यसरी भएको अकाल मृत्युले विहल भएकी चेली खोलाका किनारै किनार बगेको माइतीको लास पछ्याएर हिडी । रुदै , विलाप गर्दै तम्मर नदीको किनारै किनार दक्खिन लागी । खोलाले बगाएको माइतीको लास नदेख्दा अनेक तर्कना, जोखना र लच्छिन हेर्दै रुदै खोज्दै हिडीरही । यसरी तम्मर नदीको किनार हिड्दा झर्दा झर्दा सेरेक सुरुङ्मा भन्ने पवित्र स्थलमा पुगेर माइतीको लास भेटी । ’ ( बैराज्ञी काइला: साप्पोक चोमेन मुन्धुम )
यी दुइ मुन्धुमले चेली माइतीमा जीवनमा फूल साटासाट गर्न नहुने । साटेमा अशुभ हुने कुरा दर्शाएको छ । यस्तो चेली माइती बीच फूल विनिमय गर्न नहुने मान्यता सायद एक फरक मान्यता हो । मृत्य भएपछि भने चेलीले मृत माईतीको शरिरलाई अनेक रंगी बिरंगी फूलले सजाएको मुन्धुम छ । यसकै आधारमा चेलीले मृत माइतीलाई र माइतीले मृत चेलीलाई भने फुल चढाउन मिल्ने मान्यता र अभ्यास रहेको छ । यसमा वागोङमा मुन्धुममा आफ्नो माइतीले आफ्ना लागि फूल खोज्दा खोज्दै ज्यान गुमाएको र उनको मृत्यु पछि उनको मृत शरिरलाई फूलले सि गारेको मुन्धुम रहेको छ ।
याक्थुङ लिम्बु समुदायमा आफ्नो सबैभन्दा बलियो सहयोगी र सर्मथक आफ्नो चेलीलाई मानिन्छ । आफ्नो शिर ढलेमा माङगेना गर्ने चलन छ । यसको एक अर्थ आफुले पुन चेलीको साथ सहयोग प्राप्त गर्दै आत्माविश्वास आर्जन गर्नू पनि हो । त्यसैले माइतीले चेलीलाई सधै पवित्र दृष्टिले हेर्ने गरिन्छ । यसका लागि चेली माइतीलाई भेट्न आईरहन्छिन । माइतीले पनि चेलीलाई सकेको सहयोग गरिरहन्छन । यो एक पवित्र सम्वन्धको रुपमा मानिन्छ । यसका लागि फूलको उपस्थितिको कुनै आवश्याकता पर्दैन भन्ने मान्यता रहेको छ । याक्थुङ लिम्बु समुदायको सबैभन्दा ठुलो संस्कार तङसिङ हो । यसमा फूलको गुण ग्रहण गर्ने अनुष्ठान फुङवा चाङबा सम्पन्न गर्नु पर्दछ । जस भित्र फूल संकलन गर्ने ( फुङ सुम्मा ), फूल छुट्याउने ( फुङ सेम्मा ) , फूलको गुण ग्रहण गर्ने ( फुङवा चाङवा ) जस्ता अनुष्ठानहरु सम्पन्न गर्नु पर्दछ । यसको मतलव सबै प्राणी, प्रकृतिको आफ्नो आफ्नो फूल हुन्छ । यसमा मिसावट हुनु हुदैन । यसलाई छुट्याउनु पर्दछ । जीवनका लागि सही फूल मात्र ग्रहण गर्नु पर्ने मान्यता छ ।
जस्तो सेक्मुरी फूललाई जीवनको प्रतिक, लाहुरे फूल ( माहाङमा फुङ) र मारोती फुङ विभिन्न देवी देवता र मानब जीवनको फूल, कुनुरी फुङ बेदी ( साङभे)को फूल, मिक्तिके फुङ देवी देवताको फूल, पाङबोती कुनाता फुङ र सेलेरे सेक्मुरी फूल विभिन्न देवी देवताको फूल, बावरी फूल (अन्दङ फुङ ) बाघको फूल, सुर्यमुखी फूल ( लातोक नाम्तोक फुङ ) घामको फूल, जीमिओ लामीयो फुङ ताराहरुको ,खोदिना लेम्पेना फुङ मुल मुहान पानीको , सिङजागो बेत्जागो फुङ पहाड पर्वतको, साङगोपी लिङ्गोपी भीर पहराको, र याक्चीरी याक्कावा फुङ बन जंगलको फुलको रुपमा लिइन्छ । यस्तो विश्वास पनि एक अनुपम नै हो ।
फूलले मानिसलाई मात्र होइन प्रकृति विभिन्न पक्षलाई समेत सुहाउनु पर्ने मान्यता रहेका छ । मानब जीवन सुन्दर हुनको लागि उसले प्रकृतिमा विताउने पहाड पर्वत, डाडा पाखा भञ्ज्याङ , बन जंगल, भीर पहरा पखेरा, तारा ,घाम, जुन, पनि फूल युक्त हुनु पर्ने विश्वास रहेको छ । यो समुदायमा पुजारीको काम गर्ने फेदाङ्मा, साम्बा, तथा येबा । येमाहरुले बर्षमा एकपटक फुङसो(त) तेसिङ्मा अनुष्ठान गर्दछन । यसलाई सामान्य नेपाली भाषामा गुरुपुजा भनिन्छ । यसमा पनि फूलको प्रयाप्त प्रयोग गरिन्छ । ठाडो भाषामा उनीहरुले पनि आफ्नो मुलगुरु सामेथुङ येप्मेथुङको पुजा गर्दै फूलकै गुण ग्रहण गर्ने हो । उनीहरु फुङ भन्नाले फूल सोत भन्नाले चल्नु, खेल्नु, खेलाउनु भन्ने अर्थ लाग्दछ । उनीहरुले यो अनुष्ठान गरेपछि शक्ति, आत्मासम्मान, तागत, गरिमा प्राप्त गर्दछन । साचो अर्थमा भन्ने हो भने यो समुदायमा फूललाई एक फरक महत्व दिइएको छ ।
प्राकृतिक रुपमा फूलको अभाव भएमा कृतिम रुपमा घुङरिङलाई खिपेर पुष्पाकार बनाउन सकिने । तर यस्तो फूलाकृति सामाजिक दैनिक जीवनमा भन्दा माङ, साम्माङहरुलाई आर्कषण गर्न, मन्साउन अस्थाई बेदीमा प्रयोगमा ल्याउने प्रचलन छ । दैनिक युमाको पुजा उपसना गर्दा फूल भए राम्रो हुने मानिएको छ । फूल नभएमा सामान्य फूलको सट्टा पातीहरु चढाएर चोखो मनले पुजा गर्न सकिने परम्परा छ । यसरी पुजा आजा गर्दा देवी, देउता, माङ, साम्माङ लाई रातो रंङको फूल चढाउन नहुने विश्वास छ । रातो रंङको फूललाई जीवन रंङको प्रतिक मानिने भएकाले यसलाई सुरक्षित राख्नु पर्ने, कुनै अलौकिक शक्तिलाई चढाउन नहुने मानिन्छ । यस्तो भएमा अशुभ हुने समेत विश्वास गरिएको छ । माङ, साम्माङलाई प्राय सेतो रंगको फुल चढाउनु पर्ने मान्यता छ । याक्थुङ लिम्बु समुदायमा सेतो रंगको फूललाई शुद्धता र पवित्रताको प्रतीकको रुपमा लिइन्छ ।