धरानमा चैत्र २७ गतेदेखि मञ्चन भईरहेको रङ्गभूमि एकेडेमीको प्रस्तुती “बन्द बाक्सा” धरानका युवा राजनीतिककर्मीहरुसँग बसेर हेरियो । हुनत योजना चुम्लुकर्मीहरुसँग हेर्ने थियो । तर नाटक सकिएपछि थाहा भयो, चुम्लुङकर्मीहरु नाटक हेर्न आईपुगेनन् ।
नाटक हेरिरहँदा त्यो अँध्यारो हलमा अरुको त थाहा भएन, तर मेरो चाहीँ आँखा आँशुले भिज्यो । एक पटक होइन । दुई तीन पटक । कलाकारहरुको स्वभाविक अभिनय, संवाद र कथाले यति मुग्ध र गम्भिर बनायो कि त्यस्तो गर्मि हलमा ८० मिनेट ३० मिनेटमा बितेको जस्तो लाग्यो । संगीत–ध्वनी र प्रकाश तथा मञ्च सजावट उच्च कोटीको थियो । सबैभन्दा उच्चकोटीको थियो, नाटक र मञ्चनको परिकल्पना ।
म ४० को दशकको उत्तरार्धसम्म धरान र काठमाडौंमा नाटक हेरेर हुर्केको मान्छे । त्यतिबेला आरोहणको धेरै नाटक हेर्न भ्याएँ । अशेष मल्ल, सुनिल पोखरेल मुखमा झुण्डिएको थियो । अनामको नाटकहरु छुट्दा मन थक थक हुन्थ्यो । आज नाटक हेर्दा लाग्यो, वाह ! हामीले यहीँ धरान मै चिनेजानेका बिष्णु मोक्तान, मिलन चाम्लिङ राई, हरी इवाहाङ, तुलसा थापाहरु यत्ती उत्कृष्ट नाटक परिकल्पना गरेर मञ्चन गर्न क्षमता राख्छन् त ! आफैले हेरेपछि विश्वास गर्नैपर्छ, हो धरानमा अहिलेपनि उत्कृष्ट नाटक मञ्चन हुन्छ । कलाकार र व्यवस्थापकहरु फोन गरी गरी नाटक हेर्न बोलाउँछन् र उत्कृष्ट नाटक दर्शक सामु पस्कन्छन् । हुन त यसभन्दा अगाडीपनि रङ्गभूमि एकेडेमीले म लगायत धेरै नाटकप्रेमीको मन जीत्न सफल भएको थियो ।
नाटकको शुरुआत किराती राईहरुको प्रख्यात सांस्कृतिक–प्राकृतिक नाच साकेला (चन्डी नाच) बाट हुन्छ । एक हुल युवा युवतीहरु पसिना तरतरी हुनेगरी साकेला नाच्छन् । नाचिसकेर उहिलेको जस्तो खाजा पानी बाँडेर खान्छन्, पिउँछन् । त्यहाँ माँया पिरती साट्नेहरु साट्छन् । तिनैमा हुन्छन् पारुहाङ अर्थात हरी इवाहाङ लिम्बु र सुम्निमा अर्थात सम्झणा राई । पारुहाङ र सुम्निमा किरात राईहरुको आदिम पात्र पात्रा हुन् । पुर्खा हुन् । त्यो नाउँ बिम्बलाई प्रयोग गरेर सुम्निमा पारुहाङको पे्रमिल संवाद र अभिनयले दर्शकको मन कुतकुताउँछ ।
बन्द बाक्सा सरकारी तथ्यांकमा औसत गरिवीको रेखा घटेपनि गरिवीको जाँतोमा पिल्सीएका युवा युवतीको कथा हो । प्रेमिल जोडीको भविष्यको कथा पनि हो । मेलापात गरेर इत्रिदै हिढ्ने युवा युवतीको पनि कथा हो । गरिवीसँग संघर्ष गर्ने आम युवाहरुको कथा हो । नाटकमा त्यसलाई आरा काट्ने दृष्यमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ । बन्द बाक्सा एक छिन नछुटिने जोडी उमेर (पीयर एज) को साथीहरुको पनि कथा हो । बन्द बाक्सा एकल आमाको कथा हो, जो डाँडामाथिको घाम हुँदै छिन्, तर छोराको लागि असिम माँया र पिडा र आँशु पिउन बाध्य छिन् । अनि यो कथा ति युवतीहरुको कथा हो, जसले जीवनभरी सँगसँगै बाँच्ने रहर र इच्छा गर्दागर्दै तिनलाई आँशुको भेलमा बगाएर बाँच्न बिवश छन् । अनि यो नाटक ति अभागी युवाहरुको कथा हो, जसले आफ्नो आमा, प्रेयसी, साथी सँगी, आफन्त नातागोतालाई सपना देखाएर बिदेसिन्छन् तर उतै जीवनलिला समाप्त पारेर बन्द बाक्सामा फर्कन्छन् ।
नाटकको कथा सरल छ । किनभने यो हाम्रै समाजको कथा हो । यस्तै त भईरहेको छ नी भन्ने लाग्छ । नाटक हेरिरहँदा मन असरल्ल हुन्छ । हाम्रा युवा युवतीले गरिवीको भुमरीमा परेर कहिलसम्म यसरी विदेशिए बन्द बाक्सामा फर्कनु पर्ने हो रु हामीले २०४६ सालमा प्रजातन्त्रको लागि लडयौं । ०६२/०६३ मा लोकतन्त्रको लागि लडयौं । त्यसपछि गणतन्त्रको लागि लडयौं । सबै लडाईंमा जनताले जीवन आहुती गरेका छन् । तर गरिवी र भोक विरुद्ध कहिलेसम्म लड्ने हो रु एकजना आमा, नवयौवना पत्नी र साथीको सपना पुरा गर्न कहिलेसम्म को सँग लड्नपर्ने हो रु नाटक हेर्दा र हलदेखि निस्किँदै गर्दा यस्तै प्रश्न मनमा खेलाउन बाध्य पार्छ नाटक बन्द बाक्साले ।
अब अन्तमा, नाटक हेरिरहँदा मनमा खेलेको अर्को कुरा हो, नाटक मञ्चन सिर्जनाको कुरा । अभिनय, कथा, संवाद, सिर्जना र परिकल्पनाको कुरा हो । बरमझियाको बुढोको असली पेडाभन्दा स्वादिलो यत्तिको नाटक निर्माण गर्न परिकल्पनाकार र सिर्जनशिलताका लागि कत्तिको सबैप्रकारको लगानी चाहिन्छ रु जीवन भनेको राजनीति मात्रै होइनस कला, गीत–संगीत, चित्रकला, नाटक, अभिनय, साहित्य, खेलकुद सबै सबै हो । र प्रश्न गर्न मन लाग्यो, हाम्रा राजनीतिकर्मीहरु यी पक्षहरुमा निरश भएर पो जीवनमुखी योजना बनाउँदैनन् कि ? नत्र यत्तिको नाटकलाई स्थानीय तहले कुनै पक्षको सम्पूर्ण भार बोकिदिनुपर्ने हो । जस्तैः हल भाडा, मञ्च निर्माण । निस्कँदा निस्कँदै मुल पात्र अभिनेता हरी भाईलाई सोधेँ, टिकटबाट उठेको पैसाले खर्च बेहोर्छ रु उनको उत्तर थियो, “आधापनि बेहोर्दैन दाई । हल सञ्चालकहरुले बुझेर केही डिस्काउन्ट गरिदिएपनि हुने । अब भोली अन्तिम दिन हो । खर्च कसरी जोहो गर्ने भनेर पिरलो छ ।” खर्च जोहो गर्ने पिरलो बोकेर कुदिहिढ्नेले कसरी सिर्जनामा अब्बल गर्ला र रु तर संसारमा गरेका छन् हरी । पीर नगर्नु ।
अब चाहीँ साञ्चै अन्तमा, हरीको अभिनयको कुरा म गर्दिन । अब उ धरानको रङ्गमञ्चको लागि नँया नाम होइन । तर सुम्नीमाको अभिनय गर्ने सम्झना राई, आमाको भूमिकामा अभिनय गर्ने रमिता राईको अभिनयमा खोट लाउने ठाउँ मैले चाहीँ देखिन । हुन त म कला वा रङ्गकर्म समिक्षक नभएर पनि रामै्र राम्रो देखेको हुनुपर्छ । आमाको भूमिका गर्ने त यत्ति स्वभाविक थियो कि बाहिर मैले हरीलाई सोधें, आमाको रोल गर्ने साञ्चैंको सुड्डी हो कि ? हरीको उत्तर थियो, कहाँ दाई सबै बहिनीहरु हो नी !
अर्को शक्तिशाली रोल बोली प्रष्ट नबोल्ने अपाङ्गताको अभिनय गर्ने इन्द्र राईको हो । त्यो भूमिका वास्तवमा कठिन पनि हो । अरु सबैको भूमिका र अभिनय यत्ति स्वभाविक र आनन्दलाग्दो छ कि कहिले मनोरञ्जन प्राप्त हुन्छ त कहिले गम्भिर बनाउँछ । सानो तिनो बिम्ब प्रयोगले नाटकलाई घतलाग्दो र रोचक बनाएको छ । यत्ति राम्रो अभिनय गराउन भुमिका खेल्ने र नेपाली कथालाई नाटकमा ढलान गर्ने लेखक तथा निर्देशक मिलन चाम्लिङ राई वास्तव मै धन्यवादका पात्र छन् । र टिम लिडरको रुपमा नेपथ्यमा छन् रंगभुमी एकेडेमीको अध्यक्ष बिष्णु मोक्तान । धरानको पछिल्लो रंगकर्मलाई ब्युँताउने श्रेय जाने मोक्तानलाई एक पटक पुनः धराने नाटकलाई दर्शकको मद्दत चाहिएको छ । त्यो हो, टिकट किनीदिएर नाटक हेरिदिनु वा कुनै प्रकारले मद्धत गर्नु । धन्यवाद रंगभुमी एकेडेमी ।
(लेखक लिम्बुको फेसबुकबाट साभार)