सत्चालिस साल भर्खर शुरु हुँदै थियो । छयालिस सालको जनअन्दोलनको शक्तिबाट प्रजातन्त्रको पुनर्स्थापना भए पश्चात नेपाली कांग्रेस र संयुक्त वाममोर्चा सहितको अन्तरिम सरकार गठन भएको थियो । सरकार गठन भएपछी उक्त मन्त्रिमण्डलमा परेका व्यक्तिहरुको नाम र तस्बिर समेतको समाचार उ बेलाको प्रजातन्त्रबादी पत्रिका 'साप्ताहिक बिमर्श' मा छापिएको रहेछ ।
मलाई आज सम्म सम्झना छ, ब्यानर न्युजको रुपमा प्रकाशित सो समाचार पढेर मेरो घर छेउको चिया पसलमा एक अपरिचित बुज्रुक निकै हौसिएका थिए । उनी भन्दै थिए, 'अब उपरान्त मूलुकको राजनैतिक, आर्थिक, सामाजिक लगायत सम्पूर्ण क्षेत्रमा कायापलट हुन्छ ।' उनी अत्यन्त भावनामा बहेर रोमान्चक ढंगले यो सब सुनाउँदै थिए । उनको कुरा सुन्दै जाँदा सोह्र बर्षको जोशिलो किशोरको रुपमा मेरो भावना पनि क्रान्ति सफल भएको अनुभुतीले पुलकित भएको थियो । एउटा नयाँ जोश सहित शरिर नै सिरिंग हुने गरी नविन रक्तसंचार प्रवाह भएको थियो । अपरिचित व्यक्ति अन्तरिम प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको जीवनी, उनको राजनीतिक योगदान र प्रजातन्त्र प्रतीको अटुट निष्ठा एबम आस्थाको वयान गर्दै थिए ।
त्यस्तै त्यो मन्त्रिमण्डलमा रहेका योग प्रसाद उपाध्याय, महेन्द्रनारायण निधी, सहाना प्रधान, झलनाथ खनाल, मार्शलजुलुम शाक्य र निलाम्बर आचार्य जस्ता ब्यक्तित्वको उपस्थितीले अब मुलुक तिब्रगतीमा प्रगतिको पथमा लम्कने कुरा अत्यन्त विश्वासका साथ हामीलाई बताइरहेका थिए । उनको कथनमा ढृड विश्वास थियो । उनी भन्दै थिए अबको केही वर्षमा हाम्रो देश हरेक दृष्टिकोणबाट उन्नत हुनेछ । उनको कुरा सुनेर मैले मेरो तत्कालिन सोचमा कुनै बिकसित मुलुकको जुन तस्बिर आउथ्यो त्यस्तै आफ्नो देश पनि हुने परीकल्पना गरेको थिए । सायद त्यहाँ उपस्थित सबैले मेरो जस्तै कल्पना गरेका थिए होलान ।
पञ्चायती शासन ब्यबस्थाको उत्तरार्धमा हुर्किएको म र म जस्ता तमाम युवाहरु राजनीतिमा आज जतीको सचेत हुने अवस्था थिएन । बाल्यकालको कलिलो उमेरमा सम्पन्न भएको जनमत संग्रह ताका हाम्रो घरको अगाडि पटिको झ्यालमा एक जोर निलो झण्डा क्रस पारेर राखेको धुमिल आकृति मेरो मानसपटलमा आजसम्म रहेको छ । जुनकुरा माथि उल्लेखित अपरिचित ब्यक्तिले बहुदलको पक्षमा कुरा गर्दा पून ताजा भएर आएको थियो । बहुदल कि निर्दल भनेर प्रचारित जनमत संग्रहमा बहुदलको चिन्ह निलो हो भन्ने सम्मको त्यती बेला मलाई ज्ञान थियो । पछी सुनेको थिए तत्कालिन सुर्य बहादुर थापाको सरकारले राष्ट्रिय गीत 'हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ' बाट 'निलो रंग शान्तिको रंग' भन्ने वाक्यांशनै हटाएको थियो रे ।
समयको प्रवाह सँगै मेरो ज्ञान बढ्दै जाँदा बयालिस सालमा नेपाली कांग्रेसद्वारा गरिएको सत्याग्रह पनि मेरो सम्झनामा आउने गर्दछ । एउटा बालकको रुपमा मैले त्यती बेला घर छेउमै आन्दोलनकारीहरुले बिराटनगरबाट दुध बोकेर धरान सम्म ल्याउने डिडिसीको ट्रकको अगाडिको सिसा ढुंगा हानी फुटाएको देखेको थिए । त्यस्तो अवस्थाको ट्रक हेर्दै गर्दा खैरो ड्रेस लगाउने प्रहरीहरु आएको, हामी सबै केटाहरुलाई त्यहाँबाट लखेटेको दृष्य पनि मैले आज सम्म भुलेको छैन । स्कुलबाट फर्कने क्रममा सरले सिधै घर जानु , पाँच जना भन्दा बढीलाई एक ठाउँमा बस्न, हिंड्न छुट छैन, त्यसो गरे प्रहरीले पक्रन्छ भनेको कुराले मन त्रसित भएको थियो । एउटा नौलो भयले मन आत्तिएको थियो ।
यी सब कुरा भएको दुई चार दिन मात्र भएको थियो होला, राष्ट्रिय बणिज्य बैंक छेउमा (जुन त्यसबेला छाताचोक पुर्व सिंहदेवी पथमा थियो ) एकजना युवक प्रहरीको गोली लागेर ढले भन्ने कुरा पनि मैले सुनेको थिए । आज ति युवक सहिद गाण्डिव श्रेष्ठ हुन भन्ने मलाई थाहा छ । उनको शव ट्रकमा राखेर नगर परीक्रमा गराउने क्रममा हाम्रो घर अगाडिबाट पनि लगिएको थियो । अगरबत्तीको धुँवा र फुलले ढाकिएको अवस्थामा शव छ भन्ने ज्ञानले डरको भावना मनमा छाएको थियो । उक्त दृश्यले गर्दा कैयौ दिन सम्म मैले सहज निन्द्रा पाउन सकेको थिईन ।
२०४६ सालको जनआन्दोलन मेरो स्मृतीमा जति ताजा छ त्यो बेलाको राजनीति भने मेरो त्यती परिपक्व अवस्थामा थिएन । जसरी आज राजनीतिका धेरै कुरा बुझेको छुँ, त्यो बेला धेरै नबुझेको नै रहेछु । अचेल बैशाख महिनाबाट बिद्यालयमा नयाँ शैक्षिक सत्र शुरु हुने ब्यवस्था गरिएको छ तर त्यो बेला भने मंसिरमा अन्तिम परिक्षा भै पौष देखी नयाँ कक्षामा प्रवेश गरेर पढाई शुरु हुन्थियो । म भरखर नौ कक्षाबाट दश कक्षामा उक्लिएको थिए । मैले जीवनको सोह्रौं बसन्तमा प्रवेश गरे संगै मूलूकले पनि प्रजातन्त्र रूपी बसन्तमा प्रवेश गर्ने क्षणको लागि अन्तिम कसरत गर्दै थियो । दलहरु प्रतिबन्धित थिए । प्रतिबन्धित नेपाली कांग्रेस र संयुक्त बाममोर्चा बिच सयुक्त रुपमा आन्दोलन गर्ने सहमती भएको थियो । माथि भने झैं उ बेला मलाई राजनीतिबारे खासै धेरै कुरा थाहा थिएन । मेरो बुझाई यती मात्र थियो कि आन्दोलन पछी बहुदल आउने छ र वाक स्वतन्त्रता स्थापित हुनेछ । हामीले, त्यसपछी हामीलाई लागेको कुरा ब्यक्त गर्न सक्छौं ।
वामपन्थी साथीहरु मुक्तीका गीत गाँउथे । जनवादी गीत भनिने ति गीतहरुमा जनतालाई शासक बिरुद्ध जाग्न अभिप्रेरित गरिएको हुन्थ्यो । जनताको पक्षमा रचिएका त्यस्ता गीत गाउँनेहरुको समूहमा रहेको बेला मनमा एक तमासको त्रास जन्मन्थ्यो । पञ्चायत, कांग्रेस र कम्युनिष्ट भनेर केवल तीन समुहमा बिभाजित जस्तो मात्र देखिन्थ्यो समाज । पञ्चायत बिरुद्ध कांग्रेस र कम्युनिष्ट एक भएका थिए । कम्युनिष्ट भन्दा तत्कालिन नेकपा माले बुझिन्थ्यो । कांग्रेसका नेताहरुमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको कुरा सुन्न पाइन्थ्यो भने कम्युनिष्ट नेताहरुमा मदन भण्डारी, सिपी र आरके मैनालीको कुरा धेरै सुनिन्थ्यो ।
यही बर्ष माघ ५ गते गणेशमान सिंहको कमाण्डमा नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन आयोजना भयो । गणेशमानकै निवास चाक्सीबारीमा आयोजित उक्त सम्मेलनमा भारतीय नेता चन्द्रशेखर, डा सुब्रमन्यम स्वामी, हरकिशन सिंह सुरजीत र एमके अकबर लगायतको पनि सहभागीता थियो । नेपाली बामपन्थी दलहरुको पनि त्यहा उपस्थिती थियो । सातवटा कम्युनिष्ट पार्टीहरु सहना प्रधानको नेतृत्वहीन संयुक्त वाममोर्चा गठन गरेर कांग्रेससँग बहुदलिय प्रजातन्त्रको पुनर्स्थापना र मानवअधिकारको पक्षमा मिल्न आएका थिए । यही कुराहरु युवाहरुको चर्चाको बिषय हुन्थ्यो त्यती बेला । उक्त सम्मेलनमा भारतीय नेता ९ पछी त्यहाँका प्रधानमन्त्री ० चन्द्रशेखरले गरेको भाषणको सब भन्दा धेरै चर्चा हुन्थ्यो । यस्ता कुराहरु प्रायः बेलुका बढी हुन्थ्यो । चन्द्रशेखरको उक्त भाषण क्यासेटको चक्काहरुमा रेकर्ड गरेर मुलुक ब्यापी रुपमा फैलाईएको थियो ।
हाम्रो धरानको तत्कालिन वडा नं ४ बरगाछी स्थित शिव मन्दिरमा धुमधामले सरस्वती पूजा गर्ने चलन थियो। २०४६ साल माघमा पनि यहाँका सकृय युवाहरुको अगुवाईमा सरस्वती पूजा आयोजना गरिएको थियो । भोली पूजा छ भने अघिल्लो दिन साँझ सम्म सबै तयारी पूरा भईसकेको हुन्थ्यो । एम्प्लीफायरबाट बजाईएको भजनहरु साउण्ड बक्स मर्फत सबै तिर सुनिन्थ्यो । यसरी गरिने सरस्वती पूजा हाम्रो वडाको अहं गतिबिधी मध्ये एकको रुपमा स्थापित थियो। त्यो सालको सरस्वती पूजाको अघिल्लो दिन सांझ त्यहा बज्ने स्पिकरमा मैले पहिलो पटक चन्द्रशेखरले कांग्रेसको चाक्सीबारी सम्मेलनमा गरेको भाषण सुनेको हो । त्यसलाई जम्मा एक पटक मात्र बजाइयो । पञ्चायती प्रशासनले सरस्वती पूजामा अबरोध नगरोस भन्ने अभिप्रायले हामीले त्यसलाई त्यसरी माइकमा दोहोर्याउन सकेनौ । तर एक पल्ट भए पनि वडाबासीहरुले त्यो भाषण सुन्ने मौका प्राप्त गरेका थिए । उक्त भाषणमा नेपाली जनतालाई प्रजातन्त्र प्राप्तिको लागि एक हुन आग्रह गरिएको थियो ।
मेरो मनमा एउटा भ्रम सधैं रहने गरेको थियो । त्यो के भने पञ्चायतले पनि आफुलाई प्रजातन्त्रको हिमायाती भन्न रुचाउथ्यो भने प्रजातन्त्र पनि मुलुकमा २००७ साल फाल्गुन ७ गते नै आएको थियो । यसरी प्रजातन्त्र हुँदा हुँदै किन प्रजातन्त्रको लडाईं लडेको होला जस्तो लग्थ्यो । यही प्रश्न अली पछी सम्म मेरो मस्तिष्कमा रही रह्यो । जुन कुराको उत्तर पछी सकृय राजनीतिमा लाग्ने क्रममा मात्र मैले बुझ्न सकेको थिए । २०४६ सालमा यि उल्लेखित घटनाहरु हुनु भन्दा एक महिना अघि मात्र पौष १ गते संबिधान दिवस मनाइएको थियो भने पौष १४ गते तत्कालिन राजा बिरेन्द्रको जन्मोत्सवको कार्यक्रम मनाईएको थियो । पञ्चायती प्रशासनले बिद्यालयका बिद्यार्थीहरुलाई अनिवार्य र्यालीमा सहभागी गराउने गर्दथ्यो । म अध्ययनरत बिद्यालय पनि उक्त कार्यक्रमहरुको जूलुसमा सहभागी हुनुपर्थ्यो । जूलूसले नगर परिक्रमा गर्थ्यो । सांकृतिक झाँकी सहित हुने जुलुसमा जोड जोडले नारा लगाउन लगाइन्थ्यो । 'हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ , हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ ।' यसका अतिरिक्त पञ्चायति ब्यवस्थाको समर्थनमा र राजारानीको गुणगाणमा ज्यादा नाराहरु लगाउनु पर्थ्यो । यसरीनै फाल्गुण सात गते पनि यस्तै कार्यक्रमका साथ र्याली आयोजना भएको थियो । त्यही दिन देखी नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले मिलेर जनआन्दोलनको शंखघोश गरेका थिए । मुलुक त्यसपछी अन्दोलित भएको थियो । सारा देश आन्दोलनको रापले बल्न थालेको थियो ।
सडकमा प्रजातन्त्र प्रप्तीका लागि निस्कनेहरुको भीड क्रमशः बढ्दै जाँदै थियो । काठमान्डौको समाचार हामी रेडियोबाट धेरै थाह पाउथ्यौं । हामी पनि छिमेकको घरको भित्तामा कालो कोइलाले राती राती “पञ्चायती ब्यबस्था मुर्दाबाद” भनेर ठुलो ठुलो अक्षरमा लेख्थ्यौं । लक्ष्मीसडकको ठाडोलाइनमा मात्र भए पनि यही कुरा ९/१० जना भेला भएर कुद्दै कराउथ्यौं । यसका अतिरिक्त 'प्रजातन्त्र ल्याउछौ /ल्याउछौ', 'राजबन्दी रिहा गर' भन्ने जस्ता नारा पनि त्यसरी नै हामी त्यो रातको निस्तब्धतामा कराउदै कुद्थ्यौं । प्रजातन्त्रको पुनर्स्थापना र बहुदलिय ब्यबस्था र मानवअधिकारको लागि यो नै हाम्रो सानो प्रयास थियो । भक्तपुरमा धेरै मान्छे भेला भए, न्यूरोड, असन हुँदै ठुलो जुलुस बसन्तपुर पुग्यो, पाटनलाई जनताले कब्जा गरे जस्ता समाचारले हाम्रो मन प्रफुल्ल हुन्थ्यो । जनआन्दोलन सफलताको पथमा अगाडि बढेको जस्तो अनूभूती हुन्थ्यो । जनअन्दोलन यसरी नै चरमोत्कर्शमा पुग्न लागेको थियो । चैत्र २४ गते तत्कालिन प्रधानमन्त्री मरिचमान सिंहले आन्दोलनको दवाव थेग्न नसकेर राजिनामा दिए । लगत्तै लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा नयाँ मन्त्रीमन्डल गठन भयो । यस मन्त्रीपरिषदले पनि केही गर्न सक्ने अवस्था थिएन । सकृय राजा जनता समक्ष झुक्न वाध्य भए । २०४६ चैत्र २६ गते राती ११:१० बजे जनताको चाहना वमोजिम राजाले दल माथिको प्रतिबन्ध फुकुवा गरेको घोषणा गरे । मुलुकमा बहुदल आयो । जनतामा एक प्रकारको खुशियाली छायो ।
यसको भोली पल्ट बिहान देखी नै धरानमा पनि यहाँका जनता स्वस्फुर्त रुपमा खुशीयाली मनाउदै सडकमा निस्केका थिए । उक्त बिशाल जूलूशमा म स्वयम पनि खुशीको नारा लगाउदै हिंडेको थिए । सय, दुई सय गर्दै हजारौं जनताको जुलुस तत्कालिन एसपी अफिस धरान-१३ तर्फ लम्केको थियो । त्यहाँ थुनिएका राजनीतिक बन्दीहरुले परबाट हात हल्लाएर हामी जूलूसका सहभागीहरुलाई अभिवादन गर्दै आफु अब छिट्टै हामी सँगै जूलूसमा खुशीयाली मनाउन आउने बताउदै थिए । यो खुशीयाली धेरै समय टिक्न सकेन । माथि जिरो पोइन्टबाट तल भानुचोक तर्फ मोडिएको जूलूस भानुचोकमा ईलाका प्रहरी कार्यालय पुग्दै गर्दा प्रहरीले निर्ममता पूर्वक गोली चलायो । किशोर अवस्थाका शुशिल कट्टेल शहिद भए । खुशीयाली एकाएक दुःखद क्षणमा बदलिएको थियो ।
यसको केही दिन पछी धरानमा बिशाल आमसभा आयोजना गरिएको थियो । राता झन्डा बोकेका हजारौ जनताले धरान नगर परिक्रमा गरेका थिए । मैले पनि त्यो जूलुस र आमसभाको अबधि भरी एउटा झण्डा बोकेको थिए । जुन कलम र मसाल अंकित झण्डा बोकेर मैले त्यस पछीको दशकौं यहाँ राजनीतिक जीवन बिताएको छुँ । हो, नेबिसंघको त्यही झण्डाको प्रेरणाले मलाई इमान्दारिता र नैतीकताको पाठ सिकायो । राजनीतिक निरन्तरता र निष्ठाको पुरस्कार पनि मलाई यही झण्डाले नै दिएको हो । यही झण्डाले नै मलाई सबै तिर परिचित पनि बनाएको हो ।
काठमाडौंमा भने चैत्र २६ गते राती तत्कालिन संबिधानबाट निर्दलियता शब्द हटाईएको भोलिपल्ट आन्दोलनकारीका तर्फबाट गणेशमान सिंह सहित चार जनाले राजासँग भेटेका थिए । उक्त भेटपछि संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था र मौलिक अधिकारको प्रत्याभूति दिलाउने शर्तमा आन्दोलन स्थगित भयो। त्यो बेला गणेशमान सिंह र राजा बिच भएको संबाद बारे गणेशमान सिंहले दिएको प्रतिकृयाको चर्चा धेरै पछी सम्म प्रख्यात भएको थियो । कलाकारहरुले यही संबादलाई लिएर क्यारिकेचर समेत गरेका थिए । २/४ बर्ष पछी सम्म हाम्रो कलेजमा हुने विद्यार्थी संघ संगठनहरुको कार्यक्रमहरुमा यही क्यारिकेचर गरिन्थ्यो । उनले राजाले प्रधानमन्त्री हुन गरेको आग्रह अस्विकार गरी कृष्णप्रसद भट्टराईको नाम सिफारिस गरेका थिए । त्यस पछी २०४७ साल बैशाख ३ गते राजाले नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा नियुक्त गरे । बैशाख ६ गते यो लेखको शुरुमा भनिएको जस्तो कृष्णप्रसाद भट्टराईको नेतृत्त्वमा कांग्रेस, बाममोर्चा र राजाका तर्फबाट गरी ११ जनाको मन्त्रीमण्डल बन्यो। जसको काम संविधान निर्माण गर्ने र संसदको निर्वाचन गराउने थियो।
यसरी नेपाली जनताहरु मध्ये अधिकांश जनता पञ्चायती व्यवस्थाप्रति असहमति व्यक्त गर्दै काठमाडौं लगायत मुलुक भरीका सडकमा उत्रिएका थिए। उनिहरुले विश्वका थोरै सक्रिय राजतन्त्र मध्ये नेपालमा रहेको एकको निरंकुश शासन विरुद्ध र प्रजातन्त्रका पक्षमा आफ्नो आवाज बुलन्द पारेका थिए। अन्ततः ५० दिनसम्म निरन्तर संर्घष गरेपछी जनआन्दोलान सफल भएको थियो । प्रजातन्त्रको पुनर्स्थापना र बहुदलिय ब्यबस्थाको पक्षमा जनता सडकमा उर्लिएको उक्त पचास दिनमा थोरै भए पनि मेरो लगानी छ भन्ने आत्मज्ञानले आज पनि मलाई गर्वको अनुभूती हुन्छ । समयले मेरो मुल्याङ्कन गर्दै होला ।
email: bikashdharan@gmail.com