धरान: किरात याक्खा छुम्माको प्रदेश नं १ को प्रथम सम्मेलन आगामी असार १ र २ गते धनकुटामा हुने भएको छ ।
सम्मेलन आयोजक समितिले धरान १३ स्थित अनलाइन मिडिया एशोसिएनको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । याक्खा पहिचान र स्वायत्तता, संरक्षित क्षेत्र आजको आवश्यकता भन्ने नाराका साथ सम्मेलनको तयारी भइरहेको आयोजक समितिले जनाएको छ । छुम्माले कोशी प्रदेशको नाममा असहमति रहेको पनि धारणा स्पष्ट पारेको छ तर अन्य प्रस्तावित नामको बारेमा भने केन्द्रीय समितिको निर्णय रहने पनि जनाएको छ ।
याक्खाहरु प्रदेश १ को ८ जिल्लामा बढी बसोबास रहेको छ । २०७८ को जनगणनाको तथ्यांक सार्वजनिक गरिदा याक्खाहरुको गलत तथ्यांक आएको भन्दै संस्थाले आफैले आन्तरिक जनगणनामा पनि जुटेको घोषणा गरेको छ । ‘२०६८ मा १७ हजार जनसंख्या देखिएको थियो । तर २०७८ को जनगणनामा झन् घटेको छ,’ वरिष्ठ उपाध्यक्ष तथा १ नम्बर प्रदेश इञ्चार्ज अञ्जना ताम्लीले भनिन्,‘हामी आफै आन्तरिक जनगणनामा जुटेका छौं ।’
याक्खाहरुले विगतमा ब्रिटिश आर्मीमा भर्ती हुनको लागि राई वा लिम्बु भनेर लेखाउने गरेको कारण पनि जनसंख्या कम भएको सदस्य सचिव सोमा लिम्बुखिमले बताइन् । विगतमा भएको यो त्रुटीलाई कानुनीरुपमा नै सच्याउन चाहेको पनि उनले बताइन् । केन्द्रीय वरिष्ठ उपाध्यक्ष ताम्लीले याक्खाहरुको लागि स्वायत्त क्षेत्रको माग पनि प्रमुखताका साथ उठाउने बताइन् ।
याक्खा छुम्माकी धरान उपमहानगर अध्यक्ष हेन्सन याक्खाले याक्खा जातिको मौलिक डोकेनी नृत्यको प्रतियोगिता पनि आयोजना गरिने बताइन् । मौलिकता जोगाउने उद्देश्यले प्रदेश नं १ भरिकै डोकेनी नृत्य प्रतियोगिता हुने उनले बताइन् । केही रियालिटी शो र डान्स सेन्टरहरुले मौलिकतामा खलल पुग्ने गरि डोकेनी नृत्य प्रस्तुत गरेकोमा उनले दुःख पनि प्रकट गरिन् । साथै, त्यसरी नृत्य प्रस्तुत गर्दा आगामी दिनमा मौलिकतालाई ख्याल गर्न र सरोकारवाला जातीय संस्थासँग अनिवार्य समन्वय गर्न पनि उनले आग्रह गरिन् ।