देशी लाइनका युवा अगुवा सुधिरसिंह लिम्बु जीले अचानक म्यासेञ्जरमा सेण्ड गर्नुभएको २८ वर्ष पुरानो मेरो हस्तलिखित पत्र हेरेपछि पुराना दिनहरुको सम्झना आयो । प्रेमसिंह लिम्बु, धरानको शहरी विकास र सामाजिक सेवाका शुरुआती दिनका अगुवा । पुरानो बजारपछि धरानको बजार विस्तार भएको क्षेत्र देशी लाइन भारतीय सेनाका लाहुरेहरुको बसोबास भएपछि बजारको रुपमा विकासीत भएको हो । त्यहाँका अगुवा मध्येका थिए, प्रेमसिंह सा’ब ।

पछिल्लो कालखण्डमा प्रेमसिंह सा’ब धरानको सामाजिक सेवाको क्षेत्रमा एक अगुवाको रुपमा चिनिए । रेडक्रस सोसाइटीमा पटक पटक मन्त्री बने । धरानका दिदी सरला कायस्थ अध्यक्षको टिममा प्रेमसिंह सा’ब, कोषाध्यक्ष गणपतलाल अग्रवाल रेडक्रस हुँदै समाज सेवाको बाटो देखाउने इतिहासका पात्र हुन् । धरानको सामाजिक सेवाको क्षेत्रमा नेतृत्व गरेका जनजाति भूपु सैनिकहरुका इतिहासमा उहाँ अगुवा थिए ।

धरानको समाजिक अगुवा रहँदै उहाँले आफ्नो समुदायको भाषा, संस्कृति, संस्कारको संरक्षणका लागि उतिकै योगदान दिए । प्रेमसिंह लिम्बु किरात याक्थुङ चुम्लुङको सुनसरी जिल्ला संस्थापक सभापति हुन् । काठमाण्डूमा सिमित चुम्लुङको काठमाण्डू बाहिर २०४७ सालमा पहिलो जिल्ला समिति धरानमा गठन भएको हो । त्यस बेला धरानका अगुवा लिम्बुहरु भाषा, संस्कृतिको संरक्षणका लागि जातिय संस्था बनाउने भन्दा आश्चर्य मान्थे । त्यस्तो बेला प्रेमसिंह सा’बले अध्यक्ष बस्न सहज रुपमा स्विकार गरेका थिए । 

अहिले परिस्थिति बदलिएको छ । जातिको नाममा राजनीति हुनथालेपछि पदका लागि हानथाप बढेको छ । चुम्लुङ सभापति बहाल रहकै बेला २०५० मा उहाँको दुःखद निधन भएको हो । त्यस बेला अहिलेको जस्तो रंगीचंगी छापिएको समवेदनापत्रको प्रविधि र चलन थिएन । बैठकमा परित भएको शोक प्रस्तावको लिखित प्रतिलिपि शोक सन्तप्त परिवारलाई प्रदान गर्दै श्रद्धाञ्जली प्रकट गरिन्थ्यो । बुवाप्रतिको उक्त लिखित शोक प्रस्ताव सुधिरसिंह जीले सुरक्षीत दस्तावेजको रुपमा राख्नु भएको रहेछ । प्रेमसिंह सा’ब यस संसारमा नभएपनि उहाँका सम्झना सधैं रहनेछ । 

(पत्रकार हर्ष सुब्बाको फेसबुकबाट)

prem1

prem2