धरान: नगर बस सञ्चालन नगराउन माग गर्दै धरानका टेम्पो तथा सिटी सफारी चालक तथा व्यवसायीहरुले उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
विभिन्न १९ वटा टेम्पो र १० वटा सिटी सफारीका व्यवसायी तथा मजदुरहरुले आइतबार मेयर हर्क साम्पाङलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले टेम्पो र सफारी धेरै भएर अस्तब्यस्त भइरहेको र आम्दानी कम भएर जिविकोपार्जनमा समेत समस्या भइरहेको बेला नगर बस सञ्चालन गर्दा आफुहरुको रोजगारी गुम्ने चिन्ता पनि जनाएका छन् ।
भिडियो:
स्थानीय सरकारले रोजगार दिएर स्वदेशमा नै बस्ने वातावरण सृर्जना गर्नुपर्नेमा नगर बस सञ्चालन हुँदा टेम्पो र सफारी चालकहरु बेरोजगार भएर विदेशिनुपर्ने बाध्यता आइलाग्ने बताए । उनीहरुले धरानमा टेम्पो र सफारी सञ्चालन गरेवापत कानुन वमोजिम कर पनि तिरिरहेको र स्थानीय सरकारको सल्लाह अनुसार स्टिकर टास्ने काम पनि गरेको बताएका छन् ।
मेयर साम्पाङले बसपार्क व्यवस्थापन समितिले बुझाएको प्रतिवेदनमा नगर बस सञ्चालन गर्न सुझाव मात्र दिएको र निर्णय भइनसकेको बताए । उनले टेम्पो र सफारीले धेरै स्वरोजगार भएकोले प्रत्यक्ष असर हुने खालको निर्णय नगर्ने पनि बताएका थिए ।