चुम्लुङ धरानका पूर्व अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङ दाइले एकाबिहानै फोटो पोष्ट्याएछन् । यता मध्यरातको ३ बजे आँखा खुल्यो । उता धरानमा बिहानको नौ बजेछ । पाँच दिने चासोक तङ्नाम साँस्कृतिक उत्सवको पहिलो दिनको फोटो देखेसी केही कुराको याद आयो । शनिबार मात्रै बेलायतमा हामी चुम्लुङकर्मीहरूले यो वर्षको चासोक तङ्नामलाई मनायौँ । कोरोनाको पछिल्लो प्रकार ओमनी भेरिएन्टलाई 'हल्का अवज्ञा' गर्दै डब्बल डोज र बुस्टर लाएकाहरू भेला भएर याक्थुङ सँस्कृतिको तिर्सना मेट्यौँ । कतिपय ठाउँमा कार्यक्रम स्थगन हुँदा बेलायतको याक्थुङहरूको राजधानी आसफोर्डमा भने चासोक थिसोक पूजा गरेर गाउँ घरमा कात्तिकतिर अन्न थन्क्याउने र युमामाङलाई चढाउने परम्परालाई यस वर्ष पनि धान्यौँ ।
▪️▪️▪️
प्रसङ्ग फेरि फोटोकै हो । सम्भवतः पचासको दशकसम्म चासोक तङ्नाम स्थापित भइसकेको थिएन । याक्थुङ लिम्बुहरूले धर्मका बारे जस्तै पर्वको विषयमा पनि ठोस धारणा ल्याएका थिएनन् । किरात याक्थुङ चुम्लुङले संस्थागत रूपमा चाडपर्वलाई मनाउने कामको सुरुवात गरे । एक ठाउँ याक्थुङहरूको मौलिक पर्व 'माङहुक्वा' भनेर वीर नेम्वाङ दाजुले किताब पनि लेखे । न्वागी या चासोक थिसोक/चासोक भनेर कर्मकाण्डमा सीमित संस्कारले हिन्दू पर्वहरूको चपेटामा परेका आदिवासी याक्थुङ समुदायमा चासोक, कक्फेक्वा, सिसेक्पा, यक्वा तङ्नामहरूले वैकल्पिक चाड या आफ्नो मौलिक चाडपर्व खोज्ने, मनाउने बानी गरायो । मूल कुरा साँस्कृतिक विरासत जीवित राख्नु थियो । अहिले चाडपर्वको नाम, विधि, प्रक्रिया, समयमा केही कुराहरू उठेका छन् । बहस उठेका छन् । तर, एउटा कुरा के हो भने बितेको डेढ दशकमा चासोक तङ्नाम 'ब्रान्ड' भएको छ। लिम्बुवान, उपत्यका हुँदै करिब तीन दर्जन मुलुकहरूमा यो चाड पुगेको छ । सुक्खिममा विगत छ वर्षदेखि लिम्बुवानकै प्रभावले तङ्नामले उत्सवका रूपमा ठाउँ पाएको छ ।
▪️▪️▪️
धरान याक्थुङहरूको घना वस्ती भएको नगर हो । प्राचीन तहसिल राजधानी विजयपुरको मुनि लमतन्न परेको धरानमा चुम्लुङले आफूलाई चासोक तङ्नाममार्फत् पनि परिचित गराएको छ । धरान-१९ को किरातेश्वर माविको चौरबाट सुरु भएको तङ्नाम २०६१ पछि धरान-१५ मा साढे तीन कठ्ठाको चुम्लुङ हिमको जग्गा खडा भएपछि स्थानान्तरण भएको हो । सुरु सुरुमा खाली चौरमा दुःख सुख केही याक्थुङहरूले चाड मनाए । चुम्लुङ केन्द्र, सुनसरी जिल्ला र धरान नगर समितिसँगसँगै कियाचु लिम्बु साँस्कृतिक परिषदले मिलेर चाड मनाउने परम्पराको सुरुवात गरे । चाडले नयाँ पुस्तालाई तान्यो । गैरलिम्बु समुदाय पनि चुम्लुङ, चासोक भनेपछि आत्मीयता साट्न आउँथे । सम्भवतः आइरहेकै होलान् ।
▪️▪️▪️
सुरु सुरुमा चासोक तङ्नाम सात दिन लाग्थ्यो । पछि पाँच दिने कार्यक्रममा गएपछि अहिले फर्म्याटमै चलिरहेको छ । विजयपुर दरबार परिसर परिक्रमा गर्ने, तीनकुनेमा रहेको सिरिजङ्गाको शालिकमा गएर माल्यार्पण र सरसफाइ गर्ने, त्यहीँ दिन चुम्लुङ हिममा पुगेपछि फेजुक्कुम फेदाङ्मा, सावाला साम्बा लाएर चासोक पूजा गर्ने । राति चमेन तङ्सिङ, थिक् येन् तङ्सिङ राख्ने । दोस्रो दिन साँस्कृतिक खेलहरू पक्लुङ लेप्मा, थाक्थाक्मा, लि तोङ आप्मा, हक्चुङ लाङ्मा आदि आयोजना गर्ने । अर्को दिन बृहत् केलाङ प्रतियोगिता गर्ने । चौथो दिन आदिवासी जनजाति समुदायहरूको साँस्कृतिक झाँकी प्रदर्शन गर्ने । र, अन्तिममा विधिवत रूपमा समापन गर्ने । यो तालिका आज पनि उस्तै छ । बेलुकी पख साँस्कृतिक नाचगान त छँदैछ । याक्थुङ सँस्कृति र लिम्बुवानका ऐतिहासिक थातथलो र स्थलहरूको झल्को दिने फोटो प्रदर्शनी पनि हुने गर्थ्यो । धरानकै चुम्लुङकर्मी हुँदा केही केही साल याक्थुङ नाटक प्रदर्शनी, याक्थुङ कविता प्रतियोगिता पनि आयोजना गर्यौँ । सिरिजङ्गा थेवेको कृतित्व र व्यक्तित्वबारे संवाद चलायौँ । एकपटक चाडमा प्रकट हुने साँस्कृतिक चेतना र उत्साहलाई राजनीतिक चेतमा परिवर्तन गर्न भनेर लिम्बुवान, संविधान र पहिचानउपर प्यानल बहस पनि गरायौं । तर, यारुलाङ, केलाङ, पास्लाम, हाक्पारे, ख्याली, साम्लो र नाचगान हेर्न सुन्न आउनेहरूले बौद्धिक गफभन्दा वर्षदिनको तलतल मेट्नमै आफूलाई अगाडि सारेपछि यी कार्यक्रमहरू हुन छाडे ।
▪️▪️▪️
चासोकले पछिल्लो समय साँस्कृतिक जागरण ल्याएकै हो । कम्तीमा उत्तरआधुनिक सहरमा हुर्किएका पुस्ताले आफ्नो पहिरनलाई माया गर्न थाले । अहिले सिलाम साक्मा र ढाकाको पहिरन विश्व स्तरमा स्थापित भएका छन् । मेक्खिम, माङ्गेन्ना येन् जस्ता साँस्कृतिक अवसरदेखि राजनीतिक र आदिवासी जनजातिकेन्द्रित कार्यक्रमहरूमा आफ्नो जातीय (राष्ट्रिय) पहिरनमा ठाटिने जमात बढेको छ । साम्याङफुङ, नेस्से, कण्ठा, शिरबन्दी, चन्द्रहारमा सजिने तरुण युवतीदेखि पाका उमेरसम्म छन् । याक्थुङ भाषाका केही शब्दहरूसँग साक्षात्कार हुने अवसर पाएका छन् । यी सबै कुरा जातीय सङ्गठनका कारण सम्भव भएको हो । अब सबैभन्दा जटिलचाहिँ भाषाको उन्नयन र विस्तार नै हो । अबको २० वर्षपछि याक्थुङ भाषा बोल्ने वक्ता सङ्ख्या के हुन्छ ? मौलिक संस्कार संस्कृति कहाँ पुग्छ ? कति मात्रामा शुद्ध रूपमा सञ्चालित हुन्छ ? के कसरी परिवर्तित या संशोधित स्वरूपमा देखा पर्छ ? चुनौतीहरू हिँड्ने बाटाभरि छन् ।
▪️▪️▪️
सुवास दाजुको फोटोले केही क्षण धरानमा पुर्यायो । धेरै गाढा क्षणहरू छन् । अनगिन्ती साथीहरू सम्झाएका छन् । आज केही साथीहरू छैनन् । केही अग्रज स्वर्गीय भइसकेका छन् । बाबु छोरा बराबर हिँड्ने गजेन्द्र इस्वो मामालाई पोहोर गुमायौँ । चुम्लुङ हिम बनाउनमा उनको योगदान अतुलनीय छ । मछामरा डाँडाको गोरखा स्मृति पार्क, घण्टाघरपछाडिको गोरखा कम्प्लेक्स बनाउनमा इस्वोले ज्यान खियाए । भूपू सैनिक इस्वो चुम्लुङका केन्द्रीय सचिव हुँदै सल्लाहकारसम्म भए । अर्का थिए स्व. चन्द्र बहादुर थक्लुङ । पुरानो र आवाज निकालिरहने भटभटे पछाडि बसेर धरानलाई धेरै फन्को मारेका छौँ । उनले पनि चुम्लुङ सुनसरी अध्यक्ष भएर चुम्लुङलाई धेरैले रुङे । स्व. भरत तुङघङ दाजु त बितेको सपना जस्तो लाग्छ । एकपटक चासोकमै होस्ताङ हुने गरी डेढ बोत्तल रम, दुई सेर तङ्वा, दुई बोत्तल रेड वाइन, चार बटुका थिः(जाँड), २८ गिलास सेजङ्वा धोकेपछि तङ्सिङ बस्दै गरेको ठाउँमा साम्बासँगै फनफनी घुमेर नाच्दा तुङघङ दाजु गललल हाँसे । भोलिपल्ट ब्युँझिएर दाजुलाई देखेपछि म हाँसे । चुम्लुङ रङ्ने चौकीदार पनि दुई वर्षअघि बिते ।
▪️▪️▪️
सुवासचन्द्र दाजुले एकपटक पर्खाल नाघ्दै गर्दा समातेको याद आइरहेको छ । तिलविक्रम योङहाङ काकाले स्टेज छेउमै लगेर नचाएको पनि सम्झना छ । कानको जाली फुट्ने साउन्ड बक्सअगाडि नाच्दा नाच्दा गलेर सबै हत्तु । अहिलेका नगर सचिव जयकुमार सम्बाहाङ्फे, पहिलेका सचिव सन्तोष कुरुम्वाङ, अझ अगाडिको सहसचिव हितराम तिल्लिङ सँगै भेटेको र हिँडेको दिन नै हुन्थेन । मुक्साम लाओती जापान लाग्नुअघि पनि चुम्लुङमै भेटिन्थे । लिम्बु विद्यार्थी मञ्चका धेरै साथीहरू र अनुजहरूको अनुहार अझै मानसपटलमा छन् । पत्रकार हर्ष दाजु, नरप्रसाद कुङ्वा, कमल दाजुसँग चुम्लुङका कुरा हुन्थे । आइत खजुम दाजु, देवेन्द्र थेगिम दाजु, महेश्वर हुक्पा चोङवाङ, कालिका(कुमार) हुक्पा चोङवाङ, सन्तोष थेगिमसँग च्याब्रुङका कुरा । अहिलेका मेयर अर्जुन माबुहाङ, तुङघङ दाजुसँग मुन्धुमका । दुर्गामाया लिम्बु, चन्द्रमाया मावो, सङ्गीता सुब्बा, पद्मा सिङ्गक उस्तै गरी खटिरहेछन् । धेरै मान्छेहरू बाहिर छन् । नयाँ अनुहार थपिएका छन् । चित्र थापा मगर, भवानी बराल दाजु पनि याक्थुङभन्दा कम थिएनन् र छैनन् । तरेमाहरूले दिमागलाई नसताउने कुरै भएन । जेहोस् चासोक छुटेका मान्छेहरू भेटाउने थलो थियोे । वर्षदिन अमिलो निगारजस्तै मन बनाएकाहरू चासोक सकिँदासम्म गुलियो जाँड भइसक्थे । सायद चाडपर्वको शक्ति सामर्थ्य यहीँ हो ।
▪️▪️▪️
अब बाँसको ढुङ्ग्रोमा तङ्वा तान्नु, दुना र बोहोतामा सार्ग्याङ्मा, फिलुङ्गेको अचार, टपरीमा चाम्रे र सेल चाख्नु, सानू गिलासमा सेजङ्वा स्वाट्टै पार्दाका ती न्याना दिनहरूको स्मरण भए । दाजुले फोटो राखेर गर्नु गरे । परदेशमा हुनेहरूलाई गाह्रो बनाए ।
चासोकै तङ्नाम आदुमेल्ले
थिः नु सेजङ्वा चादुमेल्ले
च्याब्रुङमा घन्क्यो तालैपिच्छे
मन न्यास्रो हुन्छ सालैपिच्छे
सेक्मुरी फुल्यो डाँडैभरि
सम्झना तीखो काँडैसरि
लुङ्मा ग पहिम् हिप्सेबारो
आल्ल ग पाःनिन् चुरेबारो
◾️◾️◾️
१९ डिसेम्बर, २०२१
बेलायत