धरान: नेपालमा २०५२ फागुन १ गतेदेखि शुरु भएको सशस्त्र जनयुद्धको क्रममा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादविरुद्ध सुरुङ युद्ध लड्ने भन्दै केही ठाउँहरुमा तत्कालिन नेकपा माओवादीले सुरुङ खनेको थियो ।

नेपालको १० बर्षे जनयुद्धको क्रममा माओवादीले प्रचारमा ल्याएको सुरुङ युद्धको परिकल्पना भने एकदलीय, निरंकुश पञ्चायतविरुद्धको आन्दोलनको क्रममा तीसको दशकमा नै रत्नकुमार वान्तवाले अभ्यास गरिसकेका थिए । पञ्चायत र सामान्तवादविरुद्ध सुरुङ युद्ध गर्ने निष्कर्षमा पुगेका वान्तवाले सुरुङ पनि खनेका थिए । 

भियतनामका नेता हो चि मिन्हबाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय वान्तवाले सुरुङ युद्धलाई अघि बढाउन नपाउदै मात्र २७ बर्षको उमेरमा २०३५ चैत २७ गते पञ्चायती सरकारले इलामको इभाङको जंगलमा गोली हानी हत्या गरेको थियो । उनीसँगै भाई बमप्रसाद वान्तवा पनि मारिएका थिए ।

पञ्चायतविरुद्ध लडिरहेका कम्युनिष्ट आन्दोलनका धरोहर वान्तवालाई निरंकुश पञ्चायती सरकारले युवा उमेरमै गोली हानेर मारेको थियो । त्यसयता २०४६ सालको परिवर्तन आयो । सशस्त्र जनयुद्ध, दोस्रो जनआन्दोलनको वलमा राजतन्त्र फालियो, र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर, राजनीतिक वृतमा भने कम्युनिष्ट पार्टीहरुले नै रत्नकुमार वान्तवालाई सम्झना गर्न लायक ठानेनन् । उनले देश र जनताको लागी, प्रजातन्त्रको लागि गरेको योगदान छायामा परिरह्यो । उनलाई हत्या भएको ३७ बर्षपछि मात्र सरकारले २०७२ सालमा मात्र सहिद घोषणा गरेको थियो ।

ratna wantawa2 copy

राजनीतिक वृत्तमा ओझेलमा परेका, पारिएका तिनै सहिद वान्तवाबारे पत्रकार एवं लेखकद्धय जसकुमार राई र अर्जुन उप्रेतीले किताब लेखेका छन्, नेपालमा सुरुङ युद्ध । यो किताबले अध्यारो कुनामा थन्काइएको वान्तवाको जीवनी, आन्दोलन, संघर्ष र सुरुङ युद्धसँगै देश र जनताको लागि उनको योगदान, वलिदारबारे उजागर गरिएको छ । 

शुक्रबार दिउँसो सोही पुस्तकबारे धरान ९ स्थित होटल रत्ना इनमा पुस्तक वार्ता भएको थियो । शब्दयात्राको आयोजनामा भएको कार्यक्रमको सहजकर्ता थिए, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई । कार्यक्रममा वक्ताकारुपमा थिए, राजनीतिक विश्लेषक एवं युवा नेता ताजुब लिम्बु र नेपाल कम्युनिष्ट पार्टीकी युवा नेतृ सुनिता किराती सी । 

बिश्लेषक लिम्बुले सहिद वान्तवाले देश र समाजलाई दिएको योगदान कति ठुलो थियो भन्ने थाह पाउन पनि उक्त किताब पढ्नै पर्ने बताए । आफ्नो व्यक्तिगत जीवन र परिवारभन्दा माथि समाज, देश सोचेर क्रान्तिमा होमिएका वान्तवाको योगदानलाई किताबले बाहिर ल्याएको उनले बताए । ‘गुमनाम पात्रलाई र उहाँको योगदानलाई प्रेरणादायीरुपमा किताबले सबैको सामु ल्याएको छ,’उनले भने,‘उहाँको योगदान कति ठुलो थियो भन्ने थाह पाउन पनि योग पुस्तक पढ्नै पर्छ ।’

वान्तवाले सुरुङ युद्ध गर्न तयारी गरिरहदा पार्टी भने त्यो अवस्थामा नपुगेको र उनी एक कदमअघि नै भएको लिम्बुले टिप्पणी गरे । पछि २०५२ सालमा जनयुद्ध शुरु गरेको माओवादीले वान्तवाको उक्त विचारलाई लिएर हिडेको पनि उनले बताए । ‘यस्तो क्रान्तिकारी विचार बोकेका वान्तवालाई पार्टीले किन बाहिर ल्याउन सकेन ? उनको योगदानलाई पार्टीले किन मुल्यांकन गरेन, र हिरो बनाउन सकेन ? भन्ने प्रश्न उब्जिरहन्छ,’उनले भने । उनले वान्तवाले व्यवस्थितढंगले सुरुङ बनाएर छापामार युद्ध गर्ने सोच त्यो बेला नै बनाउनुले उनी कति क्रान्तिकारी थिए भन्ने बुझ्न सकिने बताए ।

ratna wantawa1 copy

अर्का वक्ता सुनिता किरातीले वान्तवाको गतिविधि र घटनाक्रम हेर्दा पार्टीको सोच र गन्तव्यभन्दा अग्रगामी रहेको बताइन् । वान्तवाले शुरुवात गरेको सुरुङ युद्ध सहि थियो भन्ने पुष्टि अहिले इजराइल र हमासबीचको युद्धले पनि गरेको उनको भनाई थियो । राष्ट्र र राष्ट्रियता जोगाउनको लागी सुरुङ युद्धलाई प्रयोग गर्न सकिने उनले बताइन् । उनले आफु पक्राउ पर्दा र वान्तवाको बहिनीलाई पक्राउ गरेर राज्य सत्ताले दिएको यातनाको व्यवहार फरक भएपनि उद्देश्य भने एउटै क्रान्तिकारीलाई घुँडा टेकाउनु भएको पनि बताइन् । 

पुस्तकले वान्तवाप्रतिको भ्रमहरुलाई तोडेको र अध्यारो कुनामा फालिएको वान्तवाको योगदानलाई बाहिर ल्याउन सफल भएको पनि उनले बताइन् । ‘यो पुस्तक पढेपछि राजनीतिकप्रति वितृष्णा बोकेका युवाहरुलाई प्रेरणा दिन्छ,’ उनले भनिन् । 

पुस्तकका लेखक राईले सप्तकोशी एफएममा कार्यरत रहदा वान्तवाबारे अनुसन्धान गर्न दुई जना इलाम पुग्दा तत्कालीन सत्ताले अन्यलाई पनि हत्या गरेको कुरा खुलेको बताए । उनले डकुमेन्ट्री सेक्रीफाइज नेभर डाइज डकुमेन्ट्री तयार गरिसकेको र त्यसमा अटाउन नसकेको बिषयलाई पुस्तकमा विस्तृतरुपमा तयार गरिएको पनि बताए । अर्का लेखक उप्रेतीले वान्तवाले बाल रेड गार्ड राखेर सुरुङ खनेको प्रसंग उल्लेख गर्दै उनको क्रान्ति गर्ने शैली, गोपनियता र सुचना आदानप्रदानको शैली छापामार युद्ध गर्नेहरुलाई प्रेरक भएको बताए ।

भिडियो: