धरान: धरानका पुर्वजनप्रतिनिधिहरुले नगरबासीहरुले चर्को अभाव खेपिरहेको खानेपानी समस्यासँगै राजनीतिक घटनाक्रमबारे गम्भीरतापुर्वक चासो देखाएका छन् ।

पुर्वमेयर, पुर्वसांसदहरुले धरानको समस्याबारे अब बोल्नुपर्ने बेला भएको निष्कर्ष निकाल्दै छलफलमा जुटेको निवर्तमान मेयर तिलक राईले बताए । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रभातफेरि पछिको कोणसभालाई सम्बोधन गर्दे पुर्वमेयर राईले भने,‘अहिले धरानको बिषयमा खानेपानी होस वा राजनीतिक घटनाक्रम होस्, २ बर्ष हेर्यौ । अब हामीले बोल्नुपर्ने अवस्था भएको छ ।’

पुर्व मेयर राईले पुर्वजनप्रतिनिधिहरुको लुज फोरम बनाएर छलफल गरिरहेको पनि बताए । यसले धरानको नेतृत्वलाई खानेपानीको बिषयमा र अन्य एजेण्डामा ध्यानाकर्षण गराउने र दबाब सृर्जना गर्ने पनि उनले बताए । ‘जवाफदेही हुनुपर्छ भनेर पुर्वजनप्रतिनिधिहरुले धारणा प्रकाशन गर्ने र दबाब दिने काम गछौं,’ उनले भने,‘खानेपानीको सन्दर्भमा यथार्थ के हो त, करोडौं रुपैया विदेशबाट धरानलाई माया गरेर आएको छ, त्यसको सहीरुपमा सदुपयोग भयो कि भएन भनेर सत्यतथ्य ल्याउने, पारदर्शी गर्ने र नेतृत्वलाई जवाफदेही बनाउने काम गदैछौं ।’

'एउटा देखाएर अर्को बेच्ने अनलाइन व्यापार जस्तो मिडिया नहोस् '

tilak rai

पुर्वमेयर राईले सामाजिक सञ्जाल तथा न्यु मिडियाकोरुपमा आइरहेको युट्युब, अनलाइनले झुक्याउने काम नगर्न पनि सचेत गराएका छन् । उनले मुलधारको पत्रकारिता, मुलधारको राजनीति, सामाजिक सेवा तथा पेशा व्यवसायलाई विस्थापित गर्न खोजेको जस्तो देखिए पनि अनलाइन व्यापारले जस्तै अनलाइन मिडियाले जनतालाई झुक्याउन नहुने धारणा राखे ।

‘अनलाइन व्यापार कस्तो भयो भने एउटा सामान देखाएर अर्को बेचिरहेको छ । सामाजिक सञ्जाल पनि त्यस्तै भइरहेको छ,’ पुर्वमेयर राईले भने,‘मुलधारको पत्रकारितालाई बाइकट गरेर सामाजिक सञ्जालले हुने नहुने कुरा दिइरहेको छ, हामीलाई निल्नु न ओकल्नु भइरहेको छ । मिनेट मिनेटको सुचना त दिइरहेको छ तर सुचनामा सत्यता छ कि छैन भनेर विचार गर्नुपर्ने हुन्छ ।’ 

अहिले धरानमा खानेपानी प्रशस्तै छ भनेर विगतको असार, साउनको तस्बिर पोष्ट गर्ने गरेको तर वास्तविकता भने धराने जनता पानी नपाएर काकाकुल अवस्थामा भएको उनले बताए । ‘हिजो असार, साउनको फोटो राखे भैहाल्यो, वास्ताविकता छैन । मुलधारको पत्रकारिता गर्ने मिडियाले अविछिन्न भएर काम गर्नुपर्यो, जवाफदेहिता अनलाइन मिडियाले पनि निर्वाह गर्नुपर्छ,’ उनले भने,‘मुलधारको मिडियाले सत्यतथ्यहरुलाई चिर्न जरुरी छ ।’

भिडियो: