धरान: लायन्स क्लब अफ धरान पाँचकन्याले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात गरेको छ ।
पुर्वयुवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा शुक्रबार आयोजित समारोहमा लायन्सले यो अभियानको शुरुवात गरेको हो । शाहको उपस्थितिमा यो अभियान लायन्स क्लब अफ धरान पाँचकन्या र पुर्वाञ्चल बहिरा विद्यालयबीच सम्झौता पत्र हस्तान्तरण पनि भएको थियो । पुर्वयुवराज्ञी एवं हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी शाहले ज्ञान चक्षु विद्यालय परिसरमा २ वटा रुद्राक्षको विरुवासमेत रोपेकी थिइन् ।
कार्यक्रममा पुर्वाञ्चल बहिरा विद्यालय धरान १६ का विद्यार्थीहरुलाई हेयरिङ एड मेशिन वितरण गरिएको थियो भने ७ र ८ कक्षाका सम्पुर्ण विद्यार्थीहरुलाई बर्षभरिको स्कुल युनिफर्म, खेलकुद ड्रेस, शैक्षिक सागम्री, खेलकुद सामग्री पनि वितरण गरिएको थियो । कक्षा ११ र १२ मा पढ्ने, कलेज पढ्ने विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि छात्रवृत्ति वितरण गरिएको थियो भने पाँचकन्या मावि धरान १७ र सुकुम्बासी वस्तीका विद्यार्थीहरुलाई कापी तथा शैक्षिक सामग्री पनि वितरण भएको थियो ।
भिडियो:
यसैगरि, विभिन्न विद्यालयहरुलाई पानी आफै प्रशोधन हुने बोटल हिमानी ट्रष्टबाट वितरण भएको थियो । उक्त बोटल टंक मावि भरिगाउँ धनकुटा, जनहित आधारभुत विद्यालय सुनसरी मधेशा, शिशु विकासिनी आधारभुत विद्यालय मधेशा र पुर्वाञ्चल बहिरा विद्यालय, पुर्वाञ्चल ज्ञानचक्षु विद्यालय र सुकुम्बासी वस्तीका सरकारी विद्यालयका विद्यार्थीहरुलाई पनि पुर्वयुवराज्ञी शाहले बोटल वितरण गरेकी थिइन् । यस्तै, विपन्न एकल र अपांग व्यक्तिहरुलाई ब्ल्यांकेट पनि वितरण गरेकी थिइन् ।
लायन्स क्लब अफ धरान पाँचकन्याकी अध्यक्ष एकता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षाको लागि एक रुपैया अभियानलाई मोफस रेष्टुरेष्ट हङकङले सहयोग गरेको बताइन् । कार्यक्रममा लायन्सका डिस्ट्रिक गर्भनर लायन धिरज गुरुङ, पिएमजेएफ मल्टिपल जिएटि चेयरपर्सन लायन इन्द्र खत्री (राजन), पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयका प्रअ प्रमोद भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।