धरान: कार्यपालिका बैठकको बिषयले धरानको राजनैतिक महोल तातिएको बेला आज (मंगलबार) धरान उपमहानगरपालिका वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले रेल्वे चोकमा जनता भेला गरे ।
वडा कार्यालयले आयोजना गरेको भेलामा डाँडाघोपाबासी र एयरपोर्टको लागि जग्गा बिक्री गरेका पुराना जग्गाधनीहरुले वडाअध्यक्ष भट्टराईलाई ज्ञापन पत्र बुझाएका थिए । उक्त भेला धरान उपमहानगरपालिकामा उत्पन्न भएको पछिल्लो परिस्थितिबारे जनतालाई स्पष्ट पार्ने उद्देश्यले आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै वडाअध्यक्ष भट्टराईले मेयर हर्क साम्पाङ विधि, नीति र पद्दतीमा नहिडेको बताए । मेयर साम्पाङको एजेण्डालाई उपमेयर र वडाअध्यक्षहरुले साथ दिदै आएपनि तानाशाही र नश्लीय, हिट्लरशैलीमा प्रस्तुत भइरहेको भट्टराईले बताए । मेयर साम्पाङको तानाशाहीलाई अब जनताले बिद्रोह गरेर परास्त गर्ने पनि उनले दाबी गरे । ‘अब ८४ सम्म पर्खेर हुदैन, धेरै ढिला भइसक्छ । जनस्तरमा विद्रोह हुनुपर्छ, हिटलरलाई परास्त गर्नुपर्छ,’उनले भने,‘अबको स्थिति जे पनि हुनसक्छ । झडप पनि हुनसक्छ, त्यसको लागि तयार रहनुपर्छ । एक पटक झडप भएपछि हर्क साम्पाङले हैसियत थाप पाउछन् ।’
विधिमा बैठक नबोलाए दुई लाइन संघर्ष हुने भन्दै उनले मेयरले एकलौटी बजेट बनाएमा अन्य २९ जनाले पनि एकलौटी बजेट बनाउने बताए । ‘त्यो बेला २ महिना तलब खान नसक्ने परिस्थिति बन्नसक्छ । भोली मेयरका मान्छे १० जना यहाँ आउने परिस्थिति बन्छ, त्यो बेला तपाईहरु हजारौं आउनुहुनेछ, यही हामी प्रतिवाद गछौं,’ उनले भने,‘जनप्रतिनिधि माथि र वडा कार्यालय माथि धावा बोल्छ भने पक्कै चुप लागेर बस्नहुन्न । त्यसको तयारीमा अब जुट्नुपर्छ । हामी आफैले रक्षा गर्नुपर्छ र मात्र अरुको रक्षा गर्नसक्छौं ।’
मेयरले बेग्लै बजेट बनाइसकेको भन्दै उनले श्रमदाताहरुलाई सवारी खर्च, श्रमदातालाई तामिल, श्रमदाताको इन्स्युरेन्समा खर्च दिनुपर्ने उल्लेख गरिएको अध्यक्ष भट्टराईले बताए । ‘के हामीले पनि कार्यकतालाई सवारी, तालिम र इन्स्युरेन्स खर्च खै भन्नुपर्ने ? उहाँको कार्यकर्ता श्रमदाता हुने, हाम्रो कार्यकर्ता झोले हुने ?,’ अध्यक्ष भट्टराईले प्रश्न गरे ।
वडाअध्यक्ष भट्टराईले २०७९ असार १९ गतेको कार्यपालिका बैठकले स्वदेश तथा विदेशबाट व्यक्ति र संघसंस्थाहरुले दिएको आर्थिक सहयोग स्वीकार गर्ने र उपमहानगरको खातामा जम्मा गरेर खर्च गर्ने निर्णय गरेको स्मरण गराए । तर उक्त निर्णय विपरीत मेयर साम्पाङले आफुखुशी सहयोग लिएर जथाभावी खर्च गरेको पनि वडाअध्यक्ष भट्टराईले आरोप लगाए ।
‘अहिले नगरपालिकाको कार्यालय यही मास्तिरको ग्रीन टि भएको छ, बैंक चै केही साथीहरुको झोला भएको छ । तपाईहरु दिनैपिच्छे हेर्नुहुन्छ, एउटा मान्छेले पैसा बिटो दिन्छ, अर्को मान्छेले सर्लक्क तानेर झोलामा हाल्छ,’ वडाअध्यक्ष भट्टराईले भने,‘खै यसको हिसाब भन्दा खोलामा आएको पैसा खोलामै गयो तेरो बाउको के गयो भन्छ । त्यस्तो जवाफले हुन्छ ? के पारदर्शिताको प्रश्न हुदैन ?’
वडाअध्यक्ष भट्टराईले हर्क साम्पाङलाई घर चलाउन दिएको भए, वा सापटी दिएको भए हिसाब नखोज्ने बताए । तर, नगर प्रमुखलाई र नगरपालिकालाई सहयोग गरेको भए एक पैसाको पनि हिसाब खोज्ने उनको भनाई थियो । ‘यदि मेयर हुनुअघि दिएको भए हामी खोज्दैनांै । तर नगर प्रमुखलाई, नगरपालिकालाई सहयोग भएको हो भने एक एक पैसाको हिसाब खोज्ने अधिकार छ, हामी खोज्छौं । त्यहाँ नीतिगत भ्रष्टचार भएको छ,’ उनले भने ।
करोडौं खर्चेर ४२ किलोमिटर पाइप ओछ्याएर साढे ३ लाख लिटर मात्र पानी आएको भन्दै अध्यक्ष भट्टराईले अहिले असारको दिनमा पनि धारामा पानी नआउने र दिन बिराएर मात्र आउने गरेको बताए । ‘केही साथीहरुले भन्नुहुन्छ, विकास भएको छ, हो फेसबुकमा विकास भएको छ । धर्मको नाममा मान्छेलाई विभाजित गर्ने विकास भएको छ, जातको नाममा मान्छेलाई विभाजित गर्ने विकास भएको छ,’ उनले भने,‘गत भदौ ९ गते धरान धार्मिक युद्धको मैदान हुन्थ्यो, उहाँको कारणले तर हामीले सुझबुझपुर्ण निर्णय गर्यौं, र प्रहरी प्रशासनसँग समन्वय गरेर धरानलाई रणमैदान हुनबाट जोगायौं ।’
जनताको घरमा पिउने पानी अभाव भइरहदा मेयर साम्पाङ भने नगरको बजेट खर्चेर गमलामा खोर्सानी रोप्ने र त्यहाँ ट्यांकरबाट पानी हाल्ने गरेको भन्दै अध्यक्ष भट्टराईले कडा आलोचना गरे । ‘खोर्सानी गमलामा रोपेको छ, जनतालाई घरमा पानी छैन, ट्यांकरमा लगेर पानी हालेको छ, त्यसको लागि आफ्ना मान्छे भर्ती गरेर कर्मचारीलाई तलब खुवाएको छ,’ उनले भने,‘ आफ्नो आफन्त, शाखा सन्तनालाई जागिर दिएको छ । नगरपालिका हो कि साम्पाङ निवास हो ?’
मेयर साम्पाङकै गलत रवैया र कार्यशैलीको कारण धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको अध्यक्ष भट्टराईको भनाई थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला हाल नगरमै भएपनि मेयर साम्पाङको गलत कार्यलाई साथ नदिदा काम गर्न नदिएको अध्यक्ष भट्टराईले बताए । ‘केही कर्मचारीहरु अवकाश पाए, त्यहाँ हर्क साम्पाङले आफ्नो मान्छे नियुक्ती गर्न दबाब दिए । जथाभावी खर्च गरिएका बिल भौचर जर्बजस्ती पास गराउन खोज्दा प्रज्ञा निरौलाले नमानेपछि काम गर्न दिएका छैनन्,’ उनले भने,‘प्रमुख प्रशासकीय अधिकृतले बैठक बोलाउने हो, प्रमुख प्रशासकीय नभएपछि माइन्युट हुदैन, र निर्णय प्रमाणीकरण पनि हुदैन । त्यसैले मेयरले बोलाएको बैठक वैधानिक नभएकोले हामी नगएको हो ।’
वडाअध्यक्ष भट्टराईले विधिसम्मत बोलाएको बैठकमा आफुहरु उपस्थित हुने पनि बताए । मेयर साम्पाङ नीति, विधि र पद्दतीमा चल्नुपर्छ भन्ने आफुहरुको भनाई रहेको उनले बताए । मेयर साम्पाङलाई आफुहरुले सधै साथ दिएपनि गलत प्रचारबाजी गरेर जनतामा भ्रम फैलाएको उनले बताए । ‘हामीले साथ दिएका छौं, कोकाहबाट पानी ल्याउछु भन्यो हुन्छ भन्यौं । साबुन फेक्ट्री, बेसार फेक्ट्री खोल्छु भन्नुभयो । हुन्छ भन्यौं, तर खै विकास भएको ? फेसबुकमा मात्र होइन, साच्चैको हुनुपर्छ विकास,’ उनले भने ।
भिडियो: