धरान: मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुबीचको विवादले कार्यपालिका बैठक बस्न नसकेकोप्रति धरानका सम्पुर्ण भूपू सैनिकहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउदै उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

भूपू ब्रिटिश आर्मी, भारतीय भूपू सैनिक र नेपाल सैनिकबाट अवकाश प्राप्त भूपू समुदायले आइतबार मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई छुट्टा छुट्टै भेटेर ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले धरान भूपू लाहुरेहरुको सहरकोरुपमा चिनिएको साथै यहाँको विकासमा योगदान रहेको र भविष्यमा पनि रहने ज्ञापन पत्रमा उल्लेख गरेका छन् । 

मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुको बीचमा भएको विवादले आगामी आर्थिक बर्षको बजेट प्रभावित हुने हो कि भनेर चिन्तित रहेको भन्दै भूपू सैनिकहरुले चालु बर्षमा पनि प्रमुख प्रशासकीय अधिकृत नहुदा काम सकिएको योनजाको भुक्तानी हुन नसकेको र प्रशासनिक कार्य प्रभावित भएकोप्रति ध्यानाकर्षण गराएका छन् । साथै उनीहरुले सबैले आफ्नो जिम्मेवारी वहन गरि अनिर्णयको बन्दीलाई फुकुवा गरि बैठक बसेर आगामी आर्थिक बर्षको बजेट ल्याउन तत्काल कार्यपालिका बस्न पनि आग्रह गरेका छन् ।

प्रि-मिटिङ हुदैन: मेयर साम्पाङ

harka

मेयर साम्पाङले आफुले कानुन वमोजिम नै कार्यपालिका बैठकको लागि पत्राचार गरेको दाबी गरे । साथै उनले उपमेयर र कार्यपालिका सदस्यहरुले कुन कानुनको बुँदा टेकेर बैठक बहिष्कार गरेको हो भनेर प्रष्ट पार्नुपर्ने पनि बताए । 

उनले आफुले गैरकानुनीरुपमा वडा नं १३ मा खहरेमा प्रदेश सरकारको बजेटबाट काम गरेको बिषयमा खोजी गर्न थालेपछि पछिल्लो परिस्थिति उब्जिएको पनि बताए । आफुले बेथिती, विसंगतिविरुद्ध कुनै पनि हालतमा सम्झौता नगर्ने अडान राख्दै उनले उपमेयर र वडाअध्यक्षहरुले भनेजस्तो प्रिमिटिङ नगर्ने पनि बताए । ‘किन प्रिमिटिङ गर्नुपर्ने ? त्यो हुदैन । जे हुन्छ, सिधै बैठकमा छलफल हुन्छ । चिया पसलमा छलफल हुदैन,’उनले भने ।

मिलाउने जिम्मेवारी मेयरकै हो: उपमेयर बेघा

begha

उपमेयर बेघाले विगत २ बर्षको बजेट समयमा नै ल्याउन आफुले मेयर र वडाअध्यक्षहरुलाई धेरै हात जोडर सफल भएको खुलाउदै मेयर साम्पाङको गलत कार्यशैली अब अति भएकोले आफुले केही गर्न नसक्ने बताए । 

उनले मेयर साम्पाङ अभिभावक भएकोले परिवारमा भाई भतिजा, छोराछोरीको गुनासो सुनेर समाधान गरेजस्तै उपमहानगरपालिकामा पनि मेयरले नै मिलाउन र समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए । नगरको टिमको भावना समेटेर लैजाने मुल जिम्मेवारी नेतृत्वकै भएकोले मेयर साम्पाङले नै अगुवाई गर्नुपर्ने उपमेयर बेघाले बताए । 

मेयर साम्पाङले सबैलाई नै गालीगलौज गर्ने र अरुलाई नराम्रो बनाउने प्रवृत्ति र कार्यशैली नै समस्या भएको उपमेयर बेघाको भनाई थियो । अरुको आत्मसम्मानको ख्याल नगर्ने र विधिमा चल्न नसक्ने मेयर भएकै कारण समस्या बढ्दै गएको दाबी उपमेयर बेघाले गरे । ‘मलाई अहिले बोलाए अहिल्ये जान्छु, भोली गए भोली जान्छु,संवाद गर भन्दा संवाद गर्छु, सबैसँग छलफल गर्न तयार छुँ,’ उनले भने,‘अहिले पनि मेयरलाई आग्रह गर्छु संवाद गरेर समन्वय गरेर जानुपर्छ ।’

भिडियो:

भिडियो: