धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गणतन्त्र दिवसमा शुभकामना व्यक्त गर्दै राज्य संयन्त्रमा भएको परिवर्तन जनतालाई गराउनुपर्नेमा जोडदिएका छन् ।
मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै संविधान अनुरुप भएको यो परिवर्तन जनताले अनुभूत गर्नसक्ने गरि कार्यान्वयन भएमा मात्र गणतन्त्र स्थापनाको औचित्य हुने उल्लेख गरेका छन् । गणतन्त्रसँगै स्थापित भएको संघीयताको प्रभावकारी कार्यान्वयन गर्दै जनअपेक्षा अनुरुप शासन सञ्चालन गर्नु र प्रदेशको औचित्य स्थापित गर्नु आजको जिम्मेवारी भएको पनि मुख्यमन्त्री कार्कीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
गणतन्त्र स्थापनाको लागि विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै मुख्यमन्त्री कार्कीले घाइते, अपांग तथा वेपत्ताहरुप्रति उच्च सम्मान पनि व्यक्त गरेका छन् । ‘नेपाल आमाका हजारौं छोराछोरीको वलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्दै संविधानको कार्यान्वयन गर्ने आजको हाम्रो प्रमुख कर्तव्य हो,’ शुभकामना सन्देशमा भनिएको छ,‘त्यसबाट मात्र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्न सकिन्छ ।’