धरान: विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको धरान उपमहानगरपालिकामा बुधबार सहसचिव भुपेन्द्र राई हाजिर भई पदभार सम्हालेका छन् । 

कोशी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयमा रहेका राईलाई सरकारले धरानको प्रमुख प्रशासकीय अधिकृतकोरुपमा पठाएको हो । उनलाई बुधबार दिउँसो उपमहानगरपालिकामा विभिन्न महाशाखा, शाखाका कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि मन्त्रीपरिषदले सहसचिव श्रीराम ठाकुरलाई धरान पठाउने निर्णय गरेपनि कारण देखाउदै उनी आएनन् । ठाकुर नआउने भएपछि राईलाई सरकारले पठाएको हो । 

सरकारले आर्थिक अधिकारसमेत दिएकी निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला र मेयर हर्क साम्पाङबीच मतभेद बढेपछि विदामा छिन् । उनलाई मेयर साम्पाङले काम गर्न नदिई विदामा बस्न बाध्य बनाएको बताइएको छ । जसले गर्दा काम सम्पन्न भएको भुक्तानी, कर्मचारीको तलबसमेत रोक्का भएर प्रभावित बनेको थियो । 

bhupendra rai1 copy

मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सरकारलाई अनुरोध गरिरहेका थिए । राजनीतिक दलहरुले पनि प्रधानमन्त्री कार्यालयमा पत्राचार गर्दै धरानमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सरकारसँग आग्रह गरेका थिए । दलहरुले पत्राचार गरेको सार्वजनिक भएलगत्तै मेयर साम्पाङले फेसबुकमा असार ५ गते प्रमुख प्रशासकीय अधिकृत आउछ भनेर पुर्वघोषणा गरेका थिए । 

कार्यपालिकाको गाँठो फुकिने आशा

प्रमुख प्रशासकीय अधिकृतले बैठकको लागि पत्राचार गर्नुपर्नेमा मेयर साम्पाङ आफैले क्षेत्राधिकार मिचेर पत्र पठाएको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गर्दै बहिष्कार गरेका थिए । उपमेयर अइन्द्रबिक्रम बेघाले पनि पत्रकार सम्मेलन गर्दै विधि, नियम मिचेर मेयर साम्पाङ अघि बढेको बताएका थिए ।  

वडाअध्यक्षहरु र उपमेयर बेघाको एकै भनाई थियो, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला हुँदाहुँदै मेयर साम्पाङले काम गर्न रोकेर आफै पत्र पठाउनु कानुन विपरीत थियो । उनीहरुले प्रमुख प्रशासकीय अधिकृतमार्फत बैठकको पत्राचार भएमात्र उपस्थित हुने बताएका थिए । 

उपमेयर बेघा र वडाअध्यक्षहरुले मेयर साम्पाङले पत्र पठाएको २ वटा कार्यपालिका बैठक बहिष्कार गरे । बजेट बनाउने चटारोको बेला कार्यपालिका बैठक नै बस्न नसकेर समयमा नै बजेट आउला कि नआउला भन्ने सर्वत्र चिन्ता थियो । अब भने प्रमुख प्रशासकीय अधिकृत राईमार्फत पत्राचार भए कार्यपालिका बैठकको गाँठो फुकिने सबैले आशा गरेका छन् ।