धरान: धरानको वडा नं २० स्थित चिण्डेडाँडामा निर्माण गर्ने भनिएको सुम्निमा पारुहाङको विशाल प्रतिमाबारे निवर्तमान मेयर तिलक राई र मेयर हर्क साम्पाङबीच शनिबार जुहारी चल्यो ।

धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा आयोजित साकेला उभौली समापन समारोहमा दुवैबीच सुम्निमा पारुहाङ प्रतिमा निर्माणबारे जुहारी चलेको हो । निवर्तमान मेयर राईले विगतमा उपहानगरपालिकाले निजी संस्थालाई थाउजेन बिग बुद्ध बनाउने जिम्मा दिएको तर अहिलेसम्म बनाउन नसकेको स्मरण गर्दै सुम्निमा पारुहाङको प्रतिमा पनि स्थानीय सरकार आफैले बनाउनुपर्ने बताए । उनले कार्यपालिकाले निर्णय गरेको तर प्रतिमा बनाउन छुट्टै संस्था दर्ता गरेर काम अघि बढाएकोमा चर्को असन्तुष्टी प्रकट गरे । 

नगरले प्रतिमा बनाउने निर्णय हुँदा खुशी लागेको तर पछि सुम्निमा पारुहाङ प्रतिष्ठानले बनाउने भनेको सुनेको उनले बताए । ‘म ध्यानाकर्षण गर्न चाहन्छु, थाजेन बिग बुद्धको आफ्नै जग्गा हुँदा त अहिलेसम्म बनाउन सकेन भने हङकङ, ब्रुनाई, युके, खाडीमुलुकबाट खाई नखाई जम्मा गरेको पैसा पठाउदा जग्गा त किन्न पुग्ला तर प्रतिमा कसरी बन्ला ?’  निवर्तमान मेयर राईले भने । 

मेयर साम्पाङको कार्यकाल २ बर्ष बितिसकेको र अब ३ बर्ष बित्न केही समय नलाग्ने भन्दै उनले कार्यकाल सकिएपछि सुम्निमा पारुहाङ प्रतिमा के हुन्छ ? भन्दै प्रश्न पनि गरे । उनले स्थानीय सरकारले नै स्वामित्व लिएर निर्माण गर्नुपर्ने भन्दै समुदायलाई दुःख दिएर पैसा उठाउने काम नगर्न पनि ध्यानाकर्षण गराएका थिए । 

‘धरान उपमहानगरपालिकाले स्वामितव लिनुपर्छ । स्थानीय सरकारले बनाउनुपर्छ । खाली समुदायलाई दुःख दिने ? समुदायलाई पैसा उठाउने ? यो त बिसौं, तिसौं बर्षदेखि उठाइरहेकै छ,’ निवर्तमान मेयर राईले भने, ‘सुम्निमा पारुहाङको प्रतिमा बनाउन हाम्रो राईहरुको करोडौं पैसा उठाएर जग्गा खरिद गर्नुपर्ने ? करोडौं उठाएर प्रतिमा बनाउनुपर्ने ? यो प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारले स्वामित्व लिनुपर्छ,’पुर्वमेयर राईले भने । 

सरकारको बजेट कर्णालीमा जावोस्, सुम्निमा पारुहाङ पैसा उठाएरै बनाउछौं: मेयर साम्पाङ

मेयर हर्क साम्पाङले भने सरकारको बजेट खर्चेर सुम्निमा पारुहाङको प्रतिमा निर्माण नगर्ने प्रष्ट पारे । उनले थाउजेन बुद्ध जस्तो योजना अलपत्र पनि नहुने भन्दै सरकारको बजेट कर्णालीका जनतालाई दिओस् भन्ने धारणा व्यक्त गरे । ‘हामी किराती समुदाय त्यति गरिब छैनौं, सरकारको बजेट पर्खेर हुदैन । बजेट भनेको आर्थिक योजना मात्र हो, उनले भने,‘कर्णालीमा तुईनबाट स्कुल जादैछ, घासको भारी वारपार गरिरहेको छ, सरकारको पैसा त्यतातिर जाओस् ।’

मेयर साम्पाङले किराती आफैले आफ्नो सास्ँकृतिक पहिचान र विरासतलाई स्थापित गर्न सक्ने बताए । ‘हामी मनको धनी छौं । करोडौं, अरबौं रुपैया उठाएर बनाउछौं । सँस्कृतिक सम्पदाकोरुपमा स्थापित हुन्छ । विशाल प्रतिमा बन्छ, अमेरिकाबाट पनि मान्छे हेर्न आउनेछन्,’ उनले भने, ‘यो निर्णय नगरपालिकाको हो, कसैले लिएर जादैन । निर्माण भइसकेपछि नगरपाकिलालाई हस्तान्तरण गछौं । नगरपालिकाबाट कार्यपालिका सदस्य, वडा अध्यक्ष पनि निर्माण समितिमा हुनुहुन्छ । स्वामित्व नगरकै हुन्छ ।’

भिडियो: