धरान: धरान उपमहानगरपालिकाले प्रकाशित गरेको कक्षा ६ को हाम्रो धरान नामको पाठ्यपुस्तकमा विजयपुरगढीको इतिहास, बढासुब्बा र चासोकबारे गलत लेखिएको भन्दै लिम्बु विद्यार्थी मञ्चले सच्याउन माग गरेको छ । 

मञ्चको नेतृत्वमा उपमहानगरपालिका पुगेको टोलीले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै पुस्तक संशोधन गर्न माग गरेको हो । उक्त गलत इतिहास एवं तथ्य संशोधन नभएसम्म पाठ्यपुस्तक तत्कालको लागि अध्यापनमा रोक लगाउन पनि मञ्चले माग गरेको छ । 

उपमहानगरले यसै शैक्षिक सत्रदेखि पठनपाठन शुरु गर्ने गरि कक्षा ६ मा हाम्रो धरान पाठ्यपुस्तक तयार गरेको छ । सोही पुस्तकको पृष्ठ नम्बर १२८ को विजयपुरगढी शीर्षकको पाठमा विजयपुरको संस्थापक पाल्पाका सेनवंशी राजा विजयनारायणले राज्य विस्तार गरेको क्रममा विजयपुरगढी स्थापना गरेको मानिन्छ भन्ने उल्लेख छ । तर विजयनारायण सेनवंशी नभएको र पाल्पाली सेनवंशीहरुले राज्य विस्तारको क्रममा विजयपुरगढी स्थापना नगरेको तथ्य विभिन्न इतिहासकारहरुले लेखेका छन् । विजयपुरको स्थापना विजयनारायण रायले गरेका हुन् । 

limbu student

यस्तै, पृष्ठ नम्बर ७६ मा बुढासुब्बा शिर्षकमा पनि किरातेश्वर मन्दिरलगायत कपोलकल्पित कुरा उल्लेख गरेको भन्दै मञ्चले आपत्ति प्रकट गर्दै तत्काल सच्याउन माग गरेको छ । मञ्चले हाम्रो धरान पुस्तकप्रति नभै गलत लेखिएको पाठप्रति मात्र आपत्ति रहेको र उक्त पाठहरु मात्र संशोधन हुनुपर्ने माग रहेको केन्द्रीय महासचिव प्रदिप नेयोङले बताए । 

मेयर साम्पाङले पाठ्यपुस्तक तयार गर्न कार्यदल गठन गरेर जिम्मेवारी दिएकोले त्रुटी भएको बिषयमा आफुले भर्खर मात्र जानकारी पाएको बताए । उनले त्रुटी भएको खण्डमा कार्यदल जिम्मेवार हुने भन्दै गलत लेखिएको पाठलाई विद्यालयहरुमा पठनपाठन नगराउने आश्वासन दिएका थिए । साथै, पुस्तकको बिषयमा सरोकारवालाहरुसहित छलफल राख्न मेयर साम्पाङले शिक्षा महाशाखालाई निर्देशन पनि दिने बताएका थिए । 

भिडियो: