धरान: स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष समीर तामाङसहित ४ जना धरौटीमा रिहा भएका छन् । 

प्रहरीले आपराधिक उपद्रवको कसुरमा मुद्दा दायर गरेका चार जनालाई जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गर्न आदेश दिएपछि सोमबार साँझ छुटेका हुन् । अदालतको आदेशसँगै समीर तामाङ, पुर्ण वान्तवा, सृर्जना बेघा र संगीता राई हिरासतमुक्त भएका हुन् । उनीहरुलाई जनही ३० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो ।

कुल ९ जना पक्राउ परेका मध्ये ५ जना महिलाहरु आइतबार नै जिल्ला प्रशासन कार्यालय सुनसरीबाट रिहा भएका थिए । प्रजिअले उनीहरुलाई जनही १० हजार धरौटीमा छोडेका थिए । सोमबार अदालतको आदेशबाट छुटेकाहरुलाई भानुचोकमा स्वागत गरिएको थियो । पक्राउ परेकाहरु सबै रिहा भएपछि विगत १९ दिनदेखि जारी धर्ना तथा विरोधसभा कार्यक्रम पनि समापन भएको घोषणा गरिएको थियो । 

नागरिक सुनुवाईमा जनप्रतिनिधिहरुले पैसा लिएर नागरिकता सिफारिश गर्ने गरेको, धरानमा यौनधन्दा बढेकोलगायत अभिव्यक्ति र मेयर हर्क साम्पाङसँग कार्यकक्षमा भएको चर्काचर्का विवाद पछि सञ्जिता धमलाविरुद्ध महिलाहरुले पनि प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले छलफलमा पनि नबोलाएको भनेर मेयर साम्पाङका समर्थक स्वतन्त्र महिलाहरु रुष्ट थिए ।

वीपी प्रतिष्ठानमा उपचार गर्न पुगेकी धमलालाई हातपात प्रयास गरेको आरोपमा ५ जना महिला पक्राउ परेका थिए । उनीहरुको बारेमा जानकारी दिनुपर्ने भन्दै ईलाका प्रहरी कार्यालयमा घेराउ गर्ने क्रममा गेट हल्लाउने कार्य भएको थियो । उक्त घटनासँग जोडेर समिर तामाङसहित थप ४ जनालाई पक्राउ परेर प्रहरीले आपराधिक उपद्रवको मुद्दा चलाएको थियो ।