धरान: धरान १८ स्थित अमर पोलिक्लिनिकले अत्याधुनिक फोर डि भिडियो एक्स रे मेशिन ल्याएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटबाहिर सञ्चालनमा रहेको यो पोलिक्लिनिकले सामसुङ कम्पनीको भि सिक्स मोडलको पछिल्लो हाई भर्सन फोर डि भिडियो एक्स रे मेशिन खरीद गरेको हो । यो मेशिन खरीदमा एक करोड लगानी भएको पनि पोलिक्लिनिकले जनाएको छ । उक्त मेशिन पोलिक्लिनिकमा आइसकेको र आइतबारदेखि नियमितरुपमा सेवा सुचारु गर्ने सञ्चालिका पुनम सुब्बाले जानकारी दिइन् । यो सेवा हालसम्म काठमाडौ र बिराटनगर मात्रै उपलब्ध रहेको पनि उनले बताइन् ।
यो मेशिनले बिशेष गरेर गर्भवती महिलालाई ठुलो राहत पुग्ने पोलिक्लिनिकले जनाएको छ । यो मेशिनले गर्भ अवस्थामा रहेको शिशु पुर्णरुपमा स्वास्थ्य छ,छैन भनेर हेर्नसकिनेछ । यो सेवा धरानमा पहिलो पटक शुरु हुन लागेको हो । 'फोर डि भिडियो एक्स रे मेशिनले गर्भअवस्थामा रहेको शिशुको शारीरिक अवस्था कस्तो छ भनि हेर्न सकिनेछ,' सञ्चालिका सुब्बाले भनिन्, 'गर्भमा रहेको बच्चाको शारीरिक बनावट, अनुहार बुबा वा आमा मध्ये को जस्तो देखिन्छ भनेर जन्मनु अघि नै स्क्रिनमा देख्न सकिन्छ ।'
आधुनिक समय र प्रविधिको विकासका कारण गर्भ अवस्थामा रहेको शिशुको फोटो राखेर वेवि सावर गर्ने गराउने चलन आईरहेको छ । सोही क्रममा अभिभावकले फोटो मागेमा क्लिनिकले दिने व्यवस्था पनि गरेको संचालिका सुब्बाले बताईन् । चिकित्सकका अनुसार ३४ बर्ष उमेर नाघेका गर्भवती महिला छन् भने अनिवार्यरुपमा यो भिडियो एक्सरे गर्नुपर्ने हुन्छ । पहिलो गर्भ खेर गएको वा बच्चाहरु सुस्त मनस्थितिको जन्मिएको छ भने पुनः त्यस्तो नहोस् भनेर भिडियो एक्स रे गर्नुपर्ने एक चिकित्सकले बताए ।
उक्त क्लिनिकमा रेडियोलोजिस्ट डाक्टर रक्षा भट्टराईले नियमित १० देखि ४ बजेसम्म सेवा दिनेछिन् । उनले बीपी प्रतिष्ठानबाट रेडियोलोजिस्टमा एमडि गरेकी छिन् । उनी प्रतिष्ठानको सिएम (सर्टिफिकेट अफ मेरिट) होल्डर हुन् ।
सोही मेशनिले कलेजो सम्बन्धि ईलास्ट्रोग्राफि(ELASTOGRAPHY) सेवा पनि दिनेछ । मेशिनबाट कलेजोमा बोसोको मात्रा कति छ अथवा कलेजो कति प्रतिशत राम्रो छ भनेर हेर्न सकिने बताइएको छ । 'कलेजो कतिको फेल भएको छ, कति प्रतिशत राम्रो छ भनेर यही मेशिनबाट हेर्न सकिन्छ,' पोलिक्लिनिक सञ्चालिका सुब्बाले भनिन् । उक्त मेशिनबाटै मुटुको भिडियो एक्स रे (ECHO) सेवा पनि संचालनमा आउने पोलिक्लिनिकले जानकारी दिएको छ ।